अमेरिका निर्वाचन परिणामः देशलाई 'विभाजित हैन, एकताबद्ध पार्ने' जो बाइडनको प्रतिबद्धता

जो बाइडन र कमला ह्यारिस

तस्बिर स्रोत, Reuters

अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले देशलाई "विभाजित हैन एकताबद्ध पार्ने" प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिवार सम्बोधन गर्दै उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरे।

बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म परेको सर्वाधिक ७.४ करोड भोटसहित आफू निर्वाचनमा विजयी भएको बताए।

"म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु," उनले भने।

"म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने वाचा गर्छु," उनले भने, "जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ।"

अमेरिकामा डेमोक्र्याटिक पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन्। बाइडनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङ्गबाट छुट्याइने कुराको सङ्केत गरेका हुन्।

अमेरिका निर्वाचन

बाइडन बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए।

अब के हुन्छ

बीबीसीले गरेको प्रक्षेपणमा बाइडनले नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गरेको स्पष्ट हुन्छ।

कुनै कानुनी अवरोध सिर्जना नभए उनले आगामी ज्यानुअरी महिनामा पदभार ग्रहण गर्नेछन्।

Joe Biden

तस्बिर स्रोत, Reuters

उनीसँगै निर्वाचनमा सहभागी भएकी कमला ह्यारिस अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति बन्नेछिन्।

कडा प्रतिस्पर्धा भएको पेन्सिल्भेनिया राज्यमा ट्रम्पलाई उछिनेपछि बाइडनले निर्वाचन जितेको घोषणा गरिएको हो।

अमेरिकामा विभिन्न राज्यलाई छुट्याइएको निश्चित इलेक्टरल भोटको आधारमा राष्ट्रपति निर्वाचित हुन्।

सबै ५० राज्यमा निहित कुल ५३८ इलेक्टरल मतमध्ये राष्ट्रपति निर्वाचित हुन २७० मत आवश्यक पर्छ।

अमेरिका निर्वाचन

ट्रम्प अभियान 'सङ्घर्ष'गर्न तयार

डोनल्ड ट्रम्पको पक्षमा सञ्चालित निर्वाचन अभियानले अझै आशा नमारेको सीबीएस न्यूजमा प्रकाशित विवरणमा उल्लेख छ।

ट्रम्प र उनका पक्षधरहरूले निर्वाचनमा अनियमितता र धाँधली भएको आरोप लगाउने गरेका छन्। तर उनीहरूले त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण देखाएका छैनन्।

ट्रम्प अभियानका एक वरिष्ठ अधिकारीले यसपालि लामो चुनावी सङ्घर्ष हुने आफूहरूलाई पहिला नै थाहा भएको सीबीएसलाई बताएका छन्।

उनका अनुसार "अगाडि बाटो भएसम्म थप चार वर्षका लागि आशा" हुन्छ।

ट्रम्पले महत्त्वपूर्ण राज्यहरूमा प्रस्तुत गरेको कानुनी चुनौती सफल होला त? यो प्रश्नमा उनको भनाइ छः "जे पनि हुनसक्छ।"

उनका अनुसार आफ्नो अभियानमा भएका कसैलाई पनि सञ्चारमाध्यमले बाइडनको पक्षमा परिणाम प्रक्षेपण गरेकोमा आश्चर्य लागेको छैन।

आफूहरू सङ्घर्ष गर्न तयार तयार भएको र "भोटर फ्रड" हटलाइनबाट काम थालिसकेको उनीहरूको भनाइ छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिका निर्वाचन परिणामः बाइडनले खेप्नुपर्ने चुनौती 'विभाजित देश'