क्षयरोग नेपाल: नेपालमा क्षयरोगीको नि:शुल्क उपचार, केही बिरामीलाई आवासीय सुविधा र ३,००० रुपैयाँ

तस्बिर स्रोत, National Tuberculosis Control Center
खाँदबारी, सङ्खुवासभाका रिन्जिन भोटे २ महिनादेखि विराटनगरस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र नाटामा छन्। चिकित्सकले उनलाई "कडा खालको क्षयरोग" लागेको बताएपछि नाटाको आवासमै बसेर उपचार गराई रहेका छन्।
अहिले आफ्नो स्वास्थ्यमा निकै सुधार महसुस भएको उनी बताउँछन्।
"यहाँ आइपुग्दा बाँच्ने आशा नै थिएन। मर्नुअघि अन्तिम पटक देखाउँछु भनेर आएको हुँ। तर अहिले ठीक हुन्छु भन्ने लागेको छ। खान र हिँडडुल गर्न थालेको छु," भोटेले बीबीसीसँग उपचार सुरु भएपछि देखिएको अनुभव सुनाए।
गत साउन महिनादेखि उनलाई अचानक खोकी लाग्ने, साँझपख ज्वरो आउने लक्षणहरू देखिन थालेको थियो। बिस्तारै आफ्नो शरीरको तौल घट्दै गएको र कमजोरीले गाँजेको उनी सुनाउँछन्।
धेरैले उनलाई "क्षयरोग हो या होइन" पत्ता लगाउन सुझाए। तर, आफूलाई क्षयरोग भएको स्विकार्न गाह्रो भएको र काठमाण्डूका अस्पतालहरूमा अरू कुनै समस्या हो कि भनेर भौँतारिएको बताए।
"६०/७० हजार खर्च गरेपछि फोक्सोमा पानी जमेको देखियो। पानी निकाल्दै जाँदा डाक्टरले टीबी भन्नुभयो। म छाँगाबाट खसेजस्तो भएँ," उनले भने।
ज्यामी काम गर्ने आफूसँग पैसा सकिएको कारण आत्तिएको उनले बताए। त्यसपछि मात्र सरकारले टीबीको उपचार नि:शुल्क गरिदिन्छ भन्ने थाहा पाए। सबैले ६ महिना औषधि खाएपछि क्षयरोग ठीक हुने बताएकाले ढुक्क थिए। तर, चौथो महिनादेखि आफ्नो अवस्था झनै बिग्रिएको उनी सुनाउँछन्।
चिकित्सकहरूको सुझाव अनुरूप विराटनगरस्थित नियन्त्रण केन्द्र पुगे। त्यहीँ उनलाई कडा खालको क्षयरोग लागेको पत्ता लागेको हो।
हाल उनी अन्य १५ जना बिरामीहरूसँगै सरकारी आवासमा छन्। त्यहाँ उनीहरूलाई औषधि उपचारसँगै खान र बस्न पनि शुल्क लाग्दैन। बिरामीहरूलाई सिपमूलक तालिम दिइन्छ।
भोटेको अवस्थामा केही सुधार भए बेलाबेलामा उनको फोक्सोबाट पानी निकाल्नु पर्छ, दैनिक तीन वटा औषधि खानु पर्छ। त्यसैले आफू थप ८ महिना त्यहाँ बस्नु पर्ने सुनाए।
"बसुन्जेल सिलाई सम्बन्धी तालिम लिन्छु। शारीरिक अवस्थाले ज्यामी काममा फर्कन दिँदैन। लुगा सिलाएर परिवार पाल्छु," उनमा केही आत्मविश्वासी पलाएको छ।
कस्ता बिरामीको लागि उपलब्ध छ आवासीय सुविधा?

तस्बिर स्रोत, National Tuberculosis Control Center
औषधिले नछुने अर्थात् औषधि प्रतिरोधी क्षयरोग (ड्रग रेसिस्टेन्ट, डीआर) टीबी भएकाहरूका लागि आवासीय सुविधा उपलब्ध छ। नेपाल सरकारले यस्ता क्षयरोगीका लागि प्रत्येक प्रदेशमा एउटा आवास सञ्चालनमा ल्याएको हो।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीन प्रकाश शाहका अनुसार यस्ता किसिमको क्षयरोग लागेकाहरूको उपचार प्रक्रिया केही लामो र महँगो हुन्छ। त्यसैले यस सुविधाबाट अधिकांश डीआर क्षयरोगी लाभान्वित भएको उनको दाबी छ।
"नेपाल सरकारले क्षयरोग नियन्त्रणका लागि अधिक चासोका साथ काम गरेको छ। लगानी व्यापक छ। हरेक खालका परीक्षण, उपचार र औषधि नि:शुल्क छ," उनले भने।
शाहका अनुसार आवासमा नबस्ने डीआर टीबीका बिरामीहरूलाई सरकारले औषधि सेवन गर्ने अवधिभर तीन हजार रुपैयाँ खर्च समेत उपलब्ध गराउँछ।
के हो क्षयरोग?
क्षयरोग माइकोब्याक्टीरीयम ट्युबरक्युलोसिस नामक जीवाणुका कारण लाग्ने रोग हो। यो उक्त जीवाणुबाट प्रभावित मानिसले खोक्दा वा हाछ्युँ गर्दा निस्किने साना कणबाट अरू मानिसमा सर्ने सम्भावना उच्च रहन्छ।
"सङ्क्रमितमार्फत् जीवाणुहरू वातावरणमा निस्कन्छन्। त्यहीँ रहेका निरोगीहरूले सास फेर्दा त्यो उनीहरूको शरीरमा प्रवेश गर्छ," डा. शाहले भने। त्यसरी प्रवेश गरेको जीवाणुले फोक्सोलाई प्रभावित पार्ने र त्यहीँमार्फत विभिन्न अङ्गमा फैलने उनले बताए।
त्यसैले क्षयरोग सरुवा रोग हो।
के हुन् यसका लक्षण?
क्षयरोग लागेका मानिसहरूमा शारीरिक कमजोरी अत्यधिक देखिने चिकित्सकहरू बताउँछन्। शरीरको तौल अप्रत्याशित घट्नु, लगातार तीन सातासम्म खोकी लाग्नु, खकार निस्कनु र त्यसमा रगत देखिनु अन्य लक्षण भएको डा. शाहे बताए।
भने,"बिरामीमा हल्का किसिमको ज्वरो पनि देखिन्छ। क्षयरोगको बिरामीलाई प्राय साँझपख ज्वरो आउँछ।"
त्यस्तै शरीरबाट रातको समयमा धेरै पसिना बग्नु, मुख सुख्खा हुनु, अरुचि बढ्नु अन्य लक्षण भएको बताए।

तस्बिर स्रोत, Thinkstock
यस्ता लक्षण देखिएका वा क्षयरोग पुष्टि भएका मानिसहरूले अनिवार्य मास्क लगाउने, भिडभाडमा नजाने गरे क्षयरोग सर्नबाट रोकिने सुझाव दिन्छन्। "उनीहरूको वरपर रहनेले पनि मास्क लगाउने वा धेरै नजिक नजाने गरे सङ्क्रमण नियन्त्रण सम्भव छ। यसको अर्थ बिरामी आइसोलेशनमै बस्नु पर्छ भन्ने हो," शाह भन्छन्।
उनका अनुसार कोभिड-१९ महामारी रोकथामका लागि अधिकांश मानिसले मास्क प्रयोग गर्न थालेदेखि क्षयरोगका बिरामीहरूको सङ्ख्यामा केही कमी आएको छ।
तथ्याङ्कले के देखाउँछ?
नेपाल सरकारले २०७५/७६ मा पहिलो पटक गरेको क्षयरोग प्रेभलेन्स सर्वेक्षणको नतिजाले नेपालमा वार्षिक ६९,००० नयाँ क्षयरोगी थपिने देखाएको थियो।
नाटाको तथ्याङ्क अनुसार उक्त सङ्ख्या वार्षिक रूपमा घट्दै गएको छ। यस वर्ष देशभर २८ हजार ६ सय ७७ जनामा सङ्क्रमण पत्ता लागेको छ। तीमध्ये ५० प्रतिशत बिरामी ६ महिना नियमित औषधि सेवनपछि निको हुन्छन्।
यस वर्ष क्षयरोगकै कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ५०० को हाराहारीमा रहेको छ।
डा. शाहका अनुसार देशका ५० प्रतिशत मानिसको शरीरमा टीबीको जीवाणु हुन्छ। तर सबैलाई रोग लाग्दैन।
"रोग ती मानिसलाई लाग्छ जसको रोग प्रतिरोधी क्षमता कम छ," उनले भने।

तस्बिर स्रोत, National Tuberculosis Control Center
"उक्त जीवाणु भएका मानिस जसको रोगसँग लड्ने कमजोर हुन्छ उनीहरूलाई रोग लाग्न नदिन विभिन्न थेरापी गराउन सकिन्छ।"
विश्व स्वास्थ्य सङ्गठनले पनि विश्वको लगभग एक चौथाइ जनसङ्ख्या नदेखिने गरी क्षयरोगबाट सङ्क्रमित भएको जनाएको छ। उनीहरूमा क्षयरोगको जीवाणु निष्क्रिय रूपमा छ, तर उनीहरू रोगी भएका वा अरूलाई सङ्क्रमित गरिरहेका छैनन्।
क्षयरोगको जीवाणु निष्क्रिय रूपमा रहेका मानिसहरूको जीवनमा क्षयरोग हुने खतरा पाँचदेखि १० प्रतिशतसम्म हुन्छ।
नेपालमा बागमती प्रदेश, प्रदेश २ र गण्डकी प्रदेशमा क्षयरोगीहरूको सङ्ख्या उच्च देखिएको बताइन्छ।
"जनसङ्ख्या धेरै हुनु र परीक्षणको पहुँच सहज हुनुले ती ठाउँमा धेरै रोगी पहिचान भएको हुनसक्छ," डा. शाहले भने।
कति मानिस ठीक हुन्छन्?
विशेष गरी बालबालिका, वृद्ध वृद्धा, दीर्घ रोगी, एचआइभी एड्स भएकाहरूमा यो रोगको जोखिम समूहमा रहेको चिकित्सकहरू बताउँछन्।
रोग पहिचान भई नियमित औषधि सेवन गर्नेहरूमध्ये ९१ प्रतिशत रोगमुक्त हुन्छन्। बीचमा औषधि छुटाउनेहरू, नियमित चिकित्सकको सम्पर्कमा नआउने र औषधिको मात्रा नमिलेकाहरूको मात्र उपचार सफल नहुने बताइन्छ।
डीआर टीबी भएकाहरूमा भने रोगमुक्त हुने दर ७३ प्रतिशत रहेको छ।
बीसीजी खोपले औषधिले नछुने कडा प्रकृतिको क्षयरोग हुनबाट जोगाउने चिकित्सकहरूको दाबी छ। उक्त खोप सामान्यतया शिशु जन्मिएको भोलिपल्टदेखि ३० दिनसम्म दिइन्छ। यसबाहेक क्षयरोग लाग्नै नदिन विभिन्न खोप विकासको प्रयास भए पनि त्यो सफल नभएको विवरणहरू सार्वजनिक भएका छन्।

तस्बिर स्रोत, National Tuberculosis Control Center
कोभिडका कारण प्रभावित क्षयरोगविरुद्ध अभियान
स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस महामारीले क्षयरोगविरुद्धको अभियानमा प्रतिकूल असर पुर्याएको जनाएको छ।
क्षयरोग नियन्त्रण केन्द्रले पनि महामारीपछि क्षयरोगका लक्षणसहित रोग पहिचान गर्न आउने बिरामीहरूको सङ्ख्यामा कमी आएको जनाएको छ। त्यहाँका डा. शाहले भने,"मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्नुले कोरोनाभाइरससँगै टीबीको कीटाणु पनि नियन्त्रण गरेको विश्वास गरेका छौँ।"
स्वास्थ्य मन्त्रालयले यस रोग रोकथामका लागि केही उपायहरू सुझाएको छ:
- मदिरा, लागूपदार्थ र सुर्तीजन्य पदार्थ सेवन नगर्ने
- मानसिक तनाव कम गर्ने
- सन्तुलित आहारको प्रयोग गर्ने
- उचित मात्रामा व्यायाम गर्ने
- समय समयमा छातीको एक्स-रे गराउने
- दुई साताभन्दा बढी खोकी, ज्वरो आए वा अन्य लक्षण देखिए परीक्षण गराउने
- शिशु जन्मनासाथ बीसीजी खोप लगाउने
नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगको अन्त्य र सन् २०५० सम्ममा पूर्ण निवारणको लक्ष्य लिएको बताउने गरेको छ।








