तीन वर्षमा चितवनमा क्षयरोग भएर चारवटा हात्तीको मृत्यु, कसरी गरिन्छ परीक्षण र उपचार

- Author, ईश्वर जोशी
- Role, बीबीसी न्यूज नेपाली, चितवन
सन् २०१८ यता क्षयरोग लागेर चितवन राष्ट्रिय निकुञ्जमा चारवटा हात्तीको ज्यान गएपछि त्यहाँ रहेका सबै हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको अधिकारीहरूले जनाएका छन्।
नेपालमा सन् २००२ मा पहिलोपटक हात्तीमा क्षयरोग देखिएको थियो।
त्यसयता चितवनमा मात्रै क्षयरोगका कारण १५ वटा हात्तीले ज्यान गुमाएका छन्।
गत सोमवार दीपेन्द्रगज नामक हात्तीको मृत्यु भएपछि अधिकारीहरूले निकुञ्जभित्र र निजी रूपमा पालिएका सबै हात्तीमा सङ्क्रमण रहे या नरहेको जाँच गर्न लागिएको बताएका हुन्।
यो वर्षको दोस्रो मृत्यु
अधिकारीहरूका अनुसार क्षयरोगका कारण सन् २०२० मा ज्यान गुमाउने दीपेन्द्रगज दोस्रो हात्ती हो।
क्षयरोग देखिएपछि उपचार गर्ने तयारी हुँदै गर्दा उसको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका चिकित्सक विजय श्रेष्ठले बताए।
उनका अनुसार शवपरीक्षण गर्दा क्षयरोगसँग मिल्दोजुल्दो कारणले मृत्यु भएको देखाएको छ।
बाउन्नवर्षे उक्त हात्तीको "उपचारका लागि खर्च र औषधिको जोहो गर्दागर्दै अचानक" ज्यान गएको थियो।
क्षयरोग लागेको हात्तीको उपचारको लागि निकुञ्जसँग नियमित बजेट नहुँदा खर्च जुटाउन समस्या पर्ने गरेको बताइन्छ।
क्षयरोग लागेको हात्तीलाई कम्तीमा एक वर्ष उपचार गर्नुपर्ने र त्यसको औषधिको लागि झन्डै आठ लाख रुपैयाँजति खर्च हुने चिकित्सक श्रेष्ठ बताउँछन्।
भीमकाय हात्तीको तौल झन्डै ४,००० किलोग्राम हुने बताइन्छ।
श्रेष्ठका अनुसार एक खेपमा क्षयरोगको उपचारका लागि १५० देखि २०० वटा ट्याबलेट हात्तीलाई खुवाउनुपर्छ।
परीक्षण कहिले
निकुञ्जमा रहेका हात्तीहरूको गत वैशाखमा स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको भए पनि लकडाउनले गर्दा परीक्षण हुन नसकेको चिकित्सक श्रेष्ठ बताउँछन्।

तस्बिर स्रोत, BDBN/RSS
राष्ट्रिय प्रकृति संरक्षण कोषका पशुचिकित्सक अमिर सडौलका अनुसार हात्तीमा क्षयरोग भएको वा नभएको पहिचान गर्न पनि कठिन हुने गरेको छ।
उनी भन्छन्, "क्षयरोगले हात्तीको फोक्सोमा असर गर्छ। तर उनीहरूको मोटो छाला हुने भएकाले एक्सरे गर्नै सकिँदैन। हामीले र्यालबाट जाँच्ने हो, तर फोक्सोबाट सूँडको टुप्पोसम्मको दूरी धेरै हुन्छ र ब्याक्टेरिया त्यसमा आउने सम्भावना एकदमै कम हुन्छ। हामीलाई रोग पत्ता लगाउन नै गाह्रो छ।"
तर हात्तीहरूले क्षयरोगका कारण निरन्तर ज्यान गुमाइरहेकाले केही दिन भित्रै सङ्क्रमण रहे या नरहेको निर्क्योल गर्न नमुना सङ्कलन गर्न लागिएको उनले बताए।
उनी भन्छन्, "चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा विभिन्न होटलहरूले निजी रूपमा पालिरहेका जति पनि हात्तीहरू छन्, हामीले सबै हात्तीहरूको नमुना सङ्कलन गर्ने र एकदमै बृहत् रूपमा परीक्षण गर्दैछौँ। समय लगाएर भए पनि सबैलाई टीबी रोगको सङ्क्रमण के कस्तो छ भनेर हामीले जाँच गर्दैछौँ।"
उनका अनुसार अर्को हप्ताबाट यो काम अघि बढाइनेछ।
चितवन राष्ट्रिय निकुञ्जका ५३ र निजी रूपमा पालिएका झन्डै ७० वटा हात्ती उक्त क्षेत्रमा छन्।
नेपालमा लगभग २०० को सङ्ख्यामा घरपालुवा र २०० कै सङ्ख्याका हाराहारीमा जङ्गली हात्तीहरू रहेको बताइन्छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोष आईयूसीएनले नेपालसहित विभिन्न देशमा पाइने यी एशियाली हात्तीलाई खतराको सूचीमा राखेको छ।
हात्तीलाई नेपालले संरक्षित जीवको सूचीमा राख्दै आएको छ।
चितवनमा बाहेक अहिलेसम्म पर्सा राष्ट्रिय निकुञ्जका दुईवटा हात्ती पनि क्षयरोग सङ्क्रमणका कारण मरेको बताइएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका पशुचिकित्सक सडौलका अनुसार हालसम्म अरू निकुञ्जमा समस्या कम देखिएपनि चितवनपछि अन्यत्र पनि परीक्षण गरिने बताए।
उनका अनुसार तत्कालै चितवनमा परीक्षण नगर्दा एउटा हात्तीबाट अर्कोमा क्षयरोग सर्ने जोखिम रहन्छ।
विगतमा पनि उपचार
सन् २००८ देखि सन् २०१६ सम्म चितवनमा क्षयरोग लागेका लगभग ६० वटा हात्तीको उपचार गरिएको अधिकारीहरू बताउँछन्।
त्यसमध्ये १७ वटा सरकारी हात्ती, ४१ वटा होटलले पालेका हात्ती र दुईवटा राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएको बताइन्छ।
क्षयरोगको उपचार पाएका दुईवटा हात्तीको मृत्यु भए पनि तिनको मृत्यु क्षयरोगका कारण नभएको शवपरीक्षणमा देखिएको चिकित्सक सडौल बताउँछन्।
चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्ती विभिन्न सुरक्षाचौकीमा राखिएका छन् र गस्तीको काम गर्दै आएका छन्।
निजी हात्तीहरूले भने पर्यटकहरूलाई जङ्गलमा घुमाउने गरेका छन्।








