जीवनभर खाली खुट्टा हिँडिरहेका कालीबहादुरका पत्थरजस्ता पैताला नै जुत्ता चप्पल

कालीबहादुर
तस्बिरको क्याप्शन, सधैँ पैदल हिँड्ने गरेका कालीबहादुर
    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत

सायद आजभोलि कोही पनि मानिस एक छिन पनि खाली खुट्टा हिँड्न सक्दैनन् होला तर जाजरकोटका कालीबहादुर रावत भने छ दशकभन्दा बढी समयदेखि खाली खुट्टा हिँडिरहेका छन्।

दशकौँ खाली खुट्टा हिँड्दा हिँड्दा बानी परिसकेका उनी पत्थरजस्ता कडा पैतालाले नै आफ्नो लागि जुत्ता चप्पलको काम गरिरहेको ठान्छन्।

"जुत्ता चप्पल लगाएँ भने हिँड्नै जान्दिनँ", उनी भन्छन्, "मेरा पैताला नै जुत्ता चप्पल जस्तै कडा छन्। न काँडाले कोप्छ न त ढुङ्गाले नै काट्छ।"

युवा अवस्थामा महिना दिनसम्म खाली खुट्टा हिँडेरै नेपालगन्जबाट नुन ल्याएको सम्झँदै उनले त्यो समयमा नङहरू भाँचिने, ढुङ्गाले काट्ने र काँडा बिझ्ने समस्या खेप्ने गरेको तर अहिले भने त्यस्तो खेप्नु नपरेको बताउँछन्।

'पाइला सार्ने बित्तिकै लडिहाल्छु'

नलगाड नगरपालिका- ६, गराग्लीका रावत खाली खुट्टा हिँडे पनि अहिलेसम्म केही समस्या नभएको बताउँछन्।

एकदमै गर्मी र जाडो समयमा पनि खाली खुट्टा हिँड्ने गरेका उनी अहिलेसम्म बिरामी भएर अस्पताल जानु नपरेको बताउँछन्।

"छोराछोरीले किनेर ल्याइदिएका जुत्ता चप्पल लगाएर हिँडनै जान्दिनँ", उनी भन्छन्, "छोराछोरीको मन राख्नको लागि जुत्ता चप्पल लगाए पनि २-४ पाइला सार्न बित्तिकै लडिहाल्छु।"

रावत पैसा कमाउनका लागि खाली खुट्टै कालापार (भारत) र नेपालका विभिन्न ठाउँसम्म पुगेका छन्।

खाली खुट्टा हिँडेको देखेर आश्चर्य मान्दै उनलाई धेरैले जुत्ता चप्पल लगाउन सल्लाह दिन्छन्।

"हाम्रा बाउ बाजेको पालामा पनि जुत्ता चप्पल लगाउने चलन थिएन," उनले भने, "गाउँमा जुत्ता चप्पल लगाउने चलन भित्रिएको धेरै वर्ष भएको छैन।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, जुम्लामा भेडा पाल्ने कृषकलाई अब 'गोठालो भत्ता'

'बुढेसकालमा के लगाउनु?'

खाली खुट्टा हिँडेको देख्दा गाउँले र छिमेकीले कालीबहादुरलाई गिज्याउँदैनन् बरु जुत्ता चप्पल लगाउन सल्लाह दिन्छन्।

उनी भन्छन्, "उमेर अवस्था हुने बेला लगाइएन। अब जसले जे भने पनि घरमै बस्ने बेलामा बुढेसकालमा के जुत्ता चप्पल लगाउने?"

वर्षौँसम्म खाली हिँडेर उनका पैताला निकै कडा भएका छन्।

खाली खुट्टामै हिँड्ने बानीले गर्दा जुत्ता चप्पल लगाएर हिँड्न उनी जान्दैनन्।

"गाउँमा दाउरा घाँस नगरी हुँदैन। त्यसको लागि रुख भीर जानुपर्छ," उनकी श्रीमती अमृता भन्छिन्, "जुत्ता चप्पल लगाए चिप्लिएर लडिन्छ भनेर लगाउनु हुन्न।"

जुत्ता चप्पल नलगाइ एक छिन हिँड्न नसक्ने उनका छिमेकीहरू उनी वर्षौँसम्म खाली खुट्टै हिँडेको देखेर अचम्ममा पर्दै आएका छन्।

खाली खुट्टा हिँड्ने गरेका कालीबहादुर
तस्बिरको क्याप्शन, गाउँमा भएको कार्यक्रममा अतिथिको रूपमा खाली खुट्टै कुर्सीमा बसेका कालीबहादुर रावत

जुत्ता चप्पल विना नै हिँड्ने बानी परिसकेको हुनाले कालीबहादुरलाई खासै समस्या नभएको उनीहरू ठान्छन्।

"म ४० वर्षको भएँ अहिलेसम्म एक छिन पनि खाली खुट्टा हिँडेको छैन", छिमेकी रणबहादुर खड्का भन्छन्, "तर मैले उहाँलाई अहिलेसम्म पनि जुत्ता चप्पल लगाएको देखेको छैन।"

उनीबाहेक गाउँका अरू बूढाबूढीले भने धेरै पहिले देखि नै जुत्ता चप्पल लगाउन थालेको खड्काले बताए।

नाङ्गो खुट्टाले हिँड्दा हुने फाइदा र बेफाइदा

नाङ्गो खुट्टाले हिँड्दा मानिसलाई धेरै फाइदासँगै केही बेफाइदा पनि हुन सक्ने हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रूपक कँडेल बताउँछन्।

उनका अनुसार नागो खुट्टा हिँड्दा घुँडाको जोर्नी बलियो हुने, हड्डी खिइनबाट जोगिने, शरीरको इम्युनिटी बढ्ने, ब्लड प्रेसर कम गर्ने, तनाव घटने, आँखाको दृष्टिमा सुधार ल्याउने, मुटुको रोग हुने जोखिम कम गर्ने धेरै फाइदा छन्।

तर खाली खुट्टाबाट विभिन्न सङ्क्रामक रोगहरू सर्ने, पैताला फुट्ने, किला, काँडा र ढुङ्गाले खोपेर खुट्टामा घाउ हुनेजस्ता बेफाइदा पनि हुने डाक्टर कँडेलले बताए।

नागो खुट्टाले हिँड्नेहरूले पैतालाको हेरचाहमा विशेष ख्याल राख्नु पर्ने उनको सुझाव छ।