तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड खोप नलगाएकाले मुटु प्रत्यारोपण गर्न अमेरिकी अस्पतालद्वारा अस्वीकार
अमेरिकाको एउटा अस्पतालले कोभिड-१९ विरुद्धको खोप नलगाएका एक बिरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ। उनको मुटु प्रत्यारोपण नगरिनुका विभिन्न कारणमध्ये खोप नलगाउनु पनि एउटा भएको अस्पतालले जनाएको छ।
एकतीस वर्षीय डीजे फर्गसन नयाँ मुटुको प्रतीक्षामा भएका बिरामी हुन्। तर बोस्टनको ब्रिगम एन्ड विमिन्स हस्पिटलले मुटु प्रत्यारोपण कुरिरहेका बिरामीको सूचीबाट उनको नाम हटाएको उनका बुबा डेभिडले बताएका छन्।
डेभिडका अनुसार कोभिड खोप उनका छोराको "आधारभूत मान्यता" विरुद्ध छ र "उनी खोपमा विश्वास गर्दैनन्"।
किन हटायो अस्पतालले सूचीबाट?
अस्पतालले भने आफ्नो नीतिअनुसार काम गरेको जनाएको छ।
ब्रिगम एन्ड विमिन्स हस्पिटलले एउटा वक्तव्यमार्फत् बीबीसीलाई भनेको छ: "उपलब्ध अङ्गहरूको अभावका कारण प्रत्यारोपित अङ्ग पाएका व्यक्ति बाँच्ने सम्भावना उच्च रहोस् भनेर सुनिश्चित गर्न हामी यथासम्भव सबै प्रयास गर्छौँ।"
अस्पतालका प्रवक्ताका अनुसार "उनीहरूको रोग प्रतिरोधी क्षमता एकदमै कमजोर हुने भएका कारण सफल प्रत्यारोपण र त्यसपछि बिरामी बाँच्ने अवस्था बढाउनका लागि प्रत्यारोपण गरिने व्यक्तिहरूको कोभिड-१९ विरुद्धको खोप र अनुशासित जीवनशैली" को अवस्था अस्पतालले सुनिश्चित गर्ने गरेको छ।
सावधानीपूर्वक लेखिएको अस्पतालको वक्तव्यमा बिरामीले खोप नलगाएको कारणसँगै अरू पनि कारणहरू भएकाले उनलाई मुटु प्रत्यारोपण गर्न अस्वीकार गरिएको देखाउँछ। तर बिरामीको गोपनीयताको कारण देखाउँदै अस्पतालले त्यसबारे थप खुलाउन चाहेन।
कति छन् प्रत्यारोपण कुर्ने बिरामी?
अस्पतालका अनुसार अङ्ग प्रत्यारोपण गराउने लिने सूचीमा एक लाख जना छन्।
तीमध्ये अधिकांशले अङ्गको अभावमा आगामी पाँच वर्षभित्र प्रत्यारोपण पाउनेछैनन्।
फर्गसन गत नोभेम्बर २६ देखि अस्पतालमा छन्। कोष सङ्कलन गर्ने अनलाइन गोफन्डमीमा उल्लिखित विवरणअनुसार वंशाणुगत मुटुसम्बन्धी समस्याका कारण उनको फोक्सोमा रगत र तरल पदार्थ भरिने समस्या छ।
कोष सङ्कलन अभियानका आयोजकका अनुसार फर्गसन अमेरिकी सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्शन (सीडीसी)ले समेत दुर्लभ तथा अस्थायी भनेको कोभिड खोपको सम्भावित दुष्प्रभावबारे चिन्तित थिए।
खोपले आफ्नो मुटु सुन्निन सक्ने र आफ्नो मुटु कमजोर भएका कारण थप खतरा हुनसक्ने चिन्ता उनलाई थियो।
अङ्ग प्रत्यारोपण गरेका मानिसमा कस्तो खतरा?
सीडीसीले प्रत्यारोपित अङ्ग लिने र उनको नजिक रहने सबैलाई पूर्ण मात्रा र बूस्टर खोप लिन प्रोत्साहित गरेको छ।
न्यूयोर्क विश्वविद्यालयको ग्रसम्यान स्कूल अफ मेडिसिनका चिकित्सा संहिता प्रमुख डा। आर्थर काप्लानले अङ्ग प्रत्यारोपण गरिएका मानिसको रोग प्रतिरोध प्रणाली लगभग बन्द हुने र सामान्य रुघा पनि घातक हुन सक्ने सीबीएस न्यूजलाई बताएका छन्।
"अङ्गहरू एकदमै दुर्लभ छन्। खोप लगाएका मानिसहरूमा शल्यक्रियापछि बाँच्ने सम्भावना बढी हुन्छ, त्यसैले हामी बाँच्ने सम्भावना कम भएका मानिसहरूलाई यस्ता अङ्गहरू दिँदैनौँ," डा. काप्लानले भने।
तेस्रो सन्तानको प्रतीक्षामा
दुई सन्तानका बुवा डीजे फर्गसनको फेरि अर्को बच्चा जन्मिन लागेका छन्। उनी अहिले पनि अस्पतालमै भएको उनका आफन्तले बताएका छन्।
उनको परिवारले अर्को अस्पतालमा सार्नका लागि फर्गसन कमजोर अवस्थामा रहेको र समयको पनि अभाव रहेको बताएको छ।
"मेरो छोरोले निकै साहस जुटाएर सङ्घर्ष गरिरहेको छ। ऊसँग इमानदारी र उसले मान्दै आएको सिद्धान्त छ जसबाट मेरो उसप्रति सम्मान अझ बढ्छ," बुवा डेभिड फर्गसनले भनेका छन्।
"शरीर उसको हो, यसमा उसकै खुसी हुन्छ।"
अरू घटना कस्ता
अमेरिकामा खोप नलगाएका कारण स्वास्थ्य सुविधाबाट वञ्चित भएको यो पहिलो उदाहरण भने होइन।
यसै महिनाको सुरुमा मिनिसोटाकी एक महिलाले खोप नलगाएका कारण दुई महिनादेखि भेन्टिलेटरमा उपचार गराइरहेका आफ्ना पतिलाई भेन्टिलेटरबाहिर निकालेको भन्दै अस्पताललाई मुद्दा हालेकी थिइन्।
अमेरिकामा जनसङ्ख्याको ६३ प्रतिशतले दुई मात्रा र ४० प्रतिशतले बूस्टर मात्रा खोप लगाएका छन्।