कोभिड नेपाल: कोरोना भाइरस सङ्क्रमणमा गाँजिँदै नेपाली खेलकुद

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमान्डू

नेपाललाई टी२० क्रिकेट विश्वकपसम्म पुर्‍याउने महत्त्वपूर्ण खुड्किलोको रूपमा रहेको छनौट प्रतियोगिता फेब्रुअरी १७ मा ओमानमा सुरु हुँदै छ।

त्यसको तयारीका लागि ओमानमै चार राष्ट्र सम्मिलित टी२० क्रिकेट शृङ्खला पनि हुँदै छ।

तर सन् २०१४ पछि फेरि विश्वकप पुग्ने महत्त्वाकाङ्क्षा लिएको नेपालको बन्द प्रशिक्षण भने कोरोनाभाइरस सङ्क्रमणका कारण प्रभावित छ।

मुख्य खेलाडीहरू करण केसी, कुशल भुर्तेल र कमलसिंह ऐरीमा सङ्क्रमण देखिएपछि उनीहरू बन्द प्रशिक्षणमा सामेल छैनन्।

क्रिकेट मात्र नभई फुटबल लगायत थुप्रै खेलका खेलाडीहरू कोरोनाभाइरस सङ्क्रमित भइरहेका छन्।

नेपालमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि घरेलु प्रतियोगिताहरू स्थगित हुन थालेका छन् भने अन्तर्राष्ट्रिय तालिकाहरूमा पनि असर पर्न सक्ने खतरा बढिरहेको छ।

नेपाल क्रिकेट सङ्घ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल भन्छन्, " कोरोनाले (हालै सम्पन्न घरेलु टी२० क्रिकेट प्रतियोगिता) प्रधानमन्त्री कपलाई हल्का प्रभाव पर्‍यो। बन्द प्रशिक्षणमा भने हामीले बायो बबल नियम कडाइका साथ लागु गरेका छौँ।"

"सङ्क्रमित खेलाडीहरूलाई सुरक्षित एकान्तवासमा राखेका छौँ। ओमान जानुअगाडि सब ठिक हुनेछ भन्ने विश्वास छ।"

फुटबल अत्यधिक प्रभावित

लीग इतिहासमा पहिलो पटक नै होला, नेपाल पुलिस क्लब र च्यासल यूथ क्लब बीचको खेल स्थगित भयो।

यसको कारण थियो च्यासल यूथका १९ खेलाडीहरू कोरोनाभाइरस सङ्क्रमित हुनु।

च्यासल मात्र होइन, लीगका दाबेदार टोलीमध्ये एक मनाङ मर्स्याङ्दीका छ जना खेलाडीमा कोभिड हुँदा मुख्य खेलहरूमा राम्रो प्रदर्शन गर्न असफल रह्यो।

लीगमा खेलाडीहरूमा कोभिड देखिँदा त्यसको असर राष्ट्रिय टोलीको तयारीमा पुगेको छ।

नेपालले यही माघ १५ र १८ गते मरीसससँग दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

छ खेलाडी सङ्क्रमित

त्यसका लागि कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुटाइरीले प्रारम्भमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।

तर बन्द प्रशिक्षणअगाडि गरिएको पीसीआरमा छ खेलाडी र केही अफिसियलहरुमा कोभिड पोजेटिभ देखिएको छ।

सङ्क्रमितमध्ये तीन जना खेलाडी प्रमुख खेलाडीहरू हुन्।

उनीहरूलाई एन्फा होस्टेलमा नै एकान्तवासमा राखिएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ।

खेलाडीबाहेक प्रतियोगिता दर्शकसहित वा दर्शकविना गराउने कुरामा एन्फाले निर्णय गरिसकेको छैन।

खाली रङ्गशालामा ती दुई खेल खेलाउनुपर्ने स्थिति आए त्यसले एन्फालाई ठूलो घाटा हुनेछ।

मोफसलका प्रतियोगिता प्रभावित

कोभिड महामारीले मोफसलको फुटबल मौसम गुम्ने सम्भावना बढेर गएको देखिएको छ।

माघदेखि वैशाखमा जिल्लाहरूमा गोल्डकप फुटबल प्रतियोगिताहरू हुने समय हो।

तर हेटौँडामा हुने सहिद स्मृति गोल्डकप र धनगढीमा हुने खप्तड गोल्डकप रद्द भइसकेको छ।

पोखरामा दर्शकलाई समावेश नगरीकन मुस्किलले आहा रारा गोल्डकप सुरु भएको छ।

एन्फाका सह-महासचिव सञ्जीव मिश्र भन्छन्, "एन्फाले वैशाखसम्मको जिल्लाको तालिका तय गरिसकेको छ। तर अब यी खेलहरू अनिश्चित भएका छन्।"

महिला लीग नहुने निश्चित

यस्तै माघ १५ गतेबाट हुने तय भएको महिला राष्ट्रिय लीग फुटबल पनि नहुने लगभग निश्चित भएको छ।

महिला राष्ट्रिय लीगमा पाँच नगरपालिका र तीन विभागीय टोली सहभागी हुने गर्छ।

एन्फा महिला कमिटी अध्यक्ष पेमा लामा भन्छिन्, " महिला खेलाडीहरूले खेल्ने यो ठूलो प्रतियोगिता भएकोले हामी सकेसम्म खेल नरोक्न पहल गर्दै छौँ। हेरौँ के हुन्छ।"

फागुन ११ गतेबाट हुने तालिका बनाइएको बी डिभिजन लीगबारे पनि कोभिडको अवस्था हेरेर निर्णय गर्ने एन्फाले जनाएको छ।

राष्ट्रिय खेलहरू स्थगित

नुवाकोटको झिल्टुङमा हरेक वर्ष माघको पहिलो साता हुने झिल्टुङ क्रसकन्ट्री स्थगित भयो भने माघ १५ गते हुने केटीएम रन पनि स्थगित भयो।

नेपाल एथलेटिक्स सङ्घले भारतमा आयोजना हुन लागेको दक्षिण एशियाली क्रसकन्ट्री दौडमा सहभागिता जनाउँदै थियो।

तर कोभिडकै कारण प्रतियोगिता स्थगित हुँदा टोली रोकिन पुग्यो।

माघ १ गतेदेखि हुन लागेको ११ औँ पूर्णमान बज्राचार्य स्मृति टेबलटेनिस प्रतियोगिता पनि स्थगित भयो।

बक्सिङ खेलाडी सुष्मा तामाङलाई कोरोनाभाइरस सङ्क्रमित भएपछि उनले उज्बेकिस्तानको तास्कन्दमा हुने एएसबीसी यू-२२ प्रतियोगितामा भाग लिन नपाउने भइन्।

खेलकुद सङ्घका विकल्प

यसरी एकपछि अर्को गरी खेलकुद गतिविधि रोकिँदा पहिलेका वर्षहरूमा जसरी नेपाली खेलकुद ठप्प हुने चिन्ता बढेको छ।

राष्ट्रिय स्तरका प्रतियोगिताहरू धमाधम स्थगित हुँदा अन्तर्राष्ट्रिय प्रतियोगिता भने सरकारले लगाएको कोभिड नियम पालना गर्दै गर्न खोजेको देखिन्छ।

तर देशको सर्वोच्च खेलकुद निकायले भने यस्तो परिस्थितिमा खेलकुद कसरी अगाडि बढाउने भन्ने विषयमा कुनै निर्णय गरेको छैन।

सदस्यसचिवको नियुक्तिको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकोले परिषद् नेतृत्वविहीन छ।

यस्तोमा खेल संस्थाहरूसँग दुई विकल्प छ: सरकारी नियम पालना गर्दै जोखिम लिएर खेलकुद अघि बढाउने वा स्थगित गरेर आराम गर्ने।

दुई वर्षअगाडिदेखि कोरोनाभाइरस सङ्क्रमणले थलिएको खेलकुद क्षेत्रमा कोरोनाको यो तेस्रो लहर तेस्रो प्रहार बन्ने निश्चित जस्तै देखिन्छ।