कोभिड नेपाल: प्रयोगशालाका फोहोर, सुई र सिसीको व्यवस्थापन कसले कसरी गरिरहेको छ

खोपका भायलको व्यवस्थापन

तस्बिर स्रोत, EPA

कोरोनाभाइरसको परीक्षण र खोप अभियानका क्रममा ठूलो परिमाणमा निस्किएका फोहोरको व्यवस्थापन नयाँ चुनौती बनेको अधिकारीहरूले बताएका छन्।

विभिन्न निकायहरूको सहयोगमा प्रयोग भइसकेका सुई र सिसीहरू निसङ्क्रमित गर्ने संरचनाहरू खडा गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

तर अभूतपूर्व स्तरमा खोप अभियान सञ्चालन भइरहेकाले दुर्गम क्षेत्रका कैयौँ स्थानमा प्रयोग भइसकेका सुई र सिसीहरूलाई भण्डारण गरेर राखिएको विभाग अन्तर्गतको आपूर्ति महाशाखाका प्रमुखले बताए।

अर्का एक अधिकारीले स्वास्थ्यजन्य फोहोरको व्यवस्थापनसम्बन्धी नयाँ मापदण्ड तर्जुमा गरेर प्रधानमन्त्री कार्यालयमा पठाइएको र त्यो अनुमोदन भएपछि थप स्रोतसाधन प्राप्त हुने अपेक्षा आफूहरूको रहेको बीबीसीलाई बताए। 

कति निस्कियो फोहोर?

कोरोनाभाइरसको महामारी देखा परेयता नेपालमा ४८ लाखभन्दा बढी पीसीआर र नौ लाखभन्दा बढी एन्टीजन परीक्षण गरिएको छ।

खोप अभियान प्रारम्भ भएपछि मङ्गलवारसम्म दुई करोड ४० लाख मात्रा खोप लगाइएको छ।

यसले कल्पना नगरेको परिमाणमा एकै पटक सुई, सिसी र प्रयोगशालाका फोहोरहरू निस्किएको अधिकारीहरू बताउँछन्।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको वातावरणीय स्वास्थ्य एवं स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गाना भन्छन्, "जति मात्रामा हामीले खोप लगायौँ, त्यति नै सङ्ख्यामा सुई निस्कने भयो। सिसीहरू चाहिँ अलिक कम होला।"

"पोल्न मिल्ने फोहोरलाई कतिले त्यसलाई व्यवस्थापन पनि गरिसक्नुभयो होला। काठमाण्डूमा एक चरणमा व्यवस्थापन गर्‍यौँ र अर्को चरणमा फेरि सङ्कलन गरिरहेका छौँ।"

स्वास्थ्यजन्य फोहोर

तस्बिर स्रोत, EPA

उनले कैयौँ ठाउँमा खोप अभियानका क्रममा प्रयोग भइसकेका सुई र सिसीहरूलाई सुरक्षित तरिकाले राखिएको बताए।

ढुङ्गाना थप्छन्, "विभिन्न प्रदेशहरूमा ठूलो स्तरमा यो नष्ट गर्ने क्षमता विकास गर्न लागेका छौँ। अहिले हामीले एक किसिमको सुरक्षित बाकसहरूमा क्षति नपुर्‍याउने किसिमले त्यसलाई स्वास्थ्य संस्था वा खोप केन्द्रमा राखिरहेका छौँ।"

हालसम्म कति त्यस्तो फोहोर व्यवस्थापन भइसक्यो भन्ने आँकडा आफूहरूसँग नरहेको स्वास्थ्य अधिकारीहरू बताउँछन्।

कसरी गरिन्छ व्यवस्थापन?

अधिकारीहरूका अनुसार कैयौँ ठाउँहरूमा अटोक्लेभका विधि अन्तर्गत उच्च तापक्रम र चापको प्रयोग गरी यस्ता स्वास्थ्यजन्य फोहोरलाई कीटाणुरहित बनाउने र पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधनका लागि पठाउन सकिने बनाउने गरिएको छ।

त्यसबाहेक माइक्रोवेभ प्रयोग गरी सुईहरूलाई नष्ट गर्ने पनि गरिएको ढुङ्गानाले जानकारी दिए।

फोहर

तस्बिर स्रोत, EPA

यस्ता उपकरण नभएका कतिपय ठाउँहरूमा यस्ता स्वास्थ्यजन्य फोहोरलाई सुरक्षित ढङ्गले खाल्डोमा जलाउने र त्यसलाई एउटा सानो डल्लोमा परिणत गर्ने गरिएको उनको भनाइ छ।

प्रयोगशालाबाट निस्कने स्वास्थ्यजन्य फोहोरहरूलाई पनि घातक मान्ने गरिएको छ र तिनलाई अटोक्लेभ विधिबाट व्यवस्थापन गर्ने गरिएको अधिकारीहरू बताउँछन्।

सामान्य अवस्थाको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणालीले कोभिड परीक्षण र खोप अभियानका क्रममा निस्किएका फोहोरहरू धान्ने क्षमता नराखेकाले यो बीचमा त्यसलाई अभिवृद्धि गर्ने प्रयास गरिएका बताइन्छ।

शाखा प्रमुख ढुङ्गानाले महामारी देखा परेयता विभिन्न साझेदार संस्थाको सहयोगमा १३ वटा अस्पतालमा वासिङ मेसिनसहित अटोक्लेभ प्रणाली स्थापना गरिएको छ।

कतिपय ठाउँमा प्रदेश अस्पतालहरूले पनि जिल्ला अस्पतालहरूलाई फोहोर व्यवस्थापन प्रणाली स्थापनाका लागि सघाएको जानकारी दिए।

गएको अगस्टमा चीन सरकार र नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीले संयुक्त रूपमा सातवटा कोभिड अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणालीलाई थप स्तरोन्नति गर्ने कार्यक्रम अघि बढाएका थिए।

चुनौती के छन्?

स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसिया भन्छन्, "यति ठूलो परिमाणमा फोहोरहरू निस्कन्छ र त्यसलाई व्यवस्थापन गर्नुपर्छ भन्ने सोच पहिला थिएन। त्यो अनुसारको तयारी पनि थिएन।"

"तर अहिले हामीसँग भएका स्रोतसाधनलाई प्रयोग गरेर काम भइरहेको छ।"

स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको क्षमता अभिवृद्धिका क्षेत्रमा थप कामहरू गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

खोपका भायलको व्यवस्थापन

तस्बिर स्रोत, EPA

उनले थपे, "कतिपय ठाउँमा खोप दिइसकेका सुई र सिसीहरूलाई कुनै कोठामा सुरक्षित रूपमा राखिएको छ। त्यसलाई निसङ्क्रमण गर्न उपकरणहरू जडान गरिदने लगायतका कामहरू गर्नुपर्ने छ।"

स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि निर्देशिका बनाइएको र त्यससम्बन्धी मापदण्ड समेटिएको अर्को दस्ताबेज प्रधानमन्त्री कार्यालयमा छलफलमा रहेको बताइन्छ।

उक्त दस्ताबेज आएपछि स्वास्थ्यजन्य फोहोरहरूको व्यवस्थापनका लागि थप स्रोतसाधन प्राप्त हुने अपेक्षा आफूहरूले गरेको ढुङ्गानाले उल्लेख गरे।

राष्ट्रिय कार्यक्रमका बनाउन सुझाव

तर फोहोरजन्य स्वास्थ्य सामाग्रीहरूको उचित व्यवस्थापनको विषयमा पैरवी गर्ने एउटा संस्था हेल्थ, इन्भाइरोमेन्ट एन्ड क्लाइमेट एक्सनका कार्यकारी निर्देशक महेश नकर्मीले अचानक रूपमा कोरोना महामारी देखिएकाले विश्वव्यापी स्तरमा नै सुईको व्यवस्थापनमा चुनौती रहेको बताए।

उनले भने, "अहिले हामीसँग भएका संरचनाहरूले टुक्रा टुक्रामा काम गरिरहेका छन्। उनीहरूको क्षमता सीमित छ त्यही भएर राष्ट्रिय स्तरमा नै काम गर्न सक्ने गरी संरचनाहरू बनाउनुपर्छ भनेर हामीले भनिरहेका छौँ।"

उनका अनुसार कोभिड महामारीले त्यस्ता संयन्त्रहरू देशव्यापी स्तरमा विस्तार गर्न मौका दिएको छ र सरकार र दातृ निकायहरूले पनि यसबारे चासो राखिराखेका छन्।

नेपालमा पछिल्लो समयमा सरकारले यो विषयलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले कतिपय ठाउँमा थप ध्यान दिनुपर्ने अवस्था रहेको बताए।

उनी भन्छन्, "हामीले अहिलेकै खोप अभियानमा बाकसमा राखिएका प्रयोग भइसकेका सुईहरू बालबालिकाले खेलाइरहेको अवस्थामा पायौँ। खाल्डो खनेर जलाउने क्रममा राम्ररी नजलाईकनै छाडिएको देखियो।"

सुई

तस्बिर स्रोत, EPA

"हामीले देशका विभिन्न ठाउँमा उपलब्ध फोहोर व्यवस्थापन प्रविधिलाई विस्तार गर्नुपर्छ भनिरहेका छौँ।"

स्वास्थ्यजन्य फोहोरबाट कस्तो जोखिम

सुई र सिसीजस्ता सामग्रीको सही व्यवस्थापन नभए त्यसबाट चोटपटक लाग्ने र सङ्क्रमणहरू सर्ने जोखिम रहने जानकारहरू बताउँछन्।

धारिलो खालका स्वास्थ्यजन्य फोहोरहरूमा रगत, शरीरबाट निस्कने तरल पदार्थ, सूक्ष्म आनुवंशिक सामग्री वा रसायन मिसिएको हुनसक्ने भएकाले तिनलाई उचित ढङ्गले व्यवस्थापन गरिनुपर्ने सरकारी मापदण्डमा उल्लेख छ।

एउटा अध्ययनले नेपालमा कैयौँ स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन निर्देशिकाको पालना नगरेको र वातावरणीय प्रभावको मूल्याङ्कन समेत नगरी फोहोर व्यवस्थापन गर्ने पाइएको उल्लेख छ।