कोभिड: बूस्टर मात्रा खोप गम्भीर ओमिक्रोन सङ्क्रमणविरुद्ध कम्तीमा ८० प्रतिशत प्रभावकारी

ओमिक्रोन

तस्बिर स्रोत, Getty Images

    • Author, मिशेल रोबर्टस्
    • Role, स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन

यूकेका अनुसन्धानकर्ताहरूले कोभिडविरुद्ध खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्टमा कस्तो प्रभाव पार्छ भनी गरेको विश्लेषणले गम्भीर बिरामी हुनबाट त्यस्तो मात्राले लगभग ८५ प्रतिशतसम्म जोगाउने देखाएको बताएका छन्।

यस्तो सुरक्षा कोरोनाभाइरसका पहिलेका भेरिअन्टका तुलनामा केही कम हो।

तर यसको अर्थ के हो भने थप मात्रा खोपले अझै पनि कैयौँ मानिसहरूलाई अस्पतालसम्म पुग्नुपर्ने अवस्थाबाट रोक्नेछ।

बिहीवार यूकेमा हालसम्मकै उच्च ८६१,३०६ मात्रा बूस्टर र तेस्रो मात्रा खोप दिइएकै बेला उक्त कुरा बाहिर आएको हो।

इम्पेरिअल कलेज लन्डनको समूहले गरेको उक्त मोडलिङ ओमिक्रोन बारेका सीमित सूचनामा आधारित छ।

तीव्र गतिमा फैलिइरहेको उक्त नयाँ भेरिअन्टबारे वास्तविक अवस्थाका अझै धेरै सूचनाहरू सङ्कलन गर्नुअघि अहिले पनि उच्च तहको अनिश्चितता रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

विज्ञहरूले ओमिक्रोन भेरिअन्ट कति गम्भीर हुन्छ वा हुँदैन भन्नेबारे पत्ता लगाउन कोसिस गरिरहेको जानकारी दिएका छन्।

खोपहरूले हाम्रो शरीरलाई कोभिडविरुद्ध कसरी काम गर्ने भनेर सिकाउँछन्।

तर अहिले उपलब्ध खोपहरू उच्च मात्रामा उत्परिवर्तित ओमिक्रोन भेरिअन्टका लागि प्रयोग गर्ने हिसाबले बनाइएका होइनन्। त्यसैले गर्दा ती खोपहरू उक्त भाइरसका लागि ठ्याक्कै काम गर्ने खालका होइनन्।

बूस्टर मात्रा लगाउन सुझाव

यसबाट बच्नका लागि यूकेका मानिसहरूलाई बुस्टर मात्रा खोप लगाउन सुझाइएको छ।

त्यसले गर्दा मानिसहरूमा भाइरससँग लड्ने एन्टिबडीको तह उच्च हुनेछ।

एन्टिबडीले भाइरसमा टाँसिएर उसलाई कोषहरूमा प्रवेश गर्न र भाइरसको मात्रा बढाउन रोक्नेछ।

अध्ययनहरूले दुई मात्रा खोप लगाएका व्यक्तिहरूले भाइरसलाई बाहिर राख्ने एन्टिबडीको क्षमतामा २० देखि ४० प्रतिशतसम्म क्षमतामा कमी आएको देखाएका छन्।

इम्पेरिअल समूहको प्रारम्भिक कामले ओमिक्रोनविरुद्ध खोपको प्रभावकारिता कम हुनसक्ने ठानेको छ।

बूस्टर मात्राले पनि गम्भीर अवस्थाबाट बचाउने दर अन्य भेरिअन्टका तुलनामा कम देखिएको छ।

ओमिक्रोनमा यस्तो प्रभावकारिता ८० देखि ८५.९ प्रतिशत छ भने डेल्टालगायतका अन्यमा यस्तो प्रभावकारिता ९७ प्रतिशत रहेको छ।

यूकेमा अहिले पनि धेरै मात्रा डेल्टा भेरिअन्ट नै देखिइरहेको छ।

यद्यपि हाम्रो प्रतिरक्षा प्रणालीमा अन्य क्षेत्रहरू पनि छन् तिनले कोभिडविरुद्ध लडाइँ लड्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड नेपाल: 'बुस्टर मात्रा भिन्दै कम्पनीको लगाउँदा पनि फरक पर्दैन'
2px presentational grey line

त्यस्तोमा टी सेलहरू पनि हुन्। उक्त मोडलिङले टी सेलहरूमा पर्ने असरबारे चाहिँ अध्ययन गरेको छैन।

इम्पेरिअलकी एक जना अनुसन्धानकर्ता आज्रा गनीले भनिन्, "एउटा अझै रहेको अनिश्चितता के हो भने ओमिक्रोन भेरिअन्टका कारण रोग कति गम्भीर हुन्छ भन्ने तुलना पुराना भेरिअन्टले बनाएको गम्भीर अवस्थासँग हुन्छ।"

"तर यसलाई पूर्ण रूपमा बुझ्नका निम्ति कैयौँ साताहरू लाग्न सक्छ त्यसैले गर्दा सरकारले सम्भावित असरलाई मध्यनजर गर्दै योजना बनाइहाल्नु जरुरी छ। हाम्रो अध्ययनले बूस्टर मात्राको महत्त्वलाई देखाएको छ।"

यूकेको खोप कार्यदलका पूर्व प्रमुख डा. क्लाइभ डिक्स भन्छन्, "ती मोडलिङहरूले बूस्टर मात्राको प्रभावकारिताबारे अनुमान गरेका कुराहरूमा ठूलो मात्रामा अनिश्चितता रहेको छ। वास्तविक संसारमा अस्पताल भर्ना हुने, आईसीयूमा पुग्ने र मृत्युका अर्को महिनामा आउने यथार्थ विवरणपछि मात्र हामी यकिन रूपमा त्यस्तो प्रभावकारिताबारे भन्न सक्छौँ।"

"तर के हो भने पूरै विश्वका लागि अहिले र भविष्यका लागि पनि खोप आवश्यक छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, खोला उर्लेपछि यसरी तारियो कोभिड खोप
2px presentational grey line

तथ्याङ्क प्रमुख रोबर्ट कफको विश्लेषण

ओमिक्रोन सङ्क्रमणका मामिलाहरू बढिरहेका छन् र अझै बढ्नेछन्।

पछिल्लो दिनमा यूकेमा ३ हजार २ सय १ ओमिक्रोन सङ्क्रमण देखिएका छन्। एक दिनअघि १ हजार ६ सय ९१ मामिला देखिएका थिए।

हालसम्म यूकेमा कुल १४ हजार ९ सय ९ ओमिक्रोन सङ्क्रमण देखा परिसकेका छन्।

तर यो सङ्ख्या अझै धेरै हुनसक्छ किनकि सबै प्रयोगशालाहरूले ओमिक्रोनलाई पत्ता लगाउन सक्दैनन् भने कैयौँ मानिसहरूले त परीक्षण नै पनि गराउँदैनन्।

त्यसैले अझै कति समय यसरी जान्छ त्यस्ता मोडलिङले निश्चित गर्न सक्दैनन्।

उनीहरूले नयाँ वर्षको सुरुमा सबैभन्दा उच्च तहमा सङ्क्रमण पुग्ने बताइरहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ५५ वर्षभन्दा माथिका व्यक्तिले कोभिड खोप लगाउँदा ध्यान दिनुपर्ने कुरा

तर यदि तपाईँ सङ्क्रमणलाई दोबरका दोबर दरले बढाउँदै लानुहुन्छ भने अहिलेसम्म यूकेमा सङ्क्रमण भएका भन्दा धेरैमा सङ्क्रमण हुनेछ र त्यसको कुनै सीमा रहने छैन।

अनि एउटा सबैभन्दा महत्त्वपूर्ण र वास्तविक प्रश्न- त्यसको उत्तर अझै प्राप्त हुन सकेको छैन के हो भने 'यसले मानिसलाई कस्तो गम्भीर बिरामीसम्म बनाउन सक्छ र यसले स्वास्थ्य प्रणालीमा कति असर पार्छ?'