कोभिड खोप नेपाल: ५० लाख खोप भण्डारमा तर आधा जनसङ्ख्याले अझै किन पाएका छैनन्

तस्बिर स्रोत, UNICEF Nepal
केही महिना अघिसम्म जनसङ्ख्याको अनुपातमा कोभिड खोप लगाउन दक्षिण एशियाली देशहरूमा अगाडि रहेको नेपाल अहिले पछाडि परेको तथ्याङ्कले देखाएको छ।
सातवटै प्रदेश र केन्द्रीय भण्डारणमा गरी ५० लाख बढी मात्रामा कोभिड खोप जम्मा भए पनि नेपालमा सोमवार सम्म ३०.६ प्रतिशत जनसङ्ख्याले मात्रै पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
सरकारी अधिकारीहरूले नेपालमा खोप लगाउने कामलाई तीव्रता दिएको दाबी गरिरहे पनि दक्षिण एशियामा नेपाल बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानभन्दा मात्रै अगाडि छ।
छिमेकी भारतमा ३७ प्रतिशत बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने दक्षिण एशियामा सबैभन्दा धेरै भुटानले करिब ७४ प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसकेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार माल्दिभ्समा ६८ प्रतिशत र श्रीलङ्कामा ६३ प्रतिशतभन्दा बढीले पूर्ण मात्रामा खोप लगाइसकेका छन्।
नेपालमा किन सुस्त
विश्वभर औसत ४७ प्रतिशत बढीले पूर्ण मात्रा र करिब ५ प्रतिशतले बुस्टर मात्रा खोप लगाइसक्दा नेपालको खोप अभियानले गति नलिएकोमा राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरू नै चिन्तित देखिएका छन्।
"हामीले पनि खोप लगाउने क्रम ढिलो अघि बढेको महसुस गरेका छौँ र खोप केन्द्रहरू बढाउने साथै भिडभाड हुने ठाउँमा पनि गएर तत्कालै खोप लगाउने व्यवस्था गर्न भनेका छौँ," स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता समीरकुमार अधिकारीले भने।
पुस मसान्तभित्र १८ वर्ष माथिका ६६ प्रतिशत जनसङ्ख्यालाई खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले खोप कार्यक्रम सुरु भएको १० महिनामा १८ वर्ष माथिका दुई करोड ३० लाख जनसङ्ख्याको ४४ प्रतिशत बढीलाई पूर्ण मात्रामा खोप लगाएको जनाएको छ।
सरकारले खोप कार्यक्रमका लागि ७,००० केन्द्रहरू स्थापना गरे पनि सबै केन्द्रहरूबाट खोप कार्यक्रम निरन्तर चलिरहेको छैन।
स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालका अनुसार २८ वटा जिल्लाले नियमित खोप दिन सुरु गरेका छन्।
गतसाताको अन्त्यसम्म सम्म ५१ वटा जिल्लामा खोप अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए।

तस्बिर स्रोत, RSS
सरकारले भिडभाड हुने अस्थायी केन्द्र बनाएर भएपनि खोप लगाउने दाबी गरिरहेपनि अझै सम्म सबैको सहज पहुँचमा खोप नभएको आलोचकहरूको भनाइ छ।
काठमाण्डू उपत्यकामा सबैभन्दा धेरै ७० प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेको स्वास्थ्य अधिकारीहरूले दाबी गरेका छन्।
नेपालले सोचे अनुसार खोपले समेटेको जनसङ्ख्या नदेखिनुमा ठुलो सङ्ख्यामा नेपालीहरू वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि देशबाहिर रहेको पनि एउटा कारण हुनसक्ने अधिकारीहरूको ठम्याइ छ।
"हामीले सोचेको जनसङ्ख्या अहिले देशमा नभएको हुनसक्छ अर्को हामीले अपेक्षा गरेजस्तो अझै कतिपय मानिसहरू खोपको दायरामा आउनुभएको छैन," सह-प्रवक्ता अधिकारी भन्छन्।
विभिन्न अध्ययनहरूले ४० लाखको हाराहारीमा नेपालीहरू देशबाहिर रहेको अनुमान गरेका छन्।
कति छ खोप
नेपालमा सोमबारसम्मको तथ्याङ्क अनुसार ३ करोड १४ लाख बढी मात्रा खोप आइसकेको छ भने दुई करोड ७ लाख मात्रा खोप लगाइसकिएको छ।
नेपालमा अझै तीन करोड बढी मात्रामा खोप आउने क्रममा रहेको अधिकारीहरूले बताएका छन्।
पछिल्लो विवरण अनुसार ५० लाख बढी मात्रा कोभिड खोप नेपालमा जम्मा भएर बसेको छ।
अधिकारीहरू आठदेखि १० प्रतिशतसम्म खोप प्रयोगका क्रममा खेर जाने सम्भावना रहने बताउँछन्।
नेपालमा पछिल्लो केही साता प्रशस्त खोप आइरहेको र अब खोपको अभाव नहुने भन्दै यसअघि पूर्ण मात्रा लगाइसकेकालाई पनि बुस्टर मात्रा दिनुपर्ने बहस सुरु भएको छ।
लक्ष्य भेट्न के गर्नुपर्छ

तस्बिर स्रोत, Getty Images
अहिले १२ वर्ष माथिका सबैलाई खोप दिन सुरु गरिए पनि सरकारले १८ वर्ष माथिका दुई करोड ३० लाख जनसङ्ख्यालाई आधार बनाएर पुस मसान्तभित्र त्यसको दुई तिहाइलाई खोप दिइसक्ने योजना बनाएको छ।
त्यो लक्षित जनसङ्ख्याको ४५ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएका छन्।
लक्षित जनसङ्ख्यामा एक मात्रा खोप लगाउने ५४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चैत्रसम्म सबै योग्य जनसङ्ख्यालाई खोप लगाइसक्ने दाबी गरे पनि मन्त्रालयले चाहिँ पुस मसान्तसम्मको मात्रै कार्ययोजना बनाएर काम गरिरहेको छ।
स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख दाहालका अनुसार पुस मसान्तको लक्ष्य भेट्न नेपालमा अब दैनिक एक लाख मात्रा खोप लगाउनुपर्छ।
"हामीसँग दैनिक दुई लाखभन्दा पनि बढी खोप लगाएको अनुभव छ। त्योभन्दा बढी पनि लगाउन सक्ने क्षमता छ, भर्खरै मात्रै पर्याप्त मात्रामा खोप आइपुगेको छ। अब हामी लक्ष्य अनुसार अगाडि बढ्छौँ," उनले भने।
गत बिहीवार मात्रै तीन लाख ४७ हजारले एकैदिन खोप लगाएको खोप शाखा प्रमुख दाहालले जानकारि दिए।
तर त्यसअघि दसैँ तिहार र छठको समयमा नेपालमा खोप लगाउने दर धेरै न्यून रहेको उनले बताए।
"छठ पर्वको भोलिपल्ट कार्तिक २५ गते जम्मा ४,५०० ले मात्रै खोप लगाएका छन्। तर २६ गते त्यो सङ्ख्या ९३,००० पुगेको थियो," उनले भने।

तस्बिर स्रोत, WHO Nepal
शाखाका अनुसार पछिल्लो १० दिनमा हरेक दिन कम्तीमा एक लाखले खोप लगाइरहेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी पछिल्ला केही दिनमा खोप लगाउने मात्रा बढेको देखिए पनि सरकारले व्यवस्थापन गर्न नसकेका कारण खोपको लक्ष्य भेट्न कठिन हुने बताउँछन्।
"व्यवस्थापनकै कमजोरी होला जस्तो लाग्छ। खोप छैन भनौँ भने मन्त्रालयले छ भनिरहेको छ। गाउँतिर पस्नुपर्यो नि त। हामीले त भनिरहेका छौँ दिनको दुईदेखि तीन लाख नलगाउने हो भने चैत्रसम्म सबैलाई लगाउन सकिँदैन," उनले भने।








