कोभिड नेपाल: ओमिक्रोन भेरिअन्टलाई निगरानी गर्न कोरोना भाइरसको 'जीन सीक्वन्सिङ तीव्र पारिने'

कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन नेपालमा भित्रिन सक्ने जोखिमलाई दृष्टिगत गर्दै नेपालमा भेटिएका भाइरसको जीन सीक्वन्सिङ कार्यलाई "पहिलेको तुलनामा तीव्र पार्नेगरी काम अघि बढाइएको" अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌का अधिकारीहरूका अनुसार "अब पहिलेको तुलनामा चाँडोचाँडो" जीन सीक्वन्सिङ गरिनेछ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको कोरोनाभाइरसको उक्त भेरिअन्ट हालसम्म विभिन्न देशहरूमा पुगिसकेको पाइएको छ।

नेपालले पनि ओमिक्रोन भित्रिन सक्ने भन्दै दक्षिण अफ्रिकाबाट नेपाल आउनेहरूमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ।

के गर्दैछ सरकार?

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ओमिक्रोनको जोखिमबारे विचार गरेर परीक्षण र जीन सीक्वन्सिङको पाटोमा गरिने कामलाई तीव्रता दिन थालिएको छ।

बीबीसीसँग कुरा गर्दै उनले भने, "विदेशबाट आउनेहरूको परीक्षण गर्दा कसैको पनि सङ्क्रमण पुष्टि भएको पाइयो भने उनीहरूको नमुना राखेर त्यो नमुना अनिवार्य रूपमा सीक्वन्सिङ गर्ने र अरू नियमित तरिकाले पुष्टि भइरहेका सङ्क्रमितहरूको नमुनामध्ये स्याम्प्लिङ गरेर सीक्वन्सिङ गर्ने भन्ने छ।"

"ती नमुनाहरूको हाम्रो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र हामीसँग सम्झौता भएअनुसार पब्लिक हेल्थ इङ्ग्ल्यान्डमा पठाएर जीन सीक्वन्सिङ गर्ने प्रबन्ध मिलाएका छौँ।"

अधिकारीका अनुसार नयाँ भेरिअन्ट आएकाले पहिले गरिएकोभन्दा तीव्र गतिमा जीन सीक्वन्सिङ गर्ने गरी मन्त्रालयले कार्य अघि बढाइसकेको छ।

उनले एक-एकवटा नमुनाको जीन सीक्वन्सिङ नगरिने तर नमुनाहरू लिएपछि निश्चित मात्रा पुगेपछि उपकरणमा एकैपटक राखेर त्यस्तो कार्य गरिने जानकारी दिए।

जनस्वास्थ्य प्रयोगशाला के भन्छ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार जीन सीक्वन्सिङ कार्य हरेक व्यक्ति वा प्रत्येक नमुनाको गर्ने गरिँदैन।

प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार प्रयोगशालाले हालसम्म महिनामा एक पटक जीन सीक्वन्सिङ गर्ने गरिएको थियो।

तर अहिले ओमिक्रोन भेरिअन्टको जोखिम बढेकाले मासिक तालिकालाई परिवर्तन गरेर छिटोछिटो गर्न लागिएको उनले जानकारी दिइन्।

"नियमित रूपमा नै हामीले जीन सीक्वन्सिङ गरिरहेका छौँ। अहिले चाहिँ हामीले मासिक रूपमा गरिरहेका थियौँ। तर अब ओमिक्रोनको सन्दर्भमा चाहिँ अलिकति छिटो छिटो गर्ने भन्ने कुरा भएको छ।"

"छिटोछिटो गर्दा व्ययभार अलि बढी पर्ने भएकाले हामीले प्रत्येक नमुनाको साटो ब्याच बनाएर गर्ने तयारीमा छौँ। यो दैनिक रूपमा गर्न सकिने कुरा होइन।"

"व्यक्तिगत रूपमा रोग निदानका लागि भन्दा पनि यो निगरानीका लागि हो।"

स्वास्थ्य अनुसन्धान परिषद्को तयारी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌ले पनि कतिपय देशहरूमा ओमिक्रोन भेरिअन्ट देखिएको सन्दर्भमा नेपालमा पनि त्यसबारे अनुसन्धान सुरु गर्ने भएको अधिकारीहरूले बताएका छन्।

परिषद्‌का सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार परिषद्‌ले उक्त भाइरसबारे अनुसन्धान गर्न एउटा प्राविधिक टोली बनाउनेबारे अनौपचारिक छलफल गरिसकेको छ।

उनले भने, "हामीले काठमाण्डू विश्वविद्यालयसँगको सहकार्यमा अनुसन्धानहरू गरिरहेका छौँ। त्यसैअनुसार नमुनाहरू पठाउनेगरी अनौपचारिक कुराकानी भएको छ।"

"अब त्यसलाई औपचारिक रूपमा पनि गर्छौँ।"

ज्ञवालीका अनुसार परिषद्‌ले भाइरसको भेरिअन्ट पत्ता लगाउनका लागि नमुना सङ्कलन गरेर दिने र काठमाण्डू विश्वविद्यालयले त्यसको परीक्षण गरिदिने पहिले नै सहमति भएको छ।

सोही सहमतिका आधारमा अहिलेको अनुसन्धान पनि अघि बढ्ने उनले जानकारी दिए।

नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गत भदौमा जीन सीक्वन्सिङ सुरु गरेको थियो।

प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा गरेर त्यस बेला कुल ४२ वटा नमुनाको जीन सीक्वन्सिङ गरिएको थियो।