कोभिड खोप नेपाल: १२ देखि १८ वर्षका बालबालिका र दीर्घ रोगीलाई फाइजर खोप दिन सुरु

खोप लगाउन पाइने अस्पतालहरू

तस्बिर स्रोत, Ministry of health nepal

तस्बिरको क्याप्शन, फाइजर खोप लगाउन पाइने अस्पतालहरू

देशैभर तोकिएका सबै स्वास्थ्य केन्द्रहरूमा आइतवारबाट १२ देखि १८ वर्षका बालबालिकाले उमेर खुल्ने परिचय पत्र र दीर्घ रोगीहरूले चिकित्सकले उपलब्ध गराएको कागजातका आधारमा कोभिड विरुद्धको फाइजर खोप सिधै प्राप्त गर्न सक्ने गरी व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालले कोभ्याक्स सुविधामार्फत् फाइजर खोपका १००,६२० मात्रा कार्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो।

सुरुमा उक्त खोप यस अघि खोप लगाउन छुटेका १२ वर्ष माथिका दीर्घ रोगीहरूलाई उपलब्ध गराइएको थियो।

मन्त्रालयका अनुसार हालसम्म देशैभरका २४ वटा अस्पतालबाट शनिवारसम्ममा ७,३६४ जनाले उक्त खोप लगाएका छन्।

''हामीले खोप केन्द्रमा मानिसहरू राखेका छौँ। खोप पनि राखेका छौँ। लगाउनुपर्ने बालबालिकाहरू पनि धेरै हुनुहुन्छ,'' खोप केन्द्र विस्तार नगरिएको अवस्थामा सबै बालबालिकाहरूका लागि खुला गरेर खोप दिन सकेको अवस्थामा धेरै भन्दा धेरै बालबालिकाहरूलाई खोपको दायरामा ल्याउन सकिने हुँदा सबैका लागि खोप खुला गरिएको मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताए।

फाइजर

तस्बिर स्रोत, reuters

तस्बिरको क्याप्शन, फाइजर

तोकिएका खोप केन्द्रमा जन्म दर्ता प्रमाणपत्र लिएर गएका सबै बालबालिकाले खोप रहुन्जेल फाइजर खोप प्राप्त गर्ने बताइएको छ।

''खोप सकिएपछि पहिलो मात्राका लागि अभियान स्थगित गरिनेछ। दोस्रो मात्रा सुनिश्चित गर्ने गरी खोप कार्यक्रम सञ्चालन भइरहेको छ,'' उनले थपे।

दोस्रो मात्रा कहिले पाइन्छ?

सरकारले फाइजर खोपको पहिलो मात्रा प्राप्त गरेको २१ देखि २८ दिन भित्रमा दोस्रो मात्रा दिइने गरी खोप कार्यक्रम अघि बढाएको जनाएको छ।

तर हालै प्रकाशित एक विवरण अनुसार यूकेको हेल्थ सेक्योरीटी एजेन्सीले १२ देखि १७ वर्षका स्वस्थ बालबालिकाहरूलाई १२ हप्ताको अन्तरमा मात्र दुई मात्रा दिनु राम्रो हुन्छ।

उक्त उमेर समूहका कोभिड सङ्क्रमण भएका बालबालिकाहरूलाई पनि सङ्क्रमणको १२ हप्ता पछि मात्रै फाइजर खोप लगाउन भनिएको छ।

यो अन्तरले अहिले नै कम जोखिम रहेको मुटुको 'इन्फलेमेसन'को जोखिमलाई अझ कम गरिदिने बीबीसी विश्व सेवाले अधिकारीहरूलाई उदृत गर्दै समाचार प्रकाशन गरेको छ।

नेपालको स्वास्थ्य मन्त्रालयले भने आफूहरूले पछिल्ला अनुसन्धानहरूलाई नजिकबाट हेर्ने गरेको र विज्ञ सल्लाहकार समितिले आवश्यक निर्णय गरेर सिफारिस दिएको आधारमा सरकारले थप निर्णय गर्ने जनाएको छ।

''अहिलेसम्म त्यस किसिमको कुनै निर्णय भएको छैन। भोलिका दिनमा हुने भयो भने हामीले जानकारी गराउँदै जानेछौँ। अहिलेका लागि सरकारको जे निर्णय छ, विज्ञ समूहबाट आएको सल्लाहकै आधारमा गरिरहेका छौँ,'' अधिकारीले भने।

सरकारले हाल फाइजर खोप काठमाण्डू उपत्यकाका नौ वटा अस्पताल र सातै प्रदेशमा गरी १५ वटा अस्पतालबाट लगाउन सकिने व्यवस्था गरेको छ।

समान वितरणको प्रश्न

हाल देशका २४ वटा अस्पतालहरूबाट बालबालिका लक्षित फाइजर खोप वितरण गरिराखिएको भए पनि कतिपयले त्यो सहर केन्द्रित भएको भन्दै प्रश्न उठाइ रहेका छन्।

खोप

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, खोप

देशैभर विद्यालयहरू खुलेसँगै बालबालिकाहरूमा सङ्क्रमणको जोखिम बढेको हुँदा ग्रामीण भेगहरूमा पनि खोप पुर्‍याइनुपर्ने आवाजहरू उठिरहेका छन्।

तर अधिकारीले भने सरकारले बालबालिका लागि एक करोड खोपका मात्रा ल्याउन लागिएको र हाल सीमित मात्रामा उपलब्ध भएको खोप वितरण गरिएका कारण काठमाण्डू उपत्यका र बाहिर २४ वटा अस्पताल छनोट गरिएको बताए।

''सबैलाई समान पहुँच पुगोस् भन्ने हिसाबले सुरुवात गरिएको हो। यो भन्दा बढी खोप केन्द्रहरू हामीले थप गरेर थोरै मात्रामा रहेका खोपका व्यवस्थापकीय कुराहरू ... लगाउनुपर्ने मानिसहरू हेर्दा यो भन्दा बढी गर्न त्यति उचित नहुने हुँदा त्यो भन्दा थप गर्न सकिएन अहिलेका लागि,'' उनले भने।

तर थप खोप प्राप्त भएपछि भने खोपको समान पहुँच स्थापित हुने गरी आफ्नो घरदैलो नजिकै बालबालिकाले खोप प्राप्त गर्ने गरी व्यवस्था गर्ने तयारी अघि बढाइएको सरकारी भनाइ छ।

थप खोप कहिले आउँछ?

सरकारले फाइजरको ६० लाख मात्रा र मोडेर्ना खोपको ४० लाख मात्रा प्राप्त गर्ने टुङ्गो भइसकेको जनाएको छ।

अबको ''एक देखि डेढ महिना''मा निश्चित मात्रामा ती खोप आउन थाल्ने बताइएको छ।

खोप

तस्बिर स्रोत, UNICEF NEPAL

तस्बिरको क्याप्शन, खोप

फाइजर खोपलाई हालसम्म विकास भएका कोभिड खोपमा भण्डारण र वितरणका हिसाबले सबैभन्दा चुनौतीपूर्ण भनिएको छ।

माइनस ८० डिग्री सेल्सिअस तापमानमा भण्डारण गर्नुपर्ने भनिएको फाइजर खोप एक महिना भित्रै लगाउने हो भने दुई देखि आठ डिग्रीमा राख्दा समस्या नआउने मन्त्रालयको भनाइ छ।

''हाम्रा नियमित खोप अभियान यही तापमानमा आधारित छन्,'' अधिकारीले भने।

लामो समयसम्म भण्डारणका लागि पनि केही स्थानमा फ्रिज जडान गरिसकिएको उनले जानकारी दिए।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ९१ लाखभन्दा बढीले कोभिड खोपको एक मात्रा प्राप्त गरेका छन् भने पूर्ण मात्रा प्राप्त गर्नेको सङ्ख्या ७८ लाख ७६ हजारभन्दा केही बढी छ।