कोभिड नेपालः बच्चा र किशोरावस्थाका मानिसलाई दिने भनिएको मोडर्ना खोप कहिले आउला?

कोभिड खोप

तस्बिर स्रोत, Reuters

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोप सन् २०२१ को अन्त्यसम्ममा नेपाल आइपुग्नेगरी प्रक्रिया थालिएको जनाएको छ।

कोभ्यास सुविधाअन्तर्गत ल्याउन लागिएको मोडर्ना खोपका लागि रकम पठाउनेबारे निर्णय भइसकेको मन्त्रालयले जनाएको हो।

सरकारले खासगरी १२ देखि १८ वर्ष उमेरका बालबालिका तथा किशोरकिशोरीलाई लक्ष्य गरी मोडर्ना खोप ल्याउन लागेको हो।

सरकारले सकेसम्म ४० लाख मात्रा मोडर्ना खोप एकैपटक ल्याउनेगरी तयारी गरेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

उनले भने, "तिहारपछि हुने गरेर हाम्रो प्रक्रिया अघि बढेको छ। हामीले सम्भवतः सन् २०२१ को अन्त्यसम्ममा ल्याइसक्छौँ। कथंकदाचित् ढिला भयो भने सन् २०२२ को सुरुसम्ममा आइसक्छ।"

यसअघि स्वास्थ्य मन्त्रालयले सबै नेपालीलाई पुग्ने खोप पौष मसान्तसम्म ल्याइपुर्‍याउने जनाएको थियो।

खोप ढुवानी

तस्बिर स्रोत, UNICEF NEPAL

भण्डारणको व्यवस्था के छ?

अन्य खोपको दाँजोमा मोडर्ना र फाइजरजस्ता कोभिड खोपहरू लामो समय भण्डारणका लागि निकै कम तापक्रममा राख्नुपर्छ।

मोडर्ना खोप छ महिनासम्म भण्डारण गर्न माइनस २० डिग्री सेल्सीअस तापक्रम कायम गर्नुपर्छ।

तर एक महिनासम्म राख्नका लागि भने अन्य खोपसरह दुईदेखि आठ डिग्रीमै राख्न सकिने बताइन्छ।

सरकारको रणनीति मोडर्ना खोप ल्याएर लामो समयसम्म भण्डार गर्नेभन्दा तत्कालै खोप लगाउने रहेको सहप्रवक्ता अधिकारीले बताए।

उनले भने, "हामीसँग दुईदेखि आठ डिग्री खोप भण्डारण गर्न सक्ने ठाउँहरू धेरै छन्। त्यसैले हाम्रो प्राथमकिता खोप ल्याएर लामो समय राख्नेभन्दा ल्याएपछि जतिसक्दो छिटो लगाउने भन्ने नै हो।"

स्वास्थ्य मन्त्रालयको अनुभवमा यसअघि दिनमै चार लाख मात्रासम्म खोप लगाइएको छ।

नेपाल आउने ४० लाख मोडर्ना खोप एकै चरणमा आए पनि व्यवस्थापनका लागि समस्या नहुने सहप्रवक्ता अधिकारीले बताए।

पहिलो चरणमा लगाइने २० लाख मात्रा खोप लगाउन बढीमा एक साता लाग्ने उनको भनाइ छ।

कोभिड खोप

तस्बिर स्रोत, Reuters

तर सुरुमा स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गर्ने र खोपको ढुवानी व्यवस्थापन लगायतका कामका लागि समय लागे त्यति समयसम्म राख्नका लागि पनि समस्या नहुने मन्त्रालयको भनाइ छ।

सहप्रवक्ता अधिकारीले भने, "मोडर्ना र फाइजरका लागि हुन सक्नेगरी पछिल्लो समय सातवटै प्रदेशमा खोपको लागि चिस्यानसहितको भण्डारण केन्द्र बनाउने काम गरिसकेका छौँ।"

"केहीकेहीमा कम तापक्रम मिलाउनुपर्ने मशीन जडान गर्ने काम मात्रै बाँकी हो। त्यसैले ४० लाखभन्दा बढी मात्रामा पनि खोप राख्न सक्छौँ।"

अहिलेसम्म कति मानिसले खोप पाए?

नेपालमा अहिलेसम्म झन्डै एक करोड ९० लाख मात्रा कोभिड खोप आइपुगेको छ।

अब झन्डै साढे दुई करोड मात्रा खोप आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ।

त्यसमा मोडर्ना तथा चीनमा बनेको सिनोफार्म र फाइजर खोपहरू छन्।

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म डेढ करोड मात्राभन्दा बढी प्रयोग भइसकेको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार ८६ लाख जनाले पहिलो मात्रा मात्र र ६७ लाख जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

गत साता मात्रै केही देशमा कम उमेरका मानिसलाई पनि समेत अनुमति पाएको फाइजर खोपको एक लाख मात्रा नेपाल आइपुगेको थियो।