अमेरिका-चीन तनाव: बेइजिङ ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे राष्ट्रपति बाइडन 'सोचविचारमा'

तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले सोचविचार गरिरहेको बताएका छन्।
मेक्सिको र क्यानडाका नेताहरूसँगको वार्ताअघि उनले संवाददाताहरूलाई उक्त निर्णयबारे आफूहरूले विचार गरिरहेको बताएका हुन्।
संवाददाताहरूसँग कुराकानी गर्दै बाइडनले शीतकालीन बेइजिङ ओलम्पिक्सको कूटनीतिक बहिष्कारबारे भनेका छन्- "हामी त्यसबारे सोचविचार गरिरहेका छौँ।"
पाँच वर्षपछि भएको पहिलो उत्तर अमेरिकी सम्मेलनमा मेक्सिको र क्यानडाका नेताहरू वासिङ्टनमा भेला भएका बेला बाइडनको उक्त भनाइ बाहिर आएको हो।
कूटनीतिक बहिष्कार भएमा कुनै पनि अमेरिकी अधिकारीहरू उक्त खेल समारोहमा भाग लिन जाने छैनन्।
तनाव
अमेरिका र चीनबीच व्यापार, मानवअधिकार र हङकङ तथा ताइवान मामिलालाई लिएर तनाव बढिरहेको छ।
गत सोमवार बाइडनले चिनियाँ समकक्षी सी जिन्पिङसँग भिडियोमार्फत् प्रत्यक्ष कुराकानी गरेका थिए।
ह्वाइटहाउसकी एकजना प्रवक्ताले उक्त तीन घण्टा लामो बैठकमा अमेरिका र चीनका नेताहरूले ओलिम्पिक्सबारे कुराकानी नगरेको बताएकी छन्।
चीनमा मानवअधिकार हनन भएको भन्दै डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीका सांसदहरूले चीनसँग कूटनीतिक बहिष्कार गर्नुपर्ने बताइरहेका छन्।
त्यस्तो बहिष्कारले खेलाडीहरूलाई चाहिँ असर नगर्ने बताइएको छ।

तस्बिर स्रोत, Getty Images
तर ह्वाइट हाउसकी प्रवक्ताले उक्त खेलमा अमेरिकाको कस्तो उपस्थिति हुन्छ भन्नेबारे अझै टुङ्गो लगाइ नसकिएको बताएकी छन्।
बेइजिङमा आगामी फेब्रुअरी ४ तारिखमा शीतकालीन ओलिम्पिक्स सुरु हुँदै छ।
अमेरिकाले चीनको सिन्जियाङमा उइगर मुस्लिमहरूको नरसंहार गरिएको चीनमाथि आरोप लगाउँदै आएको छ।
त्यस्तै हङ्कङमा राजनीतिक स्वतन्त्रतालाई दबाउने चिनियाँ कदमले पनि दुई देशबीच तिक्तता बढेको छ।
ताइवान मामिलालाई लिएर पनि दुई देशबीच तनाव बढिरहेको छ भने उनीहरूबीच व्यापारलाई लिएर पनि मतभेद बढ्दो छ।
गत महिना सिनेटमा अमेरिकी सिनेटरहरूले एउटा विधेयकमा संशोधन पेस गरेका थिए।
उक्त संशोधनमा अमेरिकी विदेश मन्त्रालयले कूटनीतिज्ञहरूलाई खेल प्रतियोगिताहरूमा भाग लिन दिने "समर्थन र सुविधा"माथि प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको थियो।
एकजना वरिष्ठ डेमोक्र्याट कङ्ग्रेस सदस्य न्यान्सी पेलोसीले बहिष्कारको आह्वान गर्दै त्यस्ता समारोहमा सहभागी हुने अमेरिकी नेताले "नैतिक अधिकार" गुमाउने बताएकी थिइन्।
रिपब्लिकन सिनेटर टम कटनले बिहीवार "नरसंहारकारी ओलिम्पिक्स"को कूटनीतिक बहिष्कार मात्र गरिनु "एकदमै थोरै र एकदमै कम" हुने बताएका थिए।
उनले उक्त समारोहको पूर्ण बहिष्कार गर्नुपर्ने र अमेरिकाका खेलाडी, अधिकारीहरू र व्यापारिक प्रायोजकहरूले समेत सहभागिता जनाउनु नहुने बताए।








