तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाइडन-सी वार्ता: ताइवानको विषयमा अमेरिकाले 'आगोसँग खेले जस्तो' हुने चीनको चेतावनी
चिनियाँ राष्ट्रपति सी जिन्पिङले आफ्ना अमेरिकी समकक्षी जो बाइडनलाई ताइवानको पक्षपोषण गर्नु उनको देशका लागि प्रत्युपादक हुन सक्ने चेतावनी दिएका छन्।
दुई नेताबीच भर्चूअल माध्यमबाट भएको वार्ताका क्रममा सीले बाइडनलाई ताइवानले खोजे जस्तो स्वतन्त्रतालाई प्रोत्साहन गर्नु "आगोसँग खेले जस्तै" हुने बताएका हुन्।
यसै वर्षको ज्यानुअरीमा बाइडनले पदभार ग्रहण गरेयता दुई नेताबीच भएको यो सबैभन्दा महत्त्वपूर्ण वार्ता हो।
दुवैले एकअर्काबीच राम्रो व्यक्तिगत सम्बन्ध राख्नुपर्नेमा जोड दिएका थिए र उनीहरूको वार्ता पनि दुई देशबीच तनाव कम गर्ने कुरामा केन्द्रित थियो।
तर उनीहरू सबैभन्दा संवेदनशील ताइवानको विषयमा कुरा नगरीकन उम्किन भने सकेनन्।
चीनले ताइवानलाई आफ्नै भूभाग मान्ने गरेको छ र पुनः एकीकरण गर्ने उसको इच्छा छ।
अमेरिकाको चीनसँग दौत्य सम्बन्ध छ। तर आक्रमण भएको अवस्थामा उसले ताइवानलाई रक्षा गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
चिनियाँ सरकारको मुखपत्र भनिने ग्लोबल टाइम्स पत्रिकाले सीले पछिल्लो तनावको कारण "प्रजातन्त्रसम्बन्धी विषयमा पटकपटक ताइवानी निकायहरूले अमेरिकाको सहयोग खोज्नु र चीनलाई नियन्त्रण गर्नका लागि ताइवानको प्रयोग गर्ने केही अमेरिकीहरूको उद्देश्य" रहेको बताएको उल्लेख गरेको छ।
"यस्ता कदमहरू अत्यन्तै खतरनाक छन्। आगोसँग खेले जस्तै। आगोसँग खेल्ने जोकोही जल्नेछ," सीको भनाइ थियो।
ह्वाइट हाउसले भने बाइडनले "यथास्थिति परिवर्तन गर्न वा ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई कमजोर पार्न एकपक्षीय प्रयासको कडा विरोध गरेको" जनाएको छ।
दुवै नेताले ताइवानबारे कडा धारणा राखे पनि सम्मेलनको आरम्भमा दुवै नेताले एकअर्कालाई न्यानो अभिवादन गरेका थिए।
सीले आफ्ना "पुराना साथी" बाइडनलाई देख्न पाउँदा खुसी लागेको बताएका थिए।
बाइडनले आफूहरू दुवैले "एकअर्कासँग इमानदारीपूर्वक स्पष्ट रूपमा कुराकानी गर्ने गरेको" बताए।
"अरूले के भन्लान् भन्ने कुरालाई हामीले कहिल्यै वास्ता गरेनौँ," उनले भने।
सीले दुवै देशले "वार्तामा सुधार ल्याउनुपर्ने" र "सँगै" चुनौतीको सामना गर्नुपर्ने बताए।