कोभिड महामारीले अवरुद्ध पढाइ पूरा गर्न शिक्षकहरूको प्रमुख भूमिका

शिक्षा
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

कोभिड महामारीका कारण बन्द स्कुलका कक्षाहरू सुरु हुँदै गर्दा विद्यार्थीलाई सहजीकरण गर्दा शिक्षकको भूमिका महत्त्वपूर्ण हुने सरकारी अधिकारी एवं विज्ञहरूले बताएका छन्।

विद्यालयहरूमा कतै शैक्षिक सत्रको पहिलो चौमासिक घर्किएपछि कक्षाहरू सुरु हुन थालेका छन् भने कतै तिहार वा छठपछि सुरु हुने सुरसार भइरहेको बताइन्छ।

शिक्षा मन्त्रालयका प्रवक्ताले विद्यालयहरूलाई पाठ्यवस्तु समायोजनको ढाँचा दिए पनि सञ्चालन कहिले र कसरी गर्ने भन्ने निर्णय सम्बन्धित स्थानीय सरकार र विद्यालय मिलेर गर्नुपर्ने बताउँछन्।

विद्यालयमा एक शैक्षिक सत्रमा १८० दिन अथवा १,०२५ घण्टा पढाउनुपर्ने गरी मौजुदा पाठ्यक्रम भए पनि त्यो महामारीयता तेस्रो शैक्षिक सत्रमा अवरुद्ध छ।

कसरी पढाउने?

शिक्षा मन्त्रालयका अधिकारीहरूले शैक्षिक सत्रको छुटेको समयलाई विभिन्न विकल्पहरूमा गएर कार्यान्वयन गर्न सकिने ठान्छन्।

जसका लागि विद्यालयहरूलाई पाठ्यक्रम समायोजनको ढाँचा समेत उपलब्ध गराइएको मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन्।

"एकैतिर पनि कतै विद्यालय पूर्ण रूपमा त कतै पालो मिलाएर थोरै-थोरै विद्यार्थीहरूसहित खुल्न सक्छ। त्यस्तोमा छुटेका विषयवस्तुको सुनिश्चितता शिक्षक तथा विद्यालयहरूले वैकल्पिक तरिकाहरू अपनाएर गर्नुपर्छ," शर्मा भन्छन्।

"हामीले दिएको ढाँचा विद्यार्थीहरू घरमै बसेर गृहकार्य र गतिविधिहरू गर्न सक्ने क्रियाकलाहरू बढाउने भन्ने छ। त्यो कक्षा वा शिक्षकपिच्छे फरक तरिका हुन्छ।"

शिक्षा

यसबीचमा महामारी केही मत्थरजस्तो देखिएको भए पनि विज्ञ तथा स्वास्थ्य अधिकारीहरूले अझै जोखिममुक्त अवस्था आई नसकेको बताउने गरेका छन्।

त्यसैले सरकारले स्थानीय अवस्थालाई हेरेरै त्यहाँ विद्यालय सञ्चालन गर्ने अधिकार पालिकाहरूलाई दिएको छ।

व्यवस्था

सङ्क्रमणको अवस्थालाई विभिन्न वर्गीकरणमा राखेर उच्च अवस्था हुने 'रेड जोन'मा कक्षा सञ्चालन गर्न नसकिने भनिएको छ भने 'ग्रीन जोन'मा विद्यालय खोल्न सकिनेछ।

ससाना समूहमा मात्र विद्यार्थीहरूलाई स्कुल बोलाएर पढाउन सकिने विकल्प समेत राखिएको छ।

निजी विद्यालयहरूको एउटा सङ्गठन प्याब्सनका सहअध्यक्ष डीके ढुङ्गानाले अब कक्षाहरू सञ्चालन गरिँदा कोभिडबाट बच्ने तरिकालाई पढाइकै पाटोको रूपमा समेट्न थालिने बताउँछन्।

"घरभित्र बस्दैमा कोरोनाभाइरसबाट बच्न सकिन्छ भन्ने पनि अब छैन। त्यसैले बालबालिकालाई दैनिक जीवनमा सावधानी अपनाउने तरिका सिकाउन आवश्यक छ। त्यो शिक्षा विद्यालयले अब दिन सक्छ," उनले भने।

वैकल्पिक कक्षाका प्रयास

यसबीचमा अनलाइन कक्षा, मोबाइल परामर्श वा टिभी-रेडिओका सहायताजस्ता विभिन्न वैकल्पिक विधि अपनाएर पढाएका विद्यालयहरूलाई भने केही ढिलो कक्षा सुरु भए पनि सहज भएको बताइन्छ।

तिनैमध्येको एक झापा गौरादहको मदन आश्रित प्राविकी प्रधानाध्यापक सीता घिमिरेले असारबाटै आफूहरूले घरदैलो गरेर पढाउने काम सुरु गरेकाले अहिले विद्यालय सुरु गर्दा सहज भएको बताइन्।

घिमिरेले भनिन्, "कक्षा तीन, चार र पाँचमा नेपाल टेलिकमले उपलब्ध गराएको सुलभ दरको सीमकार्डबाट समेत पढाउने काम गर्‍यौँ।"

दसैँअघि नै विद्यालयहरू खोल्न सकिनेगरी सरकारले बाटो खोलिदिए पनि कतै स्थानीय सरकार त कतै अभिभावहरू नै महामारीको अवस्थाबारे ढुक्क नहुँदा सबैतिर कक्षाहरू सञ्चालन हुन नसकेको बताइन्छ।

घिमिरे थप्छिन्, "विद्यालय पूर्ण रूपले खुला गरिए पनि अलिकति समेत रुघा-ज्वरो आउँदा स्कुल नआउन र त्यसको खबर गर्न भनेका छौँ।"

पछिल्ला केही सातादेखि स्थिरजस्तो देखिएको सङ्क्रमणबारे चाडपर्वपछि अझ स्पष्ट देखिने र त्यसले स्कुलहरू खुल्ने क्रम समेत थप स्पष्ट हुने विद्यालय सञ्चालकहरूको भनाइ छ।

विद्यार्थी

तस्बिर स्रोत, RSS

2px presentational grey line

'अबको पढाइ कक्षा शिक्षण हुनु हुँदैन'

प्राध्यापक विद्यानाथ कोइराला, शिक्षाविद्

बालबालिकाहरूलाई सबैभन्दा पहिले पढ्ने भनेको जटिल काम होइन भन्ने सन्देश दिन सकियो भने धेरै कुरा सहज हुन्छ।

जस्तो हलो जोत्ने काममै वा भात पकाउँदा पानी नाप्ने काममा विज्ञान र गणित पढ्न सकिने गराउन सकिन्छ। 

स्थानीय तहमा रहेका सन्दर्भ सामग्री र परम्परागत प्रविधिहरूलाई जोडेर पढाउन थालियो भने त्यो निकै प्रभावकारी हुन्छ।

कक्षाको पढाइ सिलसिलेवार ढङ्गले पढाउन पर्नेमा त्यसरी पढाउँदा धेरै कुरा एकै पटक सिकाउन सकिन्छ। 

र कक्षा सक्नका लागि समय प्रधान नभईकन विषयवस्तु मुख्य हुन्छ। समयको व्यवस्थापन शिक्षक र विद्यार्थीहरूले आफ्नो अनुकूलतामा गर्न सक्छन्।

परियोजनाहरूबाट पढाउने अभ्यास त्यसका लागि निकै महत्त्वपूर्ण हुन्छन्। 

शिक्षा

सबै शिक्षकहरू यस्तो कामका लागि सक्षम नभए पनि केही उल्लेख्य सङ्ख्यामा क्षमतावान् शिक्षकहरू समेत छन्।

तिनीहरूको समूह बनाएर राम्रो अभ्यासकर्ताहरूलाई यस काममा अग्रसर गराउनुपर्छ।

अनलाइन पढाइलाई समेत अब वैकल्पिक उपाय नभईकन अध्ययनको पूरकका रूपमा लैजानुपर्छ।

अहिले कोभिडको समस्या भए तापनि भविष्यमा बाढी र पहिरोजस्ता अनेक समस्या आउन सक्छन्।

शिक्षकहरूलाई बहुविकल्पसाथ तयार बनाएर अब किताबलाई प्रमुख मान्न छाड्नुपर्छ।

अबको पढाइ कक्षा शिक्षण नभई विद्यार्थीको ज्ञानसँग जोड्ने हुनुपर्छ। र त्यो कला शिक्षकहरूमा आवश्यक छ।

2px presentational grey line
भिडिओ क्याप्शन सुरु हुँदैछ, भारतीय गाउँको सडकमै कक्षा चलाउने शिक्षक