चीन: स्कूले बालबालिकामा गृहकार्यको चाप घटाउने बेइजिङको प्रयास

तस्बिर स्रोत, Getty Images
चीनले विद्यालय समयपछि बालबालिकामा गृहकार्यको अत्यधिक चाप घटाउने उद्देश्यले शिक्षासम्बन्धी एउटा कानुन पारित गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
चीनमा अभिभावकहरूलाई बालबालिकालाई आराम र व्यायामका लागि पर्याप्त समय सुनिश्चित गर्न र उनीहरू धेरै समय इन्टरनेटमा नझुम्मिने परिस्थिति बनाउन समेत भनिँदैछ।
अगस्ट महिनामा चीनले छ र सात वर्षका बालबालिकाका लागि लिखित परीक्षा हटाइएको थियो।
अधिकारीहरूले एउटा चेतावनी दिँदै त्यस समयमा उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा हानि पुगेको बताएका थिए।
गत वर्ष चीनले बालबालिकामा व्याप्त इन्टरनेट तथा पप कल्चर भनिने आधुनिक चालचलनको "कुलत" घटाउन विभिन्न उपाय थालेको थियो।
कानुन
शनिवार चीनको स्थायी विधायिकाको रूपमा रहेको न्याश्नल पीपल्स कङ्ग्रेसले नयाँ कानुन नै पारित गरेको हो।
उक्त कानुनको पूर्ण विवरण अझै प्रकाशित गरिएको छैन।
तर समाचारहरूमा त्यसले अभिभावकलाई बालबालिकाको नैतिकता, बौद्धिक विकास र सामाजिक व्यवहार निखार्न उत्प्रेरित गर्न सकियोस् भनेर ल्याइएको उल्लेख छ।
स्थानीय सरकारहरू त्यसको कार्यान्वयनका लागि उत्तरदायी हुनेछन् जहाँ उनीहरूले अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन दिने आर्थिक सहायता दिनेजस्ता काम गर्नुपर्नेछ।
उक्त कानुनबारे त्यहाँको सामाजिक सञ्जाल वाइबोमा मिश्रित प्रतिक्रिया देखा परेको छ।
त्यसको प्रशंसा गर्नेहरूले त्यसले असल अभिभावकत्व विकास गर्ने बताएका छन् भने आलोचना गर्नेले के स्थानीय अधिकारीहरू वा अभिभावकहरूले नै त्यसको पालना गर्लान् र भनेर प्रश्न उठाएका छन्।
चीनले किन यसो गरिरहेको छ?
जुलाई महिनामा बेइजिङले देशभित्र मुख्य विषयहरू बढाउँदै लाभ कमाउने उद्देश्यले खोलिएका अनलाइन पढाउने केन्द्रहरू बन्द गरिदिएको थियो।
नयाँ कानुनले उक्त क्षेत्रमा वैदेशिक लगानीलाई रोकेको छ यसअघि झन्डै १२० अर्ब अमेरिकी डलर बराबरको अनलाइन पढाउने क्षेत्रलाई रोकिदिएको छ।
चीनमा अहिलेसम्मकै न्यून जन्मदर देखा परिरहँदा त्यस बेला उक्त कदमलाई बालबालिका हुर्काउन अभिभावकमा परेको चाप कम गर्ने सरकारको प्रयासका रूपमा हेरिएको थियो।
त्यहाँ शैक्षिक असमानता समेत एउटा समस्याको रूपमा छ। सम्पन्न अभिभावकहरू ठूलो धनराशि खर्च गरेर आफ्ना सन्तानलाई उत्कृष्ट विद्यालयमा पढाउन चाहन्छन्।








