बदलिँदो चीन: बेइजिङको कडाइले कसरी व्यापारलाई प्रभाव पारिरहेको छ

चीनको झन्डा अघि इभरग्रान्डको लोगो

तस्बिर स्रोत, Getty Images

    • Author, पिटर हसकिन्स
    • Role, व्यापार रिपोर्टर

अर्थतन्त्रमा एउटा वा अर्को दमन नगरी हालैका महिनामा चीनमा कुनै दिन पनि बितेको छैन।

नयाँ कडा नियमहरूको घोषणा र भइरहेका नियमको सशक्त कार्यान्वयनले देशका ठूला कम्पनीहरूलाई निशाना बनाएको छ।

चीनका पछिल्ला घटनाक्रम राष्ट्रपति सी जिनपिङको 'साझा समृद्धि' भनिने आधारभूत नीति अभियान अन्तर्गत अघि बढाइएका हुन्।

यो वाक्यांश चीनको हकमा नयाँ होइन। सन् १९५० को दशकमा जनवादी गणतन्त्र चीनका संस्थापक नेता माओ त्से तुङ्ले यो वाक्यांश प्रयोग गरेका थिए।

चिनियाँ कम्युनिस्ट पार्टी एक सय वर्ष पुगेको साल फेरि 'साझा समृद्धि' प्रयोगमा आउनु यो अहिले चिनियाँ नीतिको केन्द्रमा पुगेको सङ्केत हो।

देशका अति धनाढ्य र अति गरिबबिच रहेको सम्पत्तिको खाडल पुर्ने बेइजिङको प्रयासका रूपमा साझा समृद्धि नीतिलाई लिइएको छ।

कतिपयले उक्त मुद्दाले विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई जोखिममा पार्ने र चिनियाँ कम्युनिस्ट पार्टीलाई अस्तित्वकै खतरा निम्त्याउने तर्क गरिरहेका छन्।

यी पछिल्ला कदमहरूलाई चीनका ठूला कम्पनीका अर्बपति धनीहरूलाई कस्दै उपभोक्ता र कामदारहरूलाई व्यवसायहरूको सञ्चालन र आयको वितरणमा थप अधिकार दिने गतिविधिका रूपमा लिइएको छ।

'स्थानीय कदम र विश्वव्यापी प्रभाव'

बेइजिङले हालैका महिनामा चिनियाँ व्यापारिक स्वार्थलाई लक्षित गर्दै व्यापक रूपमा विभिन्न किसिमका भनाइहरू राख्दै आएको छ।

बिमा प्रतिनिधि, निजी ट्युसन फर्म, घरजग्गा व्यवसायी र अमेरिकामा सेयर बिक्री गर्ने योजना गरिरहेका कम्पनीहरूसमेत व्यापक निगरानीमा परेका छन्।

मुख्य रूपमा प्रविधि उद्योगले उल्लेख्य रूपमा नियन्त्रणको सामना गरिरहेको छ।

त्यसमा ईकमर्स फर्महरू, विद्युतीय आर्थिक सेवा दिने कम्पनी, सामाजिक सञ्जाल, गेमिङ कम्पनी, क्लाउड कम्प्युटिङ सेवा प्रदायक, यात्रासम्बन्धी एपहरू, क्रिप्टोकरेन्सी माइनर्स र सट्टेबाजहरू निशानामा परेका थिए।

अंग्रेजी पढाउने ट्युशन केन्द्रको विज्ञापन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्युसन पढाउने केन्द्रहरू पनि सरकारको निशानामा परेका छन्

यी कदमहरूले चीनको अर्थतन्त्र र समाज दुवैलाई गम्भीर प्रभाव पारिरहेका छन् र यसको असर विश्वभर महसुस हुँदैछ।

चीन लामो समययता विश्वको उद्योग केन्द्र र विश्व आर्थिक वृद्धिको वाहकका रूपमा परिचित रहेको छ।

तर व्यवसाय नियमनसम्बन्धी अनिश्चितताले विदेशका कम्पनीहरूलाई सम्भावित लगानीबारे निर्णय गर्न अप्ठेरो पारिरहेको छ।

अर्को तर्फबाट हेर्दा नयाँ नियम लागु गर्दा छोटो अवधिका लागि त्यो उथलपुथलकारी भएपनि पुनर्संरचना गरिएका नियमले दीर्घकालमा अनिश्चितताहरूलाई सम्बोधन गर्न सक्छ भनेर पनि भन्न सकिन्छ।

सम्भवतः त्यसरी हेर्ने अभ्यास कम्तीमा चिनियाँ सरकारको छ।

शक्तिशाली एन्ट समूहमाथिको दमन

राष्ट्रपति सीले चीनको अर्थतन्त्र साझा समृद्धिको नीतिले पुनर्संरचना गर्दैछन् भन्ने प्रस्ट नभई बेइजिङले आश्चर्यजनक रूपमा आफ्नो सामर्थ्य देखाएको थियो।

भव्य कर्पोरेट कार्यक्रमहरूमा सहभागी हुने अलीबाबाका संस्थापक ज्याक मा झन्डै एक वर्षभन्दा कम समयअघि विश्वकै सबैभन्दा ठूलो सेअर बजारमा पाइला चाल्न लागेका थिए।

अलीबाबाको एउटा आर्थिक भातृ निकाय एन्ट ग्रुप जसले चीनको सबैभन्दा ठूलो डिजिटल पेमेन्ट प्रणाली अलीपे समेत सञ्चालन गर्छ उसको सार्वजनिक सेअर जारी गर्न लागिएको थियो।

त्यसको मूल्य ३४ दशमलव ४ अर्ब डलर पुग्ने भनिएको थियो जसले मालाई एसियाकै धनी व्यक्ति बनाउने थियो। तर त्यही बेला उनले चीनको विवादास्पद आर्थिक प्रणालीको आलोचना गर्दै एउटा भाषण दिए।

त्यसको केही दिनपछि नै सेअर रद्द गर्ने निर्णय गरियो र कुनै समयका चर्चित व्यवसायी मा अर्को वर्षको ज्यानुअरीसम्म सार्वजनिक कार्यक्रममा देखिएनन्।

ज्याक मा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अघिल्लो वर्ष ज्याक मा केही समय सार्वजनिक कार्यक्रमबाट हराएका थिए

त्यसयता अलीबाबालाई २.८ अर्ब डलर जरिबाना गरिएको छ र एउटा छानबिनले उक्त कम्पनीले वर्षौँदेखि बजारको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ।

एन्टले पनि आफ्नो व्यवसायको पुनर्संरचनाका लागि नाटकीय रूपमा वृहत् योजना सार्वजनिक गरेको छ।

यो औपचारिक रूपमा साझा समृद्धि अभियानको हिस्सा थियो या थिएन भनेर निर्णय गर्ने जिम्मा हामी इतिहासकारहरूका हातमा छाड्न सक्छौँ।

तर हामी निश्चित भएर के भन्न सक्छौँ भने मालाई तल खसाउने उक्त घटना र उनको ठूलो व्यावसायिक साम्राज्यमाथि चालिएको कदम अहिले चिनियाँ अर्थतन्त्रको कुना कुनामा प्रवेश गरिरहेको छ।

चुलिँदो ऋणको बोझ

साझा समृद्धिको नीतिका कारण आफ्नो भविष्यलाई लिएर चिन्तामा रहेको अर्को विशाल चिनियाँ कम्पनी चाइना एभरग्रान्डे ग्रुप हो।

उसको प्रमुख व्यवसाय घरजग्गा कारोबार हो तर सम्पत्ति व्यवस्थापन, विद्युतीय सवारीसाधन, खानेकरा र पेय पदार्थको उत्पादनमा पनि कम्पनीको रुचि छ।

चीनको एउटा ठूलो फुटबल क्लब ग्वाग्जाओ फुटबल क्लब पनि उसकै स्वामित्वमा छ।

उक्त कम्पनीको सञ्चालक अरबपति व्यवसायी हुइ का यान हुन जसलाई फोर्ब्स पत्रिकाले एशियाको सर्वाधिक धनी व्यक्तिका रूपमा सूचिकृत गरेको थियो।

हालैका हप्ताहरूमा एभरग्रान्डेमा देखिएको वित्तीय सङ्कटले विश्व आर्थिक बजारलाई तरङ्गित तुल्याएको छ।

चीनको सबैभन्दा ठूलो घर जग्गा कारोबारी बन्नका लागि उसले ३०० अर्ब डलर ऋण लिएको थियो।

चीन

तस्बिर स्रोत, GETTY / SEAN GLADWELL

भारी ऋणमा रहेका फर्महरू देशको अर्थतन्त्रका लागि खतरा रहेको अहिले बेइजिङले ठान्ने गरेको छ। ऋण लिन नपाउने व्यवस्था लागु गर्दा उसले एभरग्रान्डे जस्ता कम्पनीलाई नै मनमा राखेको थियो।

अहिले ताजा मद्दतबिना उक्त कम्पनी आफ्नो पहिल्यैदेखि कायम ऋण तिर्न सङ्घर्ष गरिरहेको छ।

साझा समृद्धिको नीति अन्तर्गत अधिकारीहरूले एभरग्रान्डेका सम्पत्ति खरिद् गर्ने उपभोक्तालाई मद्दत गर्ने नीति लिएको छ। कम्पनी वा ऋण दिने ऋणपत्र किनेका मानिसहरू वा ब्याङ्कहरूलाई सहयोग गर्ने नीति लिइएको छैन।

यसै हप्तामात्रै उक्त अवधारणालाई चिनियाँ केन्द्रीय ब्याङ्कले समर्थन जनाएको थियो। एभरग्रान्डेको नाम नलिईकनै ब्याङ्कले आवास बजारका उपभोक्ताहरूलाई संरक्षण दिने बताएको थियो।

त्यसले आर्थिक बजारमा ठूलो टाउको दुखाइ निम्त्याएको छ। उक्त फर्मले छ महिनाको अवधिमा आफ्नो सेयर मूल्य ८० प्रतिशत भन्दा बढीले घटेको देखिरहेको छ।

गेमिङले गुमाएको लडाइँ

अगस्ट महिनाको सुरूमा चिनियाँ सरकारी सञ्चारमाध्यमले अनलाइन खेलहरूलाई एक प्रकारको कुलतका रूपमा चित्रण गरेपछि नै उनीहरू निशानामा पर्न सक्ने ठानिएको थियो।

गेमिङ उद्योगमाथि कडा नियन्त्रण लाग्ने देखिएपछि टेन्सेन्ट र नेटइज जस्ता कम्पनीहरूको सेयरमा ठूलो गिरावट देखिएको थियो।

त्यही महिनाको अन्त्यतिर अधिकारीहरूले चीनका अनलाइन खेलहरू रुचाउने किशोर किशोरी र गेमिङ प्ल्याटफर्मलाई लक्षित गर्दै कडा प्रतिबन्धहरू घोषणा गरे।

१८ वर्षभन्दा मुनिका लागि उनीहरूलाई शुक्रवार र सप्ताहान्त अनि बिदाको दिनमा हप्ताको एक घण्टा खेल्न दिने भनियो। साथै राति ८ बजेदेखि ९ बजेसम्म खेल्न दिइने घोषणा गरियो।

मोबाइल भिडिओ गेम

तस्बिर स्रोत, Edwin Tan

तस्बिरको क्याप्शन, अठार वर्ष भनदा मुनीका किशोर किशोरीलाई अनलाइन खेलमा कडा प्रतिबन्धहरू लागइएका छन्

नयाँ नियमहरूको अर्थ बालबालिकाले नियम नमिचून् भन्ने सुनिश्चित गर्ने जिम्मा खेल कम्पनीहरूको थियो।

आफूले तोकेका नियमको पालना सुनिश्चितता गराउन निगरानी थप बढाउने सरकारी निकायहरूले बताएका थिए।

चिनियाँ सरकारले आगामी वर्षहरूमा पनि यी कडाइहरूले निरन्तरता पाउने बताएका छन्।

अघिल्लो महिना उसले एउटा अर्थतन्त्रका अधिकांश क्षेत्रमा कडा नियन्त्रणको व्यवस्था गर्दै नयाँ १० बुँदे योजना सार्वजनिक गरेको थियो जुन सन् २०२५ को अन्त्यसम्म लागु भइरहनेछ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई यी नयाँ नियम र अहिले भएका नियमहरूको कडाइपूर्वक कार्यान्वयनले कति आमूल ढङ्गले प्रभाव पार्छ त्यो प्रस्ट भइसकेको छैन।

तर चीनमा रहेपनि बाहिर बसेपनि त्यसले निम्त्याउने परिणामले हामी सबैलाई प्रभावित पार्ने छ।