बदलिँदो चीन: किन सी जिनपिङ समाजवादतर्फको यात्रामा फर्कन लागेको जस्तो देखिन्छ

तस्बिर स्रोत, Getty Images
- Author, स्टिभन मक्डोनेल
- Role, बीबीसी न्यूज, बेइजिङ
वर्षौँसम्म चीन कट्टर समाजवादी थिएन तर कम्युनिस्ट पार्टीले त्यो अवस्था बदल्न खोज्दैछ।
दशकौँसम्म चीनको जीवन देशमै विकास गरिएको पुँजीवाद विरोधी व्यवस्थाको वरपर घुमिरहेको थियो।
प्राविधिक रूपमा 'कम्युनिस्ट' देश भएपनि सरकारले केही व्यक्तिलाई एकदमै धनी बन्न दिने प्रणालीले पुरै समाजलाई लाभ दिने र अध्यक्ष माओको सांस्कृतिक क्रान्तिका कारण उत्पन्न अप्ठेरो अवस्थाबाट चाँडो भन्दा चाँडो माथि उठाउने निष्कर्ष निकालेको थियो।
केही हदसम्म त्यसले काम गर्यो। एउटा ठूलो मध्यम वर्ग जन्मियो र त्यसको परिणाम स्वरूप लगभग समाजका हरेक वर्गको जीवनस्तर अहिले माथि उठेको छ।
सम्पत्तिको असमानता
सन् १९७० को दशकको दिशाहीन चीन त्यहाँबाट माथि उठेर अहिले विश्वमा आर्थिक रूपमा वर्चस्व कायम गर्न अमेरिकालाई चुनौती दिइरहेको छ।
तर उसभित्रै आम्दानीलाई लिएर ठूलो खाडल रहेको छ। उपयुक्त समयमा पदमा पुगेका व्यक्तिका सन्तानमा त्यो देखिन्छ।
सन् १९८० को दशकमा उद्योगहरूमा स्वामित्व कायम गर्न सफल अभिभावकहरूले मनग्गे नाफा कमाए जसले उनीहरूका सन्तानहरूलाई चमक धमक भएका शहरमा महँगा स्पोर्ट्स कार चलाउन र भविष्यमा घर किन्न सक्छौँ कि सक्दैनौँ भनेर अन्योलपूर्ण जीवन बिताइरहेका निर्माण कामदारको छेउबाट अघि बढ्न दिइरहेको छ।
आफ्नो कामका कारण दण्ड नपाइयोस् भन्नका लागि पार्टीमा 'चिनियाँ विशेषता सहितको' भन्ने वाक्यांश प्रयोग गर्ने अभ्यास छ।
'चिनियाँ विशेषता सहितको' समाजवादको अवधारणाले कुनै पनि हिसाबले समाजवादी नदेखिने व्यवस्थातर्फ समाजलाई डोर्याउन सरकारलाई भारी सैद्धान्तिक छुट दियो।
पार्टी महासचिव सी जिनपिङले त्यो अब मान्य नहुने निर्णय गरेको जस्तो देखिन्छ।
उनको नेतृत्वको चिनियाँ सरकारले कम्युनिस्ट पार्टी भित्र केही हदसम्म कम्युनिस्ट फर्काउन थालेको देखिन्छ।
तर साम्यवादी प्रणाली भएपनि चीनको धनी र गरिब मानिसहरूबीच गहिरो खाडल रहेको छ।

तस्बिर स्रोत, Getty Images
अहिलेको नयाँ नारा 'साझा समृद्धि' हो।
अहिलेसम्म सडकमा टाँगिने प्रचार पोस्टरहरूमा त्यो आइसकेको छैन तर त्यसो हुन अब लामो समय लाग्ने छैन।
अहिले यो चिनियाँ नेताको कामको आधार स्तम्भ हो।
साझा समृद्धि र धरपकड
यो नारा मुन्तिर कर छली गर्ने धनीहरूलाई निशाना साध्न सजिलो हुन्छ। त्यसै गरी निजी ट्युसन कम्पनीहरूलाई बन्द गराएर शिक्षामा सबैको समान पहुँच कायम गर्ने प्रयास अघि बढाउन सहज हुनसक्छ। अहिले देशका अग्रणी प्रविधि कम्पनीहरू विरुद्ध भइरहेका धरपकडलाई पनि यसकै अंशका रूपमा हेरिएको छ।
के सी जिनपिङ यस्तो खालको साम्यवादी परियोजनाको अवधारणामा विश्वास गर्छन्? शत प्रतिशत निश्चित हुन गाह्रो छ तर कतिपय पर्यवेक्षकहरूले त्यस्तै देखिएको ठोकुवा गर्छन्।
विगतसँग तुलना गर्दा पार्टीका अन्य धेरै अधिकारीहरूबाट त्यस्तो अनुभव हुँदैनथ्यो।

तस्बिर स्रोत, Getty Images
कम्युनिस्ट मार्गचित्रको सम्पत्तिको पुनर्वितरण पक्ष सहित राष्ट्रपति सी पार्टीलाई दैनिक जीवनका अधिकांश पक्षमा प्रवेश गराउनुपर्ने पक्षमा रहेको जस्तो देखिन्छ। उनले त्यसो गर्नु नै लक्ष्य प्राप्तिको वास्तविक उपाय ठानेको जस्तो देखिन्छ।
पार्टीले दिदैँछ समाधान
बालबालिकाहरू अल्छी भइरहेका छन् र आफ्नो युवा उमेर भिडिओ गेम खेलेर खेर फालिरहेका छन्। त्यसको उपायले पार्टीले खोजेको छ: सीमा तीन घण्टा।
किशोर किशोरीहरू आफ्नो दिमागलाई टेलिभिजनमार्फत कसैको प्रशंसक बनेर विकृत बनाइरहेका छन्। त्यस्को उपाय पनि पार्टीले खोजेको छ: 'किशोरीजस्तो देखिने' केटाहरूलाई कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ।
पाको उमेरको जनसङ्ख्याको वृद्धि: यसमा पनि पार्टीले समाधान निकालेको छ, सबैलाई तीन सन्तानको नीति।
फुटबल, सिनेमा, सङ्गीत, दर्शन, बच्चा, भाषा, विज्ञान.. सबैको जवाफ पार्टीसँग छ।
आफ्ना पिताको मान्यता भन्दा विपरीत
सी जिनपिङलाई अहिलेको नेता केले बनायो भनेर बुझ्न उनको पृष्ठभूमि बुझ्नुपर्ने हुन्छ।
उनका पिता सी जोङसन कम्युनिस्ट पार्टीका युद्ध नायक थिए। उनी मध्यमार्गी नेता थिए जसलाई पछि माओको शासनकालमा पदबाट हटाएर जेलमा राखिएको थियो।
त्यो बेला उनका पितालाई निन्दा गर्न सीकी आमालाई बाध्य पारिएको थियो। सन् १९७८ मा आफ्ना बुवाको पुनर्स्थापना भएपछि उनले गुवाङडुङ प्रान्तमा आर्थिक उदारीकरणमा जोड दिए। उनले चीनका सबैभन्दा प्रगतिशील मध्येका एक नेता खु याबाङको प्रतिरक्षा गरेको पनि विवरणमा जनाइन्छ।
कम्युनिस्ट पार्टीकै कट्टरपन्थीहरूबाट आफ्ना पितामाथि गरिएको दमन र सुधारप्रति आफ्ना पिताको लगावका बाबजुद सी जनपिङले आफ्नै बुबाको विश्वासको विपरीत हुनेतर्फ पार्टीलाई किन डोर्याइरहेका छन् भनेर धेरैले प्रश्न सोधिरहेका छन्।
यसका कैयौँ सम्भावित जवाफहरू छन्।
सम्भवतः निश्चित राजनीतिक विषयवस्तुमा उनी आफ्ना पितासँग सहमत छैनन्।
वा चिनियाँ नेता आफ्ना पिताको प्राथमिकता भन्दा फरक योजनालाई जोड दिएर पनि माओकालीन नीतिहरूको छेउ छेउमा पनि पुग्ने छैनन्। कम्तीमा जानाजान उनले त्यसो गर्नेछैनन्।
तर यो उल्लेखनीय भने देखिन्छ।
उनका पितालाई जेल पठाइँदा सी जिनपिङ १५ वर्षका थिए। उनी एउटा गुफाको घरमा बस्थे भने उनलाई वर्षौँसम्म खेतमा काम गर्न लगाइयो।
त्यो उथलपुथलकारी समयले उनलाई स्पष्ट रूपमा अझ बलियो बनायो।
कतिपय चीन विज्ञहरूले एक जना बलिया नेताले मात्रै चीन सन् ६० र ७० को दशकको अराजकतामा नफर्कने सुनिश्चित गर्नसक्ने उनको विश्वास रहेको हुनसक्ने ठानिरहेका छन्।
र याद राख्नु पर्ने कुरा के हो भने अहिले नियमहरूमा परिवर्तन भएको छ र राष्ट्रपति सी आफूले चाहेसम्म सत्तामा बसिराख्न सक्छन्।
अहिलेको यसरी अनुमान गरेर लेखमा चर्चा गर्नुपर्ने कारण के हो भने हामीले नेता सीले उनले लिएका निर्णयहरूका बारे व्याख्या गरेको कहिल्यै पनि सुन्न पाउँदैनौँ।
चिनियाँ नेताहरूले पार्टीकै आदेश मान्ने नियन्त्रित सञ्चारमाध्यमलाई समेत अन्तरवार्ता दिँदैनन्।

तस्बिर स्रोत, Getty Images
सी जिनपिङ टेलिभिजनमा देखिनका लागि ग्रामीण भेगहरूमा जान्छन् र त्यहाँ उनलाई पहिल्यै सिकाएर तयार राखिएका मानिसहरूले स्वागत गर्छन्। ती मानिसहरूले उनीबाट मकैको खेती र अरू विषयबारे ज्ञान लिन्छन् र उनी त्यहाँबाट फर्कन्छन्।
त्यही भएर चीनमा आर्थिक गतिविधिका लागि कस्तो नयाँ नियम, निषेधाज्ञा वा निर्देशन ल्याइन्छ र त्यो कति परसम्म जान्छ भनेर भविष्यवाणी गर्न गाह्रो छ।
हालैको समयमा चिनियाँ प्रणाली निर्देशित गर्ने कुनै एउटा वा अर्को नियममा परिवर्तन नभई त्यसै बसेको कुनै हप्ता नै छैन।
प्रस्ट भन्नुपर्दा ती कुरा पछ्याउन समेत गाह्रो छ। यी परिवर्तनहरू एकाएक भइरहेका छन्।
उत्पादनका माध्यममाथि यहाँ राज्यले नियन्त्रण गर्ने कुरा आधारभूत समस्या होइन। के बढी प्रभावकारी हो भन्ने बहस गर्ने जिम्मा अर्थविद्हरूको हो। समस्या भनेको अकस्मात् देखापर्ने अनिश्चितता हो।
एक महिनापछि परिवर्तनहरू भएर के कस्ता नियमहरू बन्नेछन् भन्ने थाह भएन भने कसरी कुनै व्यक्तिले लगानी सम्बन्धी निर्णय गर्नसक्छ?

तस्बिर स्रोत, Zhang Peng
अनिश्चितताको अवस्था
कैयौँले देश 'अघि बढिरहेको' प्राकृतिक प्रक्रियाको हिस्साका रूपमा यसलाई लिएका छन्। नियमन नगरिएका क्षेत्रमा नियमहरू ल्याउनुपर्ने अवस्था पनि थियो।
यदि अवस्था यो हो भने मानिसको ध्यान खिच्ने खालको पछिल्लो सङ्क्रमण अस्थायी मात्रै हो र नयाँ नियमहरू स्पष्ट हुन थालेसँगै यो सेलाउँदै जानेछ। तर यी कदमहरूको दायरा कतिसम्म हुन्छ भन्ने प्रस्ट छैन।
एउटा स्पष्ट कुरा के हो भने कुनै पनि परिवर्तनलाई सीले अघि बढाएको 'साझा समृद्धि' को अवधारणासँग जोडेर हेर्नुपर्छ।
उक्त अवधारणा कार्यान्वयन गर्ने क्रममा उनको दलले एक इन्च पनि शक्ति छाड्ने छैन र चीनमा या त तपाईँले यो ट्रकमा सवार हुनुपर्नेछ या यसले तपाईँलाई कुल्चिनेछ।





















