यूके, अमेरिका र अस्ट्रेलियाबीचको नयाँ सम्झौताले 'हतियारको दौडलाई तीव्र बनाउने' चीनको भनाइ

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियान

चीनले अमेरिका, अस्ट्रेलिया र ब्रिटेनबीच भएको नयाँ परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ।

उसले त्यसले पारमाणविक अप्रसार कार्यलाई पनि आघात पुर्‍याउने बताएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि निर्यात गर्ने अमेरिका र यूकेको निर्णयलाई "एकदमै गैरजिम्मेवार कार्य" भनेका छन्।

उनले भने, "यसले गम्भीर रूपमा क्षेत्रीय शान्ति र स्थायित्वलाई हानी गर्नेछ र हतियारको दौडलाई तीव्र बनाउनेछ।"

यूके, अमेरिका र अस्ट्रेलियाले गरेको उक्त परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौता चीन लक्षित रहेको बताइएको छ।

सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिनेछ।

ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबर पक्ष समेट्नेछ।

इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट ती तीन देश चिन्तित छन्।

पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ।

पनडुब्बी

तस्बिर स्रोत, Ministry of Defence

सन् २०१६ मा अस्ट्रेलियाली नौसेनाका लागि १२ वटा पनडुब्बी निर्माण गर्ने ५० अर्ब अस्ट्रेलियन डलर बराबरको ठेक्का हात पार्न फ्रान्स सफल भएको थियो।

यसअघि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले इन्डो-प्यासिफिक क्षेत्र अझ जटिल बनेको र नयाँ सहकार्यले अस्ट्रेलियालाई आफ्नो सुरक्षा आवश्यकता पूर्ति गर्न सहयोग पुर्‍याउने बताएका थिए।

बेइजिङस्थित बीबीसीका एकजना संवाददाताका अनुसार उक्त सम्झौताले गर्दा क्षेत्रीय सैन्य र हतियारको दौड सुरु हुनसक्ते चिन्तालाई बढाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विदेशी शक्तिले धम्काउन खोजे ‘तिनको टाउकोमा प्रहार हुने’