तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोप२६: भारतीय प्रधानमन्त्रीले के त्यस्तो प्रतिबद्धता जनाए जसका कारण भारतमा प्रशंसा भइरहेको छ?
भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जनलाई नेट जिरो बनाउने अर्थात् जति उत्सर्जन गर्यो उति नै परिमाणमा नवीकरणीय ऊर्जाहरूको प्रयोग गरेर सम्भावित उत्सर्जन जोगाउने अवस्थामा पुर्याउने बाचा गरेको छ।
कोप२६ सम्मेलनले भने देशहरूलाई उक्त लक्ष्य सन् २०५० सम्ममा हासिल गर्न सिफारिस गरेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्गोमा घोषणा गरेको नेट जिरोको यो नयाँ लक्ष्य भारतले जनाएको पहिलो प्रतिबद्धता हो।
नेट जिरो अर्थात् कार्बन न्यूट्रल बन्ने भन्नुको अर्थ वायुमण्डलमा हरित गृह ग्यासको मात्रा नथप्नु भन्ने हो।
चीनले भने सन् २०६० सम्ममा कार्बन न्यूट्रल बनाउन आफ्ना योजनाहरू घोषणा गरेको छ।
तर अमेरिका र युरोपेली सङ्घले भने त्यो अवस्थामा सन् २०५० भित्रै पुग्ने लक्ष्य राखेका छन्।
भारतमा 'प्रशंसा' र ग्लास्गोमा 'निराशा'
सन् २०७० सम्ममा नेट जिरोको भारतको लक्ष्यले ग्लास्गोमा विज्ञहरू र अभियानकर्मीलाई निराश तुल्याएको हुनसक्छ तर मोदीले आफ्नो देशका मानिसलाई भने प्रभावित पारेको देखिएको छ।
बीबीसीका विकास पाण्डेले मोदीले एउटा मध्यमार्ग फेला पारेको देखिएको बताए, उनलाई जलवायु परिवर्तनबारे गम्भीर रूपमा हेरिएको छ तर भारतको आर्थिक क्षमतामा कुनै सम्झौता नगरी उनी त्यस्तो देखिएका छन्।
भारतमा धेरै समाचार शीर्षकमा मोदीले गरेको घोषणालाई "ठूलो" र "महत्त्वपूर्ण" भनी व्याख्या गरिएको संवाददाताले जनाएका छन्।
प्रधानमन्त्री मोदीले आफ्नो देशका तर्फबाट पाँच वटा प्रतिबद्धता जनाएका छन्।
त्यसमा सन् २०३० सम्ममा नवीकरणीय स्रोतहरूबाट आधा हिस्सा ऊर्जा उत्पादन गर्ने र त्यही वर्षभित्र कूल प्रक्षेपित कार्बन उत्सर्जनलाई एक अर्ब टनमा घटाउने रहेको छ।
ग्लास्गोमा भइरहेको दुई साता लामो सम्मेलनका लागि भाग लिन विश्वका १२० भन्दा बढी नेताहरू भेला भएका छन्।
सोमवार यूकेका प्रधानमन्त्री बोरिस जोनसन, अमेरिकाका राष्ट्रपति जो बाइडन, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरसलगायत कैयौँ नेताहरूले जलवायु सङ्कटसँग जुध्ने आफ्ना योजनाहरू प्रस्तुत गरेका छन्।
विश्वमा चीन, अमेरिका, युरोपेली सङ्घपछि धेरै कार्बन उत्सर्जन गर्ने चौथो देशमा भारत पर्छ।
तर भारतको ठूलो जनसङ्ख्याको अर्थ प्रति व्यक्ति उत्सर्जन अन्य ठूला अर्थतन्त्र भएका देशको तुलनामा निकै कम हुन्छ।
सन् २०१९ मा भारतले प्रतिव्यक्ति १.९ टन कार्बन डाइअक्साइड उत्सर्जन गर्यो। त्यही वर्ष अमेरिकाले प्रतिव्यक्ति १५.५ टन र रुसले १२.५ टन कार्बन उत्सर्जन गरेको थियो।