टी-२० विश्वकप: भारत आज न्यूजील्यान्डसँग हारे के हुन्छ?

टी-२० विश्वकपमा आज भारत र न्यूजील्यान्डको क्रिकेट टोलीबीच प्रतिस्पर्धा हुँदै छ। र दुवै टोलीका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ।

भारतले हालसालै पाकिस्तानबाट नराम्रो हार बेहोरेको थियो। यस्तो अवस्थामा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अघिल्लो खेलमा भएका गल्तीहरू सुधार्ने बताएका छन्।

समाचार संस्था रोयटर्ससँगको कुराकानीका क्रममा उनले टोली कहाँ चुक्यो भन्ने कुरा आफूहरूले बुझेका बताएका छन्।

दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा भारतीय टोली १० विकेटले पराजित भयो र पाकिस्तान इतिहास रच्न सफल भयो। विश्वकप खेलमा पाकिस्तानसँग भारतको यो पहिलो हार थियो।

कोहलीले आफूहरूले पाकिस्तानी टोलीलाई हल्का रूपमा लिएको भन्ने कुरा पनि अस्वीकार गरेका छन्।

टी-२० विश्व कपमा भारतका लागि न्यूजील्यान्डसँगको प्रतिस्पर्धा निकै महत्त्वपूर्ण हुने छ। सेमिफाइनलसम्म पुग्नका लागि भारतले यो खेल जित्न जरुरी छ।

पछिल्लो अवस्था हेर्दा यो खेल दुवै देशका लागि गर वा मर को स्थिति हुने देखिन्छ।

सेमीफाइनलको बाटो खुल्छ

समूह दुईका यी दुवै टोलीले पाकिस्तानसँगको पहिलो खेलमा हार बेहोरेका थिए। र आजको खेलमा एक अर्कालाई नहराईकन सेमिफाइनलसम्म पुग्न लगभग असम्भव देखिन्छ।

उक्त समूहमा पाकिस्तान, न्यूजील्यान्ड, भारत, नामीबिया, स्कटल्यान्ड र अफगानिस्तान छन्।

पाकिस्तानले समूह चरणको खेलमा भारत, न्यूजील्यान्ड र अफगानिस्तानसँग खेलेको तीन वटै खेल जितेको छ।

शीर्ष स्थानमा रहेको उक्त टोलीले सेमिफाइनलमा आफ्नो स्थान लगभग सुरक्षित गरिसकेको छ।

एउटा समूहबाट दुई वटा टोली मात्रै सेमिफाइनल पुग्छ। जस कारण भारत र न्यूजील्यान्ड दुवैले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नका लागि आज प्रतिस्पर्धा गर्ने छन्।

भारत र न्यूजील्यान्डले अफगानिस्तान, स्कटल्यान्ड र नामिबियासँग खेल्न बाँकी नै छ। यस्तो अवस्थामा आज हुने खेल किन महत्त्वपूर्ण छ त?

अङ्कगणित

भारत र न्यूजिल्यान्ड दुवै बलियो टोली हुन। दुवै देशले अफगानिस्तान, स्कटल्यान्ड र नामिबियासँग जीत निकाले कस्तो स्थिति बन्छ?

यस्तो अवस्थामा दुवै टोलीसँग समान ६-६ अङ्क हुन्छ। तर आज हुने खेलमा भारतले जिते ऊसँग कुल आठ अङ्क हुनेछ।

र यो समूहबाट भारत अनि पाकिस्तानको सेमिफाइनलमा स्थान सुरक्षित हुनेछ। यस्तै सम्भावना जितेको खण्डमा न्यूजील्यान्डसँग पनि हुन्छ।

तर यो समीकरण तब मात्रै बन्छ जब भारत र न्यूजील्यान्डले अफगानिस्तान, स्कटल्यान्ड र नामीबियालाई हराउन सफल हुन्छन्।

तर खेलमा कुनै पनि कुरा निश्चित नुहुने हुँदा तलमाथि हुने सम्भावना सधैँ रहन्छ।

अफगानिस्तानले पाकिस्तानसँगको खेलमा कडा टक्कर दिएको थियो जस कारण उ भारत र न्यूजील्यान्डका लागि चुनौती बन्न सक्छ।

पाकिस्तानले न्यूजील्यान्डलाई हराउनुलाई भारतको पक्षमा रहेको पनि भन्ने गरिएको छ।

न्यूजील्यान्डले पाकिस्तानलाई हराएको भए उसको अहिले नै दुई अङ्क हुन्थ्यो। भारत भने शून्य अङ्कमै रहन्थ्यो।

पाकिस्तानसँग हारेपछि भारतको भविष्य उसको खेलमा मात्रै निर्भर छैन।

अन्य कुन टोलीले कसलाई हराउँछ भन्ने कुरा उसका लागि महत्त्वपूर्ण हुनेछ।

सुपर १२ चरणमा दुवै टोलीको समान अङ्क भए सेमिफाइनलमा स्थान सुरक्षित गर्नका लागि अर्कै तरिका अपनाइने छ जसमा रन रेटको भूमिका अहम हुने छ।