बुद्ध एअरः विमान अवतरण समस्यासम्बन्धी घटनाबारे के भइरहेको छ

निजी वायुसेवा कम्पनी बुद्ध एअरको एउटा विमानमा अवतरणसम्बन्धी सोमवार देखिएको समस्याको सम्बन्धमा आफूहरूले अध्ययन गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

कम्पनीका अनुसार घटनाबारे अध्ययन गर्न उसले एउटा आन्तरिक छानबिन समिति गठन गरेको छ।

"उहाँहरूले उडानसम्बन्धी जुन तथ्याङ्क उपलब्ध गराउनुभएको छ त्यसमा कतै केही छ कि भनेर हामीले हेर्दैछौँ, केलाउँदैछौँ," प्राधिकरणका निमित्त निर्देशक राजकुमार क्षेत्रीले बीबीसी न्यूज नेपालीसँग भने।

"त्यसमा थप केही गर्नुपर्ने रहेछ भने हामी गर्छौँ।"

बुद्ध एअरले के गर्दैछ?

कम्पनीका सञ्चार व्यवस्थापक दिपेन्द्रकुमार कर्णका अनुसार सोमवारको घटनाबारे अध्ययन गर्न सेफ्टी म्यानेजर कप्तान अनन्तमान डङ्गोलको नेतृत्वमा समिति गठन गरिएको छ।

"के कसो भएको हो भन्ने विषयमा अध्ययन गरी समितिले तीन दिनभित्र नागरिक उड्डयन प्राधिकरणलाई प्रतिवेदन बुझाउनेछ," कर्णले बीबीसी न्यूज नेपालीसँग भने।

सोमवार समस्या देखिएको विमान आवश्यक प्राविधिक जाँचपछि पुनः उडानमा फर्किएको बुद्ध एअरले जनाएको छ।

प्राविधिक पक्षबारे आवश्यक रिपोर्ट अनाउँदै विमानलाई पुनः सञ्चालनमा ल्याइएका भन्ने विवरणको कम्पनी र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले खण्डन गरेका छन्।

"हामीले सबै निरीक्षणहरू गर्दा 'नो फल्ट फाउन्ड' स्टाटस पायौँ। त्यसपछि जहाज पुनः उडानमा ल्याएका हौँ," कर्णले भने।

उनले थपेः "नेपाल नागरिक उड्ययन प्राधिकरणले स्वीकृति नदिएसम्म हामीले जहाज उडाउनै मिल्दैन।"

प्राधिकरणका निमित्त निर्देशक क्षेत्रीले पनि आवश्यक प्रक्रिया नपुर्‍याइ जहाज उडाइएको कुरा अस्वीकार गरे।

"प्रक्रिया पुर्‍याएरै उहाँहरूले जहाज उडाउनुभएको हो। त्यसै त उडाउने कुरै भएन," क्षेत्रीले थपे।

सुरक्षाबारे संवेदनशील नभएको भन्दै कतिपयले खासगरी सामाजिक सञ्जालमा बुद्ध एअरको आलोचना गरिरहेका छन्।

सोमवार के भएको थियो?

काठमाण्डूबाट विराटनगरका लागि सोमवार बिहान उडेको बुद्ध एअरको एउटा विमानलाई पुनः काठमाण्डू नै फर्काएर अवतरण गराउनु परेको थियो।

बुद्ध एअरका अनुसार विमानको ल्यान्डिङ गिअरको एउटा इन्डिकेटरले सङ्केत नगरेपछि विमानलाई फर्काइ त्यसमा रहेको इन्धन कम गर्न काठमाण्डूको आकाशमा फन्को मार्न लगाएर अवतरण गराइएको थियो।

चालक दलका सदस्यबाहेक ७३ जना सवार बुद्ध एअरको विमान बिहान ८ बजेर ३५ मिनेटमा काठमाण्डूबाट उडेको थियो।

प्राधिकरणका निमित्त निर्देशक क्षेत्रीका अनुसार विराटनगर नजिकको आकाशबाट फर्काइएको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजेर २७ मिनेटमा अवतरण गराइएको थियो।