ओमान शृङ्खला: विश्वकप लीगको प्रतिस्पर्धामा टिकिरहन नेपालले अब के गर्नुपर्छ

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

ओमान भ्रमणमा जानुअगाडि नेपाली क्रिकेट टोलीसामु थुप्रै चुनौती थिए।

पूर्वकप्तान पारस खड्काको संन्यास, कोरोनाभाइरस सङ्क्रमणबीच गरिएको अपूरो तयारी अनि भ्रमणमा निस्कने बेला प्रशिक्षक डेव ह्वाटमोरको राजीनामा घोषणा।

यी अन्योलबीच सात राष्ट्रबीचको प्रतिस्पर्धामा छैटौँ स्थानमा रहेको नेपालले अमेरिका र ओमानविरुद्ध सफल नतिजा निकाल्नुपर्ने चुनौती थियो।

र, चार खेलको शृङ्खला र दुई मैत्रीपूर्ण खेल समेतको समाप्तिपछि समग्रमा नेपालको प्रदर्शन सफलता/असफलताको सम्मिश्रण बनेको देखिन्छ।

केही आलोचना विशेषत: ब्याटिङ क्षेत्रमा नेपालले 'अझ धेरै सुधार' गर्नुपर्ने फेरि पनि देखिएको छ।

यद्यपि नेपालले केही कीर्तिमान रच्दै केही खेलमा अविस्मरणीय प्रदर्शन गरेको छ।

विक्रम शोब र गुलशन झाको रूपमा दुई नयाँ खेलाडी राष्ट्रिय टोलीले पाएको छ।

र, टोली विश्वकप लीग २ को चौथो स्थानमा उक्लिएर नेपालले भ्रमण सफल बनाएको देखिएको छ।

नेपाली ब्याटिङ

रोहितकुमार पौडेलको राष्ट्रिय टोलीमा 'कम ब्याक' भ्रमणको राम्रो पक्ष बनेको देखियो।

कोरोनाभाइरस महामारीका कारण १७ सदस्यीय टोली बन्नु र त्यसै बेला मध्यक्रमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले चोट बोकेको मौकामा पौडेलले आफूलाई मजाले प्रमाणित गरे।

मध्यक्रममा उनले आफूलाई स्थापित गरे भन्दा फरक पर्दैन।

टी-२० को सफलतापछि कुशल भुर्तेल र आशिफ शेखले एक दिवसीयमा पनि प्रारम्भिक जोडीको रूपमा आफूहरू योग्य रहेको विश्वास दिलाए।

यद्यपि ब्याटिङ उतारचढाव भने भइरहेकै देखियो।

खासगरी ओमान र अमेरिकासँग लगातार दुई खेल हारेपछि कप्तान ज्ञानेन्द्र मल्लको टोलीको आलोचना भएको थियो।

भविष्यको आशाको रूपमा हेरिएका कुशल मल्ल शृङ्खलाभरि नै कमजोर खेल्दा वा विनोद भण्डारी लगायत ९ नम्बरसम्म ब्याटिङ गर्न योग्य भनिएका खेलाडीहरूले छताछुल्ल ब्याटिङ गर्दा समर्थकहरू आक्रोशित बनेका देखिएको थियो।

प्रशिक्षक राजु बस्नेतका अनुसार ओमान भ्रमणले नेपाली टोलीको ताजा अवस्था जाँच्ने राम्रो आधार दिएको छ।

"खेलाडीहरूमा लामो ओभरको म्याचको अभ्यास पुगेको देखिएन। खेलाडीहरूले सम्भावना त देखाएका छन्, तर प्रयोग गर्ने बेलामा केही नपुगेको स्पष्ट महसुस गर्न सकिन्थ्यो।"

उनका अनुसार घरेलु क्रिकेटमा पनि २० ओभरको खेलमा मात्र अभ्यस्त हुनु परिरहेका खेलाडीहरूलाई अब दुई दिने/चार दिने प्रतियोगिताको ज्यादै आवश्यकता छ।

उनी थप्छन्, " बलिङमा खेलाडीहरू जति आत्मविश्वासका साथ उत्रिन्छन् , त्यो आत्मविश्वास ब्याटिङमा पनि आउनु अत्यन्त जरुरी छ।"

त्यसका निम्ति ओमान, अमेरिकाजस्तो स्तरको प्रतिद्वन्द्वीसँग धेरैभन्दा धेरै अभ्यास गराउनु आवश्यक रहेको बस्नेत बताउँछन्।

नेपाल छोड्दै गर्दा प्रशिक्षक डेव ह्वाटमोर पनि युवा खेलाडीहरूबाट आशावादी देखिए।

उनले रोहित पौडेल र ओपनिङ जोडीमा जमेका कुशल/आशिफको खुलेर तारिफ गरे।

जाँदाजाँदै नेपाल क्रिकेट सङ्घलाई उनको सुझाव थियो, "आईसीसीको इभेन्टस् मात्र पर्खेर नबसौँ। एक दिवसीय खेलको आफै आयोजना गर वा भ्रमणमा निस्किन। नतिजा आउने पक्का छ। "

विक्रम र गुलशनको आगमन

बलिङमा सन्दीप लामिछानेले आशा गरिए जस्तै प्रदर्शन गरे।

भ्रमण सकिनै लाग्दा करण केसी ओमान विरुद्धको खेलमा शानदार रूपमा विपक्षीविरुद्ध हाबी भए।

प्रशिक्षक बस्नेत भन्छन्, "सन्दीपलाई बलिङमा साथ दिने विश्वासिलो बलरको आवश्यकता हुन्छ। करणको साथमा ओमानविरुद्ध पाएको जित त्यसकै नतिजा हो। तर धेरै खेलमा सन्दीप एक्लै परेका छन्। त्यो राम्रो होइन। "

उनका अनुसार टोलीमा सन्दीपजस्तै लेफ्ट आर्म स्पिनर बढी प्रयोग भएको छ। विकल्पमा 'अफ स्पिनर'हरू पनि खोजिनुपर्ने उनी सुझाव दिन्छन्।

विक्रम शोब र गुलशन झाले यसै शृङ्खलामा राष्ट्रिय जर्सी लगाउने मौका पाए। शोबले पपुवा न्यू गिनीविरुद्ध नै मौका पाएका थिए।

मौकाको सदुपयोग गर्दै उनले आफूलाई सोमपाल कामी र करण केसी पछिको सम्भावनाको रूपमा उभ्याउन सकेको देखिएको छ।

सत्र वर्षीय गुलशन झा को 'इन्ट्री' अलि चाँडै भएको भनिए पनि अमेरिकाविरुद्ध पाएको एक मौकामा उनले टोलीलाई निराश पारेनन्।

तर 'बलिङ अल राउण्डर' का रूपमा उनले अझै धेरै गर्न बाँकी देखिन्छ।

समग्रमा कोरोनाभाइरस महामारीका कारण झन्डै दुई वर्षदेखि खुम्चिएर बसेका खेलाडीहरूले लामो समयपछि गरेको विदेशमा भएको खेलमा सन्तोष मान्ने ठाँउहरू धेरै छन्।

कप्तान ज्ञानेन्द्र मल्लको लगातार दुई अर्ध शतक,ओमानविरुद्ध दबावपूर्ण बलिङ, लामिछानेको उम्दा प्रस्तुति, ज्ञानेन्द्र/आशिफको कीर्तिमानी साझेदारी, रोहित पौडेलको 'कमब्याक'सँगै नेपाली टोली कुल ४ अङ्क जोडेर विश्वकप लीग २ को चौथो स्थानमा उक्लिएको छ।

लीग टू को थुप्रै परीक्षा त बाँकी नै छ।

त्यसमा ओमान भ्रमण नेपालको लागि राम्रो पाठ बन्ने देखिन्छ।