ओकस: सुरक्षा सम्झौतामा असन्तुष्ट फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट राजदूत फिर्ता गर्ने

पनडुब्बी

तस्बिर स्रोत, Reuters

यूके, अमेरिका र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताको विरोधमा फ्रान्सले अमेरिका र अस्ट्रेलियामा रहेका आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउने तयारी अघि बढाएको छ।

फ्रान्सले राजदूतहरूलाई छलफलका लागि फिर्ता बोलाउन लागिएको जनाएको छ।

फ्रान्सका विदेशमन्त्रूले यसलाई "असाधारण परिस्थितिको असाधारण निर्णय" भनेका छन्।

अस्ट्रेलिया, यूके र अमेरिका संलग्न 'ओकस' भनिने त्रिदेशीय गठबन्धनले अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउन प्रविधि उपलब्ध गराउने सम्झौता गरेका हुन्।

सम्झौतासँगै अस्ट्रेलियाले पनडुब्बी खरिद गर्ने फ्रान्ससँगको अर्बौँ डलरको सम्झौता खारेज हुने जनाएपछि प्यारिस रुष्ट बनेको छ।

दक्षिणी चीनको समुद्रमा चिनियाँ प्रभाव कम गर्ने कदमको रूपमा यो सम्झौतालाई हेरिएको छ।

केही घण्टाअघि मात्रै जानकारी

अमेरिकी राष्ट्रपति जो बाइडन, यूकेका प्रधानमन्त्री बोरिस जोनसन र उनका अस्ट्रेलियन समकक्षी स्कट मरिसनले बुधवार घोषणा गरेका सम्झौताबारे फ्रान्सलाई केही घण्टाअघि मात्रै जानकारी दिइएको थियो।

फ्रान्सका विदेशमन्त्री जाँ यिभ ल द्रियाँले शुक्रवार जारी गरेको एक वक्तव्यमा सम्झौतालाई "पछाडिबाट हानिएको छुरा" सँग तुलना गरिएको छ।

वक्तव्यमा उनले राष्ट्रपति एमानुएल माक्रोँको आग्रहमा राजदूतहरू फिर्ता बोलाउन लागिएको उल्लेख गरेका छन्।

"हाम्रा सहयोगी र साझेदारबीचको अस्वीकार्य व्यवहारले हाम्रा सहयोगीहरूको निम्ति हामीसँग भएको दृष्टि र युरोपका लागि इन्डो-प्यासिफिक क्षेत्रमा हाम्रो साझेदारी प्रभावित गरेको छ," ल द्रियाँले सम्झौताबारे भनेका छन्।

सहयोगी देशहरूबीच राजदूत फिर्ता बोलाउने कार्य निकै अस्वाभाविक मानिन्छ।

फ्रान्सले यी दुई राष्ट्रबाट सम्भवतः पहिलो पटक आफ्ना राजदूत फिर्ता बोलाएको ठानिएको छ।

शुक्रवारका लागि तय गरिएको अमेरिका र फ्रान्सबीच सहकार्यको स्मरणमा मनाइने एउटा उत्सव वाशिङ्टनस्थित फ्रान्सेली कूटनीतिज्ञले यसअघि नै स्थगित गरिसकेका थिए।

फ्रान्सलाई ठूलो आर्थिक क्षति पुग्नेगरी अस्ट्रेलियाले चालेको कदमबाट प्यारिस क्रुद्ध भएको छ।

पनडुब्बी

तस्बिर स्रोत, Getty Images

'पहिलो पटक आफ्ना राजदूत फिर्ता'

फ्रान्सेली अधिकारीहरू यूके सहितका तीन देशहरू सहभागी भएको सम्झौता सुरक्षासम्बन्धी भएको र आफूहरूलाई केही घण्टाअघि मात्रै त्यसबारे जानकारी गराइएकोमा चकित भएका थिए।

फ्रान्सले यसरी राजदूत नै फिर्ता बोलाएको घटना यसअघि कहिल्यै नभएको बताइएको छ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार फ्रान्स अमेरिकाको "सबैभन्दा पुरानो सहयोगी" हो। असहमतिहरू समाधान गर्न वाशिङ्टनले फ्रान्ससँग छलफल गर्ने ती अधिकारी बताउँछन्।

सहयोगीहरूसँग निकट रहेर काम गर्ने वाचा गरेको अमेरिकी प्रशासनले यसलाई हलुका रूपमा लिएको देखिन्छ।

सम्झौतासँगै अस्ट्रेलिया पनि परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बी राख्ने सातौँ देश बन्नेछ।

सँगसँगै उसले परिष्कृत साइबर क्षमता, आर्टिफिशिल इन्टेलिजन्ससहित समुद्रमुनि प्रयोग हुने अन्य प्रविधिहरूमा पहुँच पाउनेछ।

यसको घोषणासँगै फ्रान्ससँग १२ वटा पनडुब्बी किन्ने अस्ट्रेलियाको ३७ अर्ब अमेरिकी डलरको सम्झौता समाप्त भएको छ।

यता चीनले सम्झौतामा सहभागी तीन राष्ट्रहरूलाई "शीतयुद्धको मानसिकता" कायम राखेको आरोप लगाएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरियाले किन क्षेप्यास्त्र प्रक्षेपण गरिरहन्छ