नेपाली बजारमा नक्कली औषधि र स्वास्थ्य सामग्रीको बिगबिगी, बच्न उपभोक्ताले के गर्ने?

एउटा भारतीय औषधि कम्पनीको उत्पादन गरेको र नेपाली बजारमा आइपुगेको एन्टिबायोटिक नक्कली पाइएपछि नेपालमा गुणस्तरहीन औषधि र स्वास्थ्य सामग्री विक्री भइरहेको हुनसक्ने चिन्ता व्यक्त हुन थालेको छ।

बजारमा गुणस्तरहीन स्यानिटाइजर र मास्कलगायतका सामग्री भेटिएको खबरमाझ नक्कली औषधि पाइएको विवरण आएको हो।

भारतको गुजरातमा मुख्य कार्यालय रहेको युमेडिका ल्याबरोटरिजले उत्पादन गरेको एउटा औषधि "नक्कली" भेटिएपछि उक्त औषधिको विक्री-वितरणमा सरकारले प्रतिबन्ध लगाइदिएको छ।

तर उपभोक्ता अधिकारकर्मीले अझै बजारमा गुणस्तरहीन र नक्कली औषधि हुनसक्ने चिन्ता व्यक्त गर्दै सरकारी अनुगमनको प्रभावकारितामाथि प्रश्न उठाएका छन्।

यद्यपि सरकारी अधिकारीहरू औषधि र स्वास्थ्य सामग्री नियमनका लागि पर्याप्त जनशक्ति नभएको बताउँछन्।

यसरी खुल्यो नक्कली औषधिको रहस्य

नेपालमा औषधिको नियामक निकाय औषधि व्यवस्था विभाग हो।

उसका अनुसार युमेडिको कम्पनीको युजोलाइन-१००० नामक एन्टिबायोटिक औषधिको लेबलमा अर्कै औषधि राखेर बजारमा विक्री गरेको पाइएको थियो।

"लेबल लगाएकोमा 'सेफोरक्सिन'वालाको लेबल लगाएछ तर भित्र चाहिँ सेफाजोलिन भन्ने उत्पादन राखेछ," विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने।

विभिन्न सङ्क्रमणबाट बच्न र शल्यक्रियाका बेलामा समेत प्रयोग हुने उक्त औषधि नै नक्कली हुनु भनेको "गम्भीर गल्ती" भएको उनको भनाइ छ।

तर उत्पादक नेपालको नभएकाले त्यो औषधि विक्रीमा मात्र प्रतिबन्ध लगाइएको अधिकारीहरूको भनाइ छ।

ढकालका अनुसार काठमाण्डू उपत्यकाको एउटा औषधिपसलेले एउटा औषधिको लेबलमा अर्को औषधि आएको पत्ता लगाएका थिए।

ती पसलेले विभागलाई जानकारी गराएपछि अनुगमन गर्दा पुष्टि भएपछि कारबाही गरिएको हो।

"काठमाण्डूको अनुगमनमा नै २६ वटा जति त्यस्तो अवस्था पाइयो," उनले भने।

उपभोक्ता अधिकारकर्मी के भन्छन्

उक्त औषधि मात्र होइन बजारमा नक्कली र गुणस्तरहीन स्यानिटाइजर र मास्कहरू पनि भेटिएको विवरणहरू आइरहेका छन्।

विभागका अधिकारीहरूले भने त्यसबारे पटकपटक सूचना निकालेर सचेत बनाएको बताएका छन्।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ नेपालमा गुणस्तरहीन र मिति सकिएका औषधिहरू भित्रिरहेको भेटिने गरेको बताउँछन्।

"नेपाल विदेशका गुणस्तरहीन र मिति सकिएका औषधिको डम्पिङ साइट बनेको छ, औषधिको विषयमा सरकारले काम गर्नुपर्ने हो त्यो गरेको देखिँदैन," उनले भने।

उनी औषधिको विषयमा उपभोक्ता मात्र सचेत भएर पनि नहुने उनको भनाइ छ।

"औषधिको विषयमा ता चिकित्सकदेखि स्वास्थ्यकर्मी र विक्रेतासम्म इमानदार भए मात्र हुने हो। उपभोक्ताले गर्नसक्ने कुरा कम हुन्छन्," उनले भने।

विक्रेता र उत्पादक के भन्छन्

नेपाली औषधि उत्पादक र विक्रेता भने बजारमा हल्ला भएजस्तो धेरै नक्कली औषधिहरू नभएको दाबी गर्छन्।

तर केही गलत व्यक्तिहरूले दर्ता नभएका औषधिहरू बजारमा ल्याएको हुनसक्ने उनीहरूको भनाइ छ।

नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले भने, "नेपालमा दर्ता भएका औषधि पसलहरूले विनादर्ताका औषधि बेच्दैनन्। अरूमा जेजस्तो भए पनि औषधिमा नेपालभरि नै मूल्य पनि एकरूप नै छ। बिनादर्ताका दुई-चार व्यक्तिहरूले गरे भने पनि दर्तावालाले गर्दैनन्।"

उनले सङ्घले आफ्ना सदस्य कसैले नक्कली औषधि बेचेको वा कुनै गलत काम गरेको पाइए सदस्यता खारेज गरिने र कारबाहीका लागि सिफारिस गरिने बताए।

औषधि उद्योगीहरूको संस्था एसोशिएसन अफ फार्मस्युटिकल प्रोडक्टस अफ नेपाल (एप्पोन) का निवर्तमान अध्यक्ष नारायण क्षेत्रीले नेपालमा खुला सीमा भएकाले पनि विदेशबाट गुणस्तरहीन औषधि भित्रिने गरेको बताए।

उनी बजारमा नक्कली औषधि भेटिएकोबारे सरकारी निकायमा जानकारी गराउँदा अनुगमनका लागि औषधि व्यवस्था विभागमा पर्याप्त जनशक्ति नहुँदा समस्या देखिएको जबाफ आउने गरेको बताउँछन्।

क्षेत्रीले भने, "नेपालका ६०-७० वटा उद्योग छन्। ती उद्योगलाई अनुगमन गर्न त समस्या भएन, तर भारतबाट आउने औषधिको विभागले अनुगमन गर्न सकेको छैन। त्योअनुसार नीति पनि छैन। जनशक्ति पनि देखिँदैन।"

जनशक्ति अभावको कुरालाई विभागका महानिर्देशक ढकाल पनि स्वीकार्छन्।

उनी नियमनलाई प्राथमिकता राखेर बजेट र जनशक्तिको व्यवस्थापन हुनुपर्ने आवश्यकता देख्छन्।

कसरी जोगिने?

सरकारी अधिकारी, व्यवसायी र उपभोक्ता अधिकारकर्मीका भनाइमा औषधि सक्कली हो वा नक्कली चिन्नका लागि उपभोक्ताको भन्दा अरूको भूमिका बढी हुने गर्छ।

त्यसका लागि औषधि सिफारिस गर्ने चिकित्सक, औषधि बिरामीलाई दिने नर्सदेखि औषधि पसले पनि सचेत हुनुपर्ने महानिर्देशक ढकालको भनाइ छ।

तर उपभोक्ता सचेत भएमा पनि केही कैयौँ अवस्थामा नक्कली औषधि वा स्वास्थ्य सामग्रीको फन्दामा पर्नबाट बच्न सकिने उनीहरूको भनाइ छ।

उनीहरूले दिएका सुझावअनुसार उपभोक्ताले नक्कली औषधि र स्वास्थ्य सामग्रीबाट बच्न गर्नुपर्ने कामहरू:

  • औषधि किन्दा जहिले पनि त्यसको लेबल हेर्ने। लेबल मेटिएको वा पछि छाप लगाएको जस्तो देखिएमा त्यस्तो औषधि नलिने
  • औषधि किन्दा उपभोग्य मिति जहिले पनि हेर्ने
  • औषधिको नाम र ब्याच नम्बर उल्लेख गरेर बिल लिने गर्ने। त्यसले गर्दा यदि नक्कली औषधि परेको खण्डमा उजुरी गर्ने प्रमाण हुन्छ
  • कुनै औषधि नक्कली वा गुणस्तरहीन भएको शङ्का लागेमा औषधि व्यवस्था विभाग, नजिकैको प्रहरी वा स्थानीय तहमार्फत जानकारी दिने र उजुरी गर्ने।

यो पनि हेर्नुहोस्