नेपाल राजनीतिः संसद्‌मा एमालेको 'अवरोधका माझ अघि बढ्ने सहमति’ बालुवाटारमा

संसद बैठक

तस्बिर स्रोत, RSS

संसदीय अभ्यासको सामान्य प्रक्रियामा अस्वाभाविक ठानिने ढङ्गले सरकारले प्रतिनिधि सभामा बजेट सम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गरेको छ।

सबैभन्दा ठुलो दल नेकपा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका बेला सभामुखले अर्थमन्त्रीलाई उक्त बाटो खुला गरिदिएका हुन्।

अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटका केही विषय फेरबदल गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।

विधेयक प्रस्तुत गरिएपछि सभामुख अग्निप्रसाद सापकोटाले आइतवारसम्मको निम्ति प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

बैठकपछि अर्थमन्त्री शर्माले विपक्षी दल एमालेसँग सहमतिको प्रयास विफल भएपछि संविधानको व्यवस्थाअनुसार सरकारले विधेयक प्रस्तुत गरेको प्रतिक्रिया दिए।

एमाले क्रुद्ध

यसअघि पटकपटक एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकालाई लिएर चर्को असन्तुष्टि प्रकट गर्दै आएका छन्।

आफूले निष्कासन गरेका सांसदबारे को सूचना जारी नगरेको भन्दै एमालेले माधव नेपाल पक्षका सांसदलाई गैर सांसद भन्दै आएको छ र उनीहरूको उपस्थितिमा बैठक चल्न नदिने घोषणा गरेको छ।

त्यसैअनुसार नै एमालेले बैठकमा नाराबाजी गर्दै आएको हो।

अर्थमन्त्री जनार्दन शर्मा

तस्बिर स्रोत, RSS

विरोध र नाराबाजी भइरहँदा सत्ताधारी र विपक्षी सबै पार्टीका प्रमुख नेताहरू बैठकमा सहभागी थिए।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले सहमतिको आधारमा अघि बढ्नुपर्ने बताउँदै भने, “यो राम्रो होइन।”

सामान्यता एकजना सांसदले समेत उभिएर विरोध जनाउँदा त्यसलाई संसद् अवरोध मान्ने मान्यता पाइन्छ।

बालुवाटारमा योजना

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका अनुसार एमालेले शुक्रवारको संसद् बैठक पनि अवरोध गर्ने योजनाबारे सत्तापक्षले पूर्वानुमान गरेको थियो।

त्यसबारे बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता पक्षीय गठबन्धनको बैठकमा छलफल भएको थियो।

बीबीसीसँग कुरा गर्दै पौडेलले भनिन्, “एमालेले अवरोध गरे पनि विधेयकहरू पेस गरेर अघि बढ्ने सहमति बालुवाटारमै बनेको थियो।”

राष्ट्रिय सभामा पनि एमालेले विरोध जनाए पनि प्रतिनिधि सभामा जस्तो खिचातानी भएन।

गृहमन्त्रीले त्यस बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरेका छन्।

अर्थमन्त्री शर्मा भने प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्न दौडिएर गएको देखिएको थियो।