अफगानिस्तान द्वन्द्वः फेसबुकद्वारा तालिबान समूहसँग सम्बन्धित सामग्रीमा प्रतिबन्ध लगाएको पुष्टि

फेसबुकले तालिबान र उक्त लडाकु समूहलाई समर्थन गर्ने सबै सामग्रीमाथि प्रतिबन्ध लगाएको बताएको छ।

तालिबानलाई आफूले आतङ्कवादी संस्था मानेका कारण त्यस्तो गरिएको फेसबुकको भनाइ छ।

फेसबुकले तालिबानसँग सम्बन्धित सामग्री पहिचान गर्न र हटाउन अफगान विज्ञहरूको समूह बनाएको बताएको छ।

तालिबानले वर्षौँदेखि सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो सन्देश प्रवाह गरिरहेको छ।

तीव्र गतिमा अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि प्रविधि कम्पनीहरूलाई तालिबानका सामग्रीलाई कसरी हेर्ने भन्ने कुरामा समस्या परेको छ।

कसरी गरिन्छ पहिचान?

"अमेरिकी कानुनले तालिबानलाई आतङ्ककारी संस्था मान्छ र हामीले उनीहरूलाई हाम्रो सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएका छौँ। यसको अर्थ उनीहरू वा उनीहरूका लागि बनाइएका अकाउन्टहरू बन्द गर्ने, र उनीहरूको प्रशंसा, समर्थन वा प्रतिनिधित्व गर्ने सामग्री हटाउने हो," फेसबुकका एक प्रवक्ताले बीबीसीलाई भने।

"हामीसँग पाश्तो र दारी मातृभाषा भएका र अफगानिस्तानको स्थानीय विषय बुझेका विज्ञहरूको एउटा समूह छ जसले त्यस्ता कुराहरूको पहिचान गरेर हामीलाई सचेत गराउँछन्," उनले भने।

फेसबुकले यो नीति इन्स्टाग्राम र ह्वाट्सएपमा पनि लागु हुने बताएको छ।

तर तालिबानले सन्देश आदानप्रदानका लागि ह्वाट्सएप प्रयोग गरिरहेको विवरणहरू आएका छन्।

फेसबुकले बीबीसीलाई ह्याट्सएपमा तालिबानसँग सम्बन्धित अकाउन्ट जानकारीमा हटाउने बताएको छ।

अरू सञ्जालले के गर्लान्?

अन्य सामाजिक सञ्जालहरू पनि तालिबानसम्बन्धी सामग्रीको बारेमा निर्णय गर्न दबावमा परेको बताइएको छ।

तालिबानका प्रवक्ताले ट्विटरमार्फत् समूहको गतिविधि जानकारी गराउँदै आएका छन्।

बीबीसीको प्रश्नमा ट्विटरका एक प्रवक्ताले हिंसात्मक संस्था र घृणायुक्त व्यवहारलाई नसहने नियम रहेको बताए।

नियममा ट्विटरले आतङ्कवाद र नागरिकविरुद्ध हिंसा प्रवर्धन गर्ने सामग्री राख्न अनुमति दिँदैन।

यूट्यूबले भने तालिबानसम्बन्धी सामग्रीको बारेमा बीबीसीको प्रश्नको उत्तर दिएको छैन।

यो पनि हेर्नुहोस्