चीनमा क्यानडाली व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल सजाय

चीनको एउटा अदालतले क्यानडाका एक व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल सजाय सुनाएको छ।

सन् २०१८ देखि हिरासतमा रहेका माइकल स्पाभोर अर्का क्यानडाली नागरिक माइकल कोभ्रिगसँगै पक्राउ परेका थिए।

यो फैसलाले क्यानडा र चीनबीच कठिन बनेको सम्बन्ध परीक्षण गर्ने मानिएको छ।

चीनले अमेरिकाले सुपुर्दगी चाहेको ह्वावेईकी कार्यकारी प्रमुख मङ वान्जूलाई क्यानडाबाट छुटाउने प्रयत्न गरिरहेको छ।

आलोचकहरूले चीनले स्पाभोर र कोभ्रिगलाई अपराधका लागि नभई मङलाई छुटाउने प्रयत्नका लागि गिरफ्तार गरेको दाबी गर्छन्।

बुधवार प्रकाशित एउटा विज्ञप्तिमा डान्डोङ अदालतले भनेको छ: "जासुसी र राज्यका गोप्य कुरा विदेश पुर्‍याएको अपराधका लागि स्पाभोरलाई ११ वर्षको जेल, ५०,००० युआन बराबरको निजी सम्पत्ति जफत र देशनिकालाको सजाय तोकेको छ।"

विज्ञप्तिमा स्पाभोरलाई कहिले देशनिकाला गरिन्छ भनेर तोकिएको छैन। सामान्य रूपमा चीनले विदेशीलाई जेल सजाय पूरा गरेपछि मात्रै देशनिकाला गर्छ।

चीनका लागि क्यानडाका राजदूत डोमिनिक बार्टनले बुधवार फैसलाको "भर्त्सना" गरेका छन्।

"पुनरावेदनमा जाने मौका छ," उनले अदालतबाहिर भनेको एएफपीले बताएको छ।

बन्द अदालतमा सुनुवाइ

क्यानडामा मङ गिरफ्तार भएको केही दिनपछि सन् २०१८ मा स्पाभोरलाई जासुसीको आरोपमा गिरफ्तार गरिएको थियो।

मार्चमा भएको पहिलो सुनुवाइमा कुनै फैसला भएन।

सो समयमा क्यानडाका कूटनीतिज्ञहरूलाई समेत अदालतमा प्रवेश दिइएको थिए।

स्पाभोर उत्तर कोरियासँग अन्तर्राष्ट्रिय व्यापार र सांस्कृतिक सम्बन्धका लागि सहयोग गर्ने पेक्टू कल्चरल एक्स्चेन्जका संस्थापक सदस्य हुन्।

कोभ्रिगको मार्चमा नै छुट्टै सुनुवाइ भयो तर कुनै फैसला गरिएन।

मङ्गलवार अर्का क्यानडाली नागरिकले लागुपदार्थ तस्करीका लागि तोकिएको मृत्युदण्डविरुद्धको पुनरावेदनमा हारेका थिए।

अदालतले रोबर्ट लोयड शेलेन्बर्गको सजाय कायम राख्न यथेष्ट प्रमाण भएको बताएको थियो।

शेलेन्बर्गलाई सुरुमा १५ वर्षको सजाय तोकिएको थियो तर त्यसको केही दिनमा क्यानडाले अमेरिकी सुपुर्दगीपुर्जीको आधारमा मङलाई गिरफ्तार गर्‍यो।

सो समयमा चीनले मङलाई मुक्त नगरिए त्यसको मूल्य चुकाउनुपर्ने चेतानी दिएको थियो।

शेलेन्बर्गले जेल सजायविरुद्ध पुनरावेदन गरे तर न्यायाधीशले उनको सजाय घटाउनुको साटो उनलाई मृत्युदण्डको सजाय तोके।

सुनुवाइको क्रममा न्यायाधीशहरूले शेलेन्बर्ग अन्तर्राष्ट्रिय लागु औषध तस्करीमा गम्भीर रूपमा संलग्न भएको बताएका थिए।

राजदूत बार्टनले मङको फैसला आउने बेला शेलेन्बर्गको फैसला आउनु कुनै संयोग नभएको बताएका छन्।

मङको सुनुवाइ साढे दुई वर्षको कानुनी लडाइँको पटाक्षेपका रूपमा हुन लागेको छ।

मङ वान्जू चीनको अग्रणी टेलिकम कम्पनी ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख र सोही कम्पनीका संस्थापककी छोरी हुन्।

ह्वावेई सञ्चार सामग्री र सेवा प्रदान गर्ने संसारकै सबैभन्दा ठूलो कम्पनी हो।