टोक्यो ओलिम्पिक्स: कोभिडबाहेक प्रचण्ड गर्मी, अत्यधिक वर्षा र तुफानको खतरा

टोक्योस्थित आर्चरी पार्कमा चर्को घामका कारण खराब मौसम भन्दै खेल स्थगित गरिँदा ओलिम्पिक खेलाडीहरू अचम्ममा परेका हुन सक्छन्।

अति घाम र तापक्रम ३० डिग्रीभन्दा बढी भएपछि एक जना प्रतिस्पर्धी बेहोस भइसकेका छन्।

तर योभन्दा ठूलो समस्याको रूपमा अहिले अत्यधिक वर्षा र खतरनाक आँधी हो जसले कुनै एउटा खेललाई नभई पूरै खेल तालिकालाई प्रभावित पारेको छ।

यसले धेरै मानिसको मनमा प्रश्न उब्जाएको छ: के अत्यधिक गर्मी, हावाहुरी वा वर्षाले समयमा जापानमा ओलिम्पिक्स आयोजना गर्न आवश्यक थियो?

शक्तिशाली आँधी

टोक्यो ओलिम्पिक्सका लागि आँधीसम्बन्धी एउटा जानकारी भाग्यशाली हुनसक्छ।

नेपार्टक नामको आँधी टोक्योमा नआउने र तुलनात्मक रूपमा कम मात्रै वर्षा हुने बताइएको छ।

दुई वर्षअघि रग्बी विश्वकप आयोजना गरिरहँदा शक्तिशाली आँधी हगिविस पूर्व तटीय क्षेत्रमा आउँदा जापान यति भाग्यशाली थिएन।

त्यो बेला प्रतिघण्टा २२५ किलोमिटर वेगमा आँधी आउँदा दुई दिनभित्रै एक मिटर पानी परेको थियो र थुप्रैको ज्यान गएको थियो।

आयोजकको सक्दो प्रयासका बाबजुद इतिहासमै पहिलो पटक तीन वटा खेलहरू रद्द भए र एउटा टोली खेल्नै नपाई प्रतिस्पर्धाबाट स्वतः बाहिरियो।

शक्तिशाली आँधी हगिबिस र त्योभन्दा पहिलेको आँधीले प्रतिस्पर्धामा ठूलो समस्या निम्त्याएको थियो।

टोक्यो आउन लागेको एउटा टोलीले विमानस्थलबाट बाहिरिनुअघि पाँच घण्टा कुर्नुपर्‍यो भने अर्को टोलीलाई प्रस्थान क्षेत्रमा १६ घण्टासम्म कुराएर राखियो।

यो वर्ष पश्चिम प्रशान्त सागरको खतरनाक मौसमी प्रणालीले सानातिना अवरोध मात्रै गरे भने ओलिम्पिक्सका आयोजकहरू प्रसन्न रहनेछन्।

गर्मीको महसुस

रग्बी विश्वकपका प्रतिस्पर्धीले चिन्ता गर्नु नपरेको एउटा पक्ष गर्मी थियो।

उक्त प्रतिस्पर्धा सेप्टेम्बरदेखि नोभेम्बरसम्म भएको थियो र त्यति बेला गर्मी ‌ओरालो लाग्न थालेको थियो।

टोक्योमा सन् १९६४ मा भएको ओलिम्पिक्स अक्टोबर महिनामा भएको थियो।

तर यो वर्ष ओलिम्पिक्सका आयोजकहरूले जुलाई अन्तिम र अगस्टको सुरुमा खेल आयोजना गर्न चाहनुबारे भनेका छन्, "यो अवधिमा ठूलो स्तरका अन्य अन्तर्राष्ट्रिय खेल कार्यक्रमको तालिका छैन" र "ओलिम्पिक्स र पारालिम्पिकलाई बाधा पुर्‍याउने ठूला कार्यक्रम टोक्योमा छैन।"

अन्य कार्यक्रमसँग यो कार्यक्रम नजुध्नु भनेको टिभीमा धेरै दर्शक हुनु र प्रसारण अधिकारबाट राम्रो रकम जुट्नु हो।

यसले अर्बौँ डलर रकम आम्दानी हुन्छ।

'निर्मम' मौसम

टोक्यो ओलिम्पिक्सका आयोजकको दाबी छ: "मध्यम र घमाइलो मौसम खेलाडीहरूलाई राम्रो प्रदर्शन गर्न उत्कृष्ट रहन्छ।"

यसै साता टेनिस खेलाडी नोभिक जोकोभिकले मौसमलाई "निर्मम" भनेका छन्।

ओलिम्पिक पदकधारी डेनियल मेड्भेडेफले त्यसमा थपे: "मेरो अनुभवमा यो खराब मौसममध्ये पर्थ्यो।"

टोक्यो ओलिम्पिक्समा थुप्रै खेल छ जसको तालिका तय गर्दा मौसमको खासै वास्ता गरिएको छैन।

फिफाले सन् २०२२ को विश्वकप कतारलाई गर्न दिने निर्णय गर्दा तापक्रमको विषयलाई लिएर धेरै मानिसलाई अचम्मित पारेको थियो।

आगामी विश्वकपका बेला उक्त मरुभूमियुक्त राज्यमा तापक्रम ४० डिग्रीमाथि पुग्छ।

फिफाले विश्वकपलाई नोभेम्बर र डिसेम्बरमा सार्ने निर्णय गर्दा पनि केही चकित भएका थिए जसले घरेलु फुटबल तालिकालाई परिवर्तन गर्नुपर्ने हुन्छ।

जापानको उग्र गर्मी र आँधीको खतराका बेला मुख्य खेल कार्यक्रम आयोजना गर्नु कतिको बुद्धिमत्ता हो भनेर प्रश्न उठ्दै आएका छन्।

अहिले टोक्योले सामना गरिरहेको अनौठो अवस्थाको सायद त्यहाँको मौसमबारे जानकारी दिने स्थानीय चर्चित एप याहु टेन्कीले सबैभन्दा राम्ररी व्याख्या गर्छ।

विश्वका उत्कृष्ट खेलाडीहरूलाई मानवीय सहनशीलताको सीमामा पुगेर खेल्न विवश बनेका बेला उक्त एपले स्थानीयलाई भने "गर्मीमा व्यायाम नगर्न" र "कठिन व्यायामलाई कम गर्न" सुझाइरहेको छ।