शेरबहादुर देउवा विश्वास मत: जसपा-नेपालको ठाकुर खेमाले देउवालाई समर्थन गर्ने, जसपाको सबैले मत दिँदा एमाले बिना नै बहुमत पुग्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालका एकजना अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्।

जसपाको सम्पूर्ण मत प्राप्त हुने वित्तिकै संसदीय अङ्कगणितमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको मतै नपाए पनि उनलाई बहुमत प्राप्त हुन सक्छ।

जसपा-नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव खेमाका १२ सांसदले यसअघि नै देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेका थिए।

महन्थ ठाकुरले समर्थन व्यक्त गरेकाले थप बीस सांसद देउवाको पक्षमा हुनेछन्।

देउवालाई मत दिने बताएपछि अध्यक्ष ठाकुरले भने, "जब जब प्रधानमन्त्रीको निर्वाचन र नियुक्तिको प्रसङ्ग आउँछ हामी आफू र हाम्रो पार्टी पनि, उत्पीडित र प्रताडित समूहहरू पनि आफूलाई घायल पाउँछ।"

अर्थपूर्ण

ठाकुर समूह यसअघि ओली विरोधी गठबन्धनमा सहभागी नभएको र ओली सरकारमा सहभागी भएकाले उसको समर्थनलाई अर्थपूर्ण रूपमा धेरैले हेरेका छन्।

संसद्मा बोल्दै ठाकुरले आफ्ना नेता-कार्यकर्तामाथिका मुद्दा फिर्ता, नागरिकता विधेयक र संविधान संशोधनका आफ्ना पुराना माग दोहोर्‍याएका छन्।

उनले भने, "हाम्रो पनि मन छ हाम्रो देश विविधताले भरिएको होस्। के सबै ठाउँमा विविधताको उपस्थिति छ त?"

सुरुदेखि नै विपक्षी गठबन्धनमा रहेको जसपाकै सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले 'हत्या हुनै लागेको संविधान'लाई अदालतले बचाएको बताएका छन्।

"प्रतिगमनतिर देश गएकै थियो, अब देशलाई बचाउने काम गरौँ।"

पार्टीमा विवाद भए पनि आज पार्टीका २० सांसद् उपस्थित भएर सर्वसम्मत् रूपले देउवालाई विश्वासको मत दिने निर्णय गरिएको भट्टराईले बताए।

"पहिले नै जसपा एक ढिक्का भएको भए यो अवस्था आउँदैनथ्यो।"