शेरबहादुर देउवा विश्वासको मत: पक्षमा १६५ भोट, ओली पक्षीय सांसदद्वारा पनि 'पार्टी निर्णय अवज्ञा'

तस्बिर स्रोत, Composite/RSS
सङ्घीय संसद्मा दोस्रो ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा बनेको मिलीजुली सरकारले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेको छ।
सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधि सभाको पहिलो बैठकमै आइतवार देउवालाई विपक्षी नेकपा एमालेकै कतिपय सांसदहरूले समेत मत दिए।
विश्वासको मत दिने एमाले सांसदहरूमा माधवकुमार नेपाल र उनी पक्षका छन्। एमालेले भने विश्वासको मत नदिने निर्णय गरेको थियो।
तर अध्यक्ष केपी शर्मा ओली निकट भनेर चिनिएका केही सांसदहरूले पनि नेपालसँगै देउवालाई विश्वासको मत दिएका छन्।
ओली सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि देउवा सरकारलाई मत दिएको छ।

तस्बिर स्रोत, Reuters
सरकारको पक्षमा १६५ मत परेको परिणाम सुनाउँदै सभामुख अग्नि सापकोटाले भने, "उक्त सङ्ख्या प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकोले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु।"
आइतवारको मतदानमा २४९ सांसद्हरू उपस्थित हुँदा प्रस्तावको विपक्षमा ८३ मत परेको सभामुख सापकोटाले बताए।
संसद्मा हाल कायम रहेको सङ्ख्या २७१ रहेकामा एकजना सांसद् तटस्थ बसेका थिए।
देउवालाई समर्थन गर्नेमा उनकै पार्टी कांग्रेस, सत्ता सहयात्री नेकपा माओवादी केन्द्रका साथै सरकारमा सहभागी नभएको जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद पनि छन्।
अन्तिमसम्म 'धुकचुक'
सरकारलाई विश्वासको मत दिनेमा सत्ताधारी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पहिले नै निर्णय गरिसकेका थिए।
अन्तिम समयसम्म पनि एमालेको नेपाल पक्षका सांसदहरूको सङ्ख्या र निर्णयबारे अन्योल थियो।

तस्बिर स्रोत, RSS
नेपाल पक्षकै कतिपय नेताहरूले विश्वासको मत दिन नहुने पक्षमा मत राखेपछि उक्त समूहको निर्णयमा देउवा सरकारको भविष्य निर्भर रहेको ठानिएको थियो।
तर नेपाल पक्षमा त्यसबारेको छलफल चलिनैरहेका बेला जसपाको ठाकुर पक्षले पनि मत दिने निर्णय गरेपछि सरकारको पक्षमा विश्वासको मत पुग्ने निश्चित भएको देखिएको थियो।
नेपाल पक्षका केही सांसदहरू मतदानमा सहभागी भएनन्।
ठाकुर-यादव दुवै पक्षको मत देउवालाई
देउवाको पक्षमा रिट निवेदनमा जसपाका यादव पक्षका १२ जना सांसदले हस्ताक्षर गरेका थिए।
तर विश्वासको मतबारे छलफल चलिरहँदा उक्त पक्षमा त्यो सङ्ख्या बढेको खबर आएको थियो।

तस्बिर स्रोत, RSS
यसअघि महन्थ ठाकुर पक्ष केपी ओलीको सरकारलाई साथ दिँदै सरकारमा सहभागी भएको थियो।
देउवाले नेता ठाकुरलाई पत्र पठाउँदै विश्वासको मत दिन आग्रह गरेपछि ठाकुर पक्षले मत दिने निर्णय लिएको हो।
विश्वासको मत सम्बन्धमा भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेनन्।
मतदान प्रक्रियाका सुरु हुने बेलामा ओली संसद् भवन प्रवेश गरेका थिए। उनको दलबाट नेता प्रदीप ज्ञवालीले धारणा राखेका थिए।
ओलीले सम्बोधन नगरेकोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएका थिए।
प्रधानमन्त्रीले संसद्मा मत मागेपछि बोल्ने अन्य नेताहरूमा नेपाली कांग्रेसका मीनेन्द्र रिजाल, राजपा-नेपालका महन्थ ठाकुर र बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, राप्रपाका राजेन्द्र लिङ्देन, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल थिए।








