शेरबहादुर देउवा विश्वास मत: एमाले माधव नेपाल समूह र जसपामा सांसदलाई 'स्वविवेकीय निर्णय गर्न दिने'बारे छलफल

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएपछि उनलाई समर्थन गरेका दलका नेता तथा सांसदहरू आन्तरिक छलफलमा जुटेको ती दलका सांसदहरूले बताएका छन्।
देउवालाई समर्थन गरेको नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूह र नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेता र सांसदहरूले अहिले आन्तरिक छलफल गरिरहेको बताइएको छ।
विशेषगरी विश्वासको मतबारे निर्णय गर्ने विषय एमालेको माधवकुमार नेपाल पक्षका निम्ति अलि पेचिलो बनेको बुझिएको छ।
नेपाल पक्षकका एकजना सांसद यज्ञराज सुनुवारका अनुसार उक्त पक्ष अहिले विश्वासको मतबारे अन्तिम निर्णय गर्न आन्तरिक छलफलमा रहेको छ।
त्यस्तै जसपाले चाहिँ दिउँसो १ बजे पार्टी कार्यालयमा संसदीय दल र पार्टीको बैठक बोलाएको उक्त पार्टीका एकजना नेता मोहम्मद ईश्तियाक राईले बताए।
'सांसदलाई स्वतन्त्र निर्णय गर्न दिने'
एमालेको माधवकुमार नेपाल समूहले संविधानको धारा ७६ (५) अनुसार देउवाले विश्वासको मत लिन लागेकाले आफ्ना सांसदहरूलाई मत दिनेबारे निर्णय गर्न स्वतन्त्र छाड्नेबारे छलफल गरिरहेको बुझिएको छ।
सांसद् सुनुवारले भने, "मत दिनेबारे सांसदहरूलाई स्वविवेकीय निर्णय गर्न दिनेबारे छलफल भइरहेको छ।"
यद्यपि उक्त समूह निर्णयमा अझै पुगिनसकेको बताइएको छ।
उक्त समूहकी अर्की सांसद रामकुमारी झाँक्रीले पनि "अदालतको फैसलाका आधारमा संविधानको धारा ७६ (५) अनुसार बन्ने प्रधानमन्त्रीलाई समर्थन गर्नु नैतिक जिम्मेवारी हो। हामी त्यही निर्णयमा अडिग छौँ।"
उनले विश्वासको मतमा मात्र नभइ यो सरकारका नीतिहरूमा पनि आफ्नो पक्षको समर्थन रहने बताइन्।
एमालेको नेपाल पक्षका २६ जना सांसदले देउवालाई भावी प्रधानमन्त्रीमा समर्थन गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको प्रस्तावमा हस्ताक्षर गरेका थिए।
उनलाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर गरिएको रिट निवेदनमा चाहिँ हस्ताक्षर गर्ने एमाले सांसदहरूको सङ्ख्या २३ मात्र थियो।
जसपाका नेता राईले "आजैको बैठकले विश्वासको मतको पक्षमा भोट हाल्ने निर्णय गर्ने" बताए।

तस्बिर स्रोत, RSS
तर अदालतको फैसला मान्ने गरी "पार्टीका सांसदहरूलाई स्वतन्त्र निर्णय गर्न दिइने" उनको भनाइ छ।
राईले भने, "पार्टीले मतदान गर्ने भनेरै निर्णय गर्छा। तर मत हाल्ने कुरामा सांसदहरू स्वतन्त्र नै हुन्छन्।"
जसपाका १२ सांसदले देउवालाई समर्थन गर्दा हस्ताक्षर गरेका थिए।
३४ सांसद रहेको उक्त दलका १७ सांसदहरू अहिले देउवाको पक्षमा रहेको राईको दाबी छ।
उनका अनुसार "आज अझै थप तीनजना" पनि देउवाको समर्थनमा आउने ठानिएको छ।
जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले देउवालाई समर्थन गरेको छ भने महन्त ठाकुर र राजेन्द्र महतो समूहले चाहिँ ओलीको समर्थन गर्दै सरकारमै सामेल भएको थियो।
संसद्को अङ्कगणित
हाल प्रतिनिधिसभामा २ सय ७१ जना सदस्य छन्।
विश्वासको मत पुष्टि गर्न देउवाले हाल कायम सङ्ख्यामध्ये बहुमत अर्थात् १ सय ३६ जना सांसदको समर्थन जुटाउनु पर्छ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसको कुल ६३ मध्ये २ जना सांसद निलम्बित भएकाले उक्त दलसँग ६१ मत छ।

तस्बिर स्रोत, RSS
एक जना स्वतन्त्र सांसद र माओवादी केन्द्रको तर्फबाट देउवाले ४९ मत प्राप्त गर्नेछन्।
एमालेका १ सय २१ सांसदमध्ये २६ जनाले देउवालाई भावी प्रधानमन्त्रीमा समर्थन गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको प्रस्तावमा हस्ताक्षर गरेका थिए।
देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर गरिएको रिट निवेदनमा हस्ताक्षर गर्ने एमाले सांसदहरूको सङ्ख्या २३ थियो।
जसपाको बहुमत उपेन्द्र यादव पक्षसँग भएका विवरणहरू आइरहेकाले नेपाल पक्षका एक दर्जन भन्दा कम सांसदको समर्थन पाएमात्रै पनि देउवाले विश्वासको मत प्राप्त गर्ने देखिन्छ।
प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाका एक/एक जना सांसद छन्।
राष्ट्रिय जनमोर्चाले देउवालाई मत दिने बताएको छ।
देउवालाई मत दिन खनालको अपिल
यसैबीच एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देउवालाई विश्वासको मत दिन अपिल गरेका छन्।
भारतको राजधानी दिल्लीमा उपचाररत उनले एउटा वक्तव्यमार्फत् त्यस्तो आग्रह गरेका हुन्।
वक्तव्यमा उनले लेखेका छन्, "देउवा सरकारलाई विश्वासको मत प्रदात गरौँ, सकेसम्म पार्टीमा सर्वसम्मत बनाउन कोसिस गरौँ।"
उनले सर्वोच्चको फैसलापछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिको विश्लेषण गर्न, फैसलालाई दृढतापूर्वक कार्यान्वयन गर्न र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन "जो कसैले जुनसुकै त्याग गर्न तयार" हुन पनि उनले आग्रह गरेका छन्।








