तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शेरबहादुर देउवा: राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्रीलाई मङ्गलवार साँझ शपथ खुवाउने तयारी
राष्ट्रपति विद्यादेवी भण्डारीले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई साँझ ६ बजे शपथ खुवाउने गरी तयारी गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन्।
"भावी प्रधानमन्त्री (शेरबहादुर देउवा) कहाँ यो सन्देश पुर्याइसकिएको छ र त्यसै अनुसार तयारी गरिएको छ," अधिकारीले बीबीसीसँग भने।
सर्वोच्च अदालतको संवैधानकि इजलासले गरेको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा आजै नियुक्त गर्नुपर्ने र शपथ खुवाउनुपर्ने अवस्था आएको हो।
सरकारको प्रकृतिबारे छलफल
राष्ट्रपतिले देउवालाई नियुक्त गरेपछि सरकार निर्माणको प्रक्रिया पनि अगाडि बढ्ने छ।
यसैबीच सर्वोच्च अदालतको फैसलापछि नयाँ सरकार कस्तो हुने र मन्त्रालय बाँडफाँटका विषयमा छलफल गरिने नेताहरूले बताएका छन्।
प्रधानमन्त्रीका रूपमा देउवाको नियुक्तिसँगै सुरुमा सानो मन्त्रिमण्डल गठन गर्ने र पछि त्यसलाई विस्तार गरिने नेताहरूको भनाइ छ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बीबीसीलाई भने, "हामी मन्त्रिमण्डलका बारेमा र सरकारको प्रकृतिका बारेमा छलफल गर्छौँ।"
मन्त्रिमण्डलको आकार कत्रो?
गठबन्धनमा सहभागी पाँचवटै दललाई सरकारमा सहभागी बनाउने नेताहरूको भनाइ छ।
तर पार्टी विवादको समाधानमा लागेको नेकपा एमालेको माधव नेपाल समूह सहभागी हुने सम्भावना भने न्यून रहेको एमाले नेताहरूले बताएका छन्।
देउवानिकट काङ्ग्रेस नेता बालकृष्ण खाँडले भने, "प्रारम्भमा सानो मन्त्रिपरिषद् बनाउने र त्यसले पदभार ग्रहण गरेर काम प्रारम्भ गर्छ। त्यसपछि दलहरूको बीचमा छलफल हुँदै गर्छ अनि मन्त्रिमण्डल बिस्तार हुँदै गर्छ।"
"सरकार बनाउँदै पनि गर्ने, कार्यक्रमहरू बनाउने, सहमति गरेर अगाडि बढ्ने त्यो खालको सहमति गर्छौँ।"
प्रधानमन्त्रीसहित बढीमा २५ जनासम्मको मन्त्रिपरिषद् बनाउन मिल्ने संवैधानिक व्यवस्था छ।
तर देउवा प्रधानमन्त्री नियुक्त भएपछि त्यसको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने भएकाले मन्त्रिषरिषद्लाई पूर्णता दिन भने उक्त समय कुर्नु पर्ने ठानिएको छ।
उनलाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेका एमालेका सांसदले विश्वासको मत नदिएमा गठबन्धनका अन्य सांसदको सङ्ख्याले मात्रै बहुमत पुग्ने देखिन्न।