भारत: केरलामा जिका भाइरस सङ्क्रमणका १४ वटा घटना पुष्टि भएपछि सतर्कता

भारतको केरला राज्यका स्वास्थ्य अधिकारीहरूले १४ वटा जिका भाइरसको सङ्क्रमणका घटना पहिचान भएपछि राज्यका सम्पूर्ण जिल्लाहरूमा स्वास्थ्य सतर्कताको घोषणा गरेका छन्। 

केरेलाकी स्वास्थ्यमन्त्री बीना जर्जले त्रिभन्द्रम जिल्लामा सङ्क्रमणहरू देखिएको पुष्टि गरेकी हुन्। 

सन् २०१६-१७ मा भारतको पश्चिमी राज्य गुजरातमा जिकाको सङ्क्रमण भएको विवरण आएका थिए। 

लामखुट्टेका कारण सर्ने जिकाका कारण बालबालिकाको मस्तिष्कका कोषहरू सुक्दै जाने र एउटा दुर्लभ प्रकारको पक्षाघातजस्तै रोग गिया ब्यारे सिन्ड्रोम देखिने बताइन्छ।

अधिकांश अवस्थामा लामखुट्टेका कारण यो भाइरस सर्ने भने पनि यौनसम्पर्क गर्दा पनि जिका सर्ने गरेको पाइन्छ। 

निगरानी टोली परिचालित

सबै नयाँ सङ्क्रमणका घटनाहरू जिल्लाका स्वास्थ्यकर्मीहरूमा देखिएका हुन्। 

जर्जले जारी गरेको विज्ञप्तिका अनुसार जिका भाइरस सङ्क्रमण पुष्टि भएकी पहिलो बिरामी सीमा जोडिएको राज्य तामिलनाडुकी एक जना २४ वर्षकी गर्भवती महिला थिइन्।

उनलाई जुन २८ तारिखमा टाउको दुख्ने, ज्वरो आउने र छालामा रातो डाबर देखिने लक्षण सहित त्रिभन्द्रमको अस्पतालमा भर्ना गरिएको थियो। 

बुधवार उनले सन्तान जन्माएकी छन्।

"उनको स्वास्थ्य स्थिर छ। साधारण किसिमले उनले बच्चा जन्माइन्। राज्यभन्दा बाहिर उनले यात्रा गरेको पाइएको छैन," जर्ज भन्छिन्।

शुक्रवार संवाददाताहरूसँग बोल्दै उनले जारी मनसुनले लामखुट्टेहरूको विस्तारमा सघाइरहेको उल्लेख गरिन्। 

नियन्त्रणको प्रयास

केरलाका स्वास्थ्य सचिव डा. राजन खोब्रागाडेले सरकारले सङ्क्रमण देखिएका स्थानमा निगरानी टोलीहरू खटाएको र मानिसहरूलाई उक्त सङ्क्रमणबारे जानकारी दिइरहेको बताए।

उनले गर्भवती महिलाहरूसँग कुराहरू गरिरहेको र विवाहितहरूलाई पनि परामर्श दिइरहेको जनाए।

केरला कोभिड-१९ को दोस्रो लहरसँग जुझिरहेको छ र पछिल्लो सात दिनमा कूल परीक्षणमध्ये त्यहाँ १० प्रतिशतभन्दा बढीलाई सङ्क्रमण भइरहेको पाइएको छ।

सन् २०२० को ज्यानुअरीमा भारतमा पहिलोपटक कोरोनाभाइरस सङ्क्रमण पनि केरलाबाटै पुष्टि भएको थियो।

भारतमा जिका भाइरस

जिका भाइरस सबैभन्दा पहिले युगान्डाको जिका जङ्गलमा बस्ने बाँदरहरूमा सन् १९४७ मा देखिएको बताइन्छ।

तर यसलाई सन् १९५२ मा औपचारिक रूपमा अलग्गै भाइरसका रूपमा व्याख्या गरिएको थियो।

तर अनुसन्धानकर्ताहरूले भारतमा उल्लेख्य सङ्ख्यामा व्यक्तिहरू यो भाइरसको सम्पर्कमा आएको बताएका थिए।

उनीहरूका अनुसार जिका सङ्क्रमणको देखिएका १९६ मध्ये ३३ जनामा प्रतिरोधी क्षमता पाइएको थियो।

"त्यही भएर जिका भाइरसले भारतमा मानिसहरूलाई आक्रमण गर्ने कुरा निश्चित छ," अनुसन्धानकर्ताहरूले सन् १९५३ मा एउटा दस्ताबेजमा उल्लेख गरेका थिए।

सन् २०१६ र सन् २०१७ मा भारतको पश्चिमी राज्य गुजरातको अहमदाबाद सहरमा जिका भाइरसको सङ्क्रमण पुष्टि भएको थियो।

जिका भाइरस के हो?

  • अधिकांश अवस्थामा लामखुट्टेका कारण सर्ने भएपनि जिका यौनसम्पर्कका कारण पनि सर्ने गर्छ
  • जिकाका कारण कम मानिसको मृत्यु हुन्छ र सङ्क्रमित पाँच जनामध्ये एक जनामा मात्रै लक्षणहरू विकास हुने बताइन्छ। ज्वरो, छाला रातो हुने र जोर्नी दुख्ने केही लक्षण हुन्
  • सबैभन्दा सुरुमा सन् १९४७ मा युगान्डामा बाँदरमा यो भाइरस देखिएको थियो। मानवमा पहिलो सङ्क्रमण नाइजेरियामा सन् १९५४ मा देखा परेको थियो। त्यसपछि अफ्रिका, दक्षिणपूर्वी एशिया र प्यासिफिक आइल्याण्डमा पनि सङ्क्रमण देखिएका छन्
  • सन् २०१५ मा जिका ब्राजिलमा देखियो र द्रुत रूपमा फैलियो
  • उपचार नभएकाले लामखुट्टेको टोकाइको जोखिमबाट जोगिनु एक मात्र विकल्प हो