कोभिड नेपाल: काठमाण्डू उपत्यकाभित्र सवारीसाधनमा जोरबिजोर प्रणाली हट्यो, २५ जनासम्म राखेर परीक्षा लिन पाइने

कोरोनाभाइरस महामारी नियन्त्रणका लागि काठमाण्डू उपत्यकामा लागु गरिएको निषेधाज्ञा थप विभिन्न क्षेत्रलाई खुला गर्दै असार ३१ गतेसम्म बढाइएको अधिकारीहरूले जानकारी दिएका छन्।

आइतवार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाका प्रावधानहरूलाई पहिलेकोभन्दा धेरै नै खुकुलो बनाउँदै त्यसलाई एक साता बढाउने निर्णय गरेको हो।

नयाँ नियम सहितको निषेधाज्ञा आगामी मङ्गलवारबाट लागु हुनेछ।

नयाँ निर्णयसँगै अब उपत्यकामा सवारीसाधनमा लागेको जोरबिजोर प्रणाली हटेको छ।

योसँगै सार्वजनिक यातायातका टेम्पो तथा निलो माइक्रोमा ९ जनाभन्दा यात्रु नबढ्ने गरी सञ्चालन गर्न पाइनेछ।

बसका हकमा भने कुल स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन।

त्यस्तै विभिन्न निकायबाट पूर्वनिर्धारित लिखित र प्रयोगात्मक परीक्षणाहरू सीमित सङ्ख्यामा परीक्षार्थी राखेर सञ्चालन गर्न पाइने भएको छ।

"परीक्षा सञ्चालन हुने कुनै एक स्थान हल तथा कोठाको आकार अनुसार २५ जना भन्दा बढी मानिसहरू भेला जम्मा नहुने गरी परीक्षा सञ्चालन गर्ने," बैठकपछि जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको आदेशमा उल्लेख छ।

नयाँ व्यवस्था अनुसार औषधि र स्वास्थ्य सामग्रीसम्बन्धी पसलहरू जुनसुकै बेला सञ्चालन गर्न सकिने छ भने त्यस बाहेकका अन्य व्यवसाय साँझ ६ बजेसम्म खोल्न सकिने व्यवस्था गरिएको छ।

यसैगरी रेस्टुराँ लगायतबाट प्रदान हुने 'टेक अवे' र होम डेलिभरी सेवा भने साँझ ७ बजेसम्म चलाउन पाइनेछ।

नयाँ नियम अनुसार अत्यावश्यक कामले काठमाण्डू उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनको हकमा सम्बन्धित जिप्रकाबाट स्वीकृति लिएर प्रवेश पाउने व्यवस्था गरिएको छ।

निषेध गरिएका गतिविधि

धेरै खुकुलो पारिएको भए पनि नयाँ निषेधाज्ञामा कतिपय गतिविधि गर्न नपाइने आदेशमा उल्लेख छ।

त्यस्ता गतिविधि निम्नानुसार छन्:

  • सबै प्रकारका सभासम्मेलन र तालिम वा सेमिनारहरू
  • सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबहरू
  • स्वीमिङ पुल, मनोरञ्जलन स्थल, सैलुन, ब्युटिपार्लरहरू
  • हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालाय, संग्रहालय, चिडयाँखाना, रङ्गशालामा दर्शकसहित हुने खेलकुद
  • खुला स्थानमा मानिसहरू भेला हुने सभासम्मेलन, जुलुस र भोजभतेरहरू
  • होटल र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्ध र सामूहिक सांस्कृतिक कार्यक्रमहरू
  • पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिहरू
  • शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाइने

अन्य व्यवस्था

अब स्थानीय ढुवानी सेवा बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्ण ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

जिप्रकाहरूबाट जारी आदेशमा चलाउन दिइने व्यवसाय र सेवाका हकमा पनि भौतिक दूरी कामय राख्ने र स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने उल्लेख छ।

त्यस्तै मास्क नलगाउनेलाई सार्वजनिक यातायातमा प्रवेश नदिने र चालक तथा सहचालकले मास्क, भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्ने व्यवस्था छ।

सवारीसाधनको अनिवार्य रूपमा दैनिक निसङ्क्रमण गर्नुपर्नेछ।

तालिम, गोष्ठी, सेमिनार, बैठक, समीक्षा प्रशिक्षणलगायत प्रत्यक्ष रूपमा गर्नै पर्ने भएमा भौतिक दूरी कामय गर्दै स्वास्थ्य मापदण्ड अपनाएर २५ जना मात्र सहभागी भइ गर्न सकिने पनि आदेशमा उल्लेख छ।

लामो निषेधाज्ञा

कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि गत वैशाख १६ गते एक साताका लागि निषेधाज्ञा लगाइएको थियो।

त्यसपछि पटकपटक थप गर्दै निषेधाज्ञा जारी राखिएको छ।

तर निषेधाज्ञा पूर्ण प्रभावकारी हुन नसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको गुनासो गरेका थिए।

त्यसपछि सरकारले कोभिड-१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश ल्याएर निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सजाय र जरिबाना तोकेको थियो।

अध्यादेश अनुसार देशका विभिन्न स्थानमा कैयौँलाई कारबाही पनि भएको अधिकारीहरूले बताएका छन्।

पछिल्ला साताहरूमा सङ्क्रमित हुनेहरूको सङ्ख्यामा 'कमी देखिएकाले' निषेधाज्ञाका प्रावधानहरूलाई खुकुलो पारिएको अधिकारीहरूको भनाइ छ।

सङ्क्रमणको अवस्था अझै बढेमा अध्यादेशका आधारमा कुनै पनि बेला आवश्यकता अनुसार कदम चाल्न सकिने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।

नयाँ अध्यादेशमा के छ व्यवस्था?

अध्यादेशबमोजिम कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ।

मापदण्ड पालना नगरे छ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने अध्यादेशमा भनिएको छ।

अनुमतिबिना चलाइएका सवारीसाधन सुरक्षाकर्मीले निश्चित समयका लागि नियन्त्रणमा पनि लिन सक्ने अध्यादेशमा उल्लेख छ।

जरिवानाबारे अध्यादेशमा यस्तो व्यवस्था छ:

  • मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे १०० रुपैयाँ
  • आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लङ्घन गर्नेलाई पटकैपिच्छे २०० रुपैयाँ
  • अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई अथवा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारीसाधन चलाएमा पटकैपिच्छे दुईपाङ्ग्रे सवारी भए २,००० र अन्य सवारी भए ५,००० रुपैयाँ।

त्यसैगरी अध्यादेशविपरीत काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले छ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्नेछन्।