ऊर्जा नेपाल: ४५६ मेगावाट जडित क्षमताको विद्युत् आयोजना 'यसै साता' सञ्चालनमा आउने, सस्तो होला विद्युत् महसुल?

तस्बिर स्रोत, NEA
४५६ मेगावाट जडित क्षमता भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजना अबको अढाई महिनाभित्र पूर्ण क्षमतामा सञ्चालनमा आउने अधिकारीहरूले जनाएका छन्।
त्यसको सुरुवात आगामी साताबाटै हुने बताइएको छ।
ठूलो कुनै समस्या नआए ''सोमवारबाटै ७६ मेगावाट विद्युत् उत्पादन सुरु हुने'' र त्यसको वितरणका लागि प्रसारण लाइनको पनि व्यवस्था मिलाउने कार्य सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
दोलखाको बिगु गाउँपालिकास्थित निर्माणाधीन आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन हुने र बाँकी पाँच युनिट भने असोजको पहिलो सातासम्मा सञ्चालनमा आउने बताइएको छ।
गत वैशाखमा माथिल्लो तामाकोसी आयोजना निर्माणको कार्य ''अस्वाभाविक ढङ्गले ढिलाइ गरिइएको टिप्पणी'' प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
पछिल्लो दुई महिनामा परियोजनाको गतिले कसरी तीव्रता लियो त?
शाक्य भन्छन्: ''हामीले चैत मसान्तदेखि पेनस्टकमा आएको समस्या र सुरुङ बन्द गर्ने गेटमा आएको समस्यामा काम गर्यौ। यसैले गर्दा ढिलाइ भएको हो। यो सुरुमा अनुमान गर्न नसकिने खाले ढिलाइ थियो।''

तस्बिर स्रोत, NEA
'असोजको पहिलो सातासम्मा पूर्ण क्षमतामा चल्ने'
प्राधिकरण आफैले पनि प्राविधिकहरू पठाएर र अन्य ठेकेदारहरूबाट समेत सहयोग लिएर पछिल्लो समय निर्माण कार्यलाई तीव्रता दिइएको अधिकारीहरूको भनाइ छ।
ढल्केबरदेखि तामाकोसीसम्म 'ग्रिड' जोड्ने काम भइसकेको र मङ्गलवार देखिनै प्रसारण लाइन 'चार्ज' गर्ने कार्य सुरु भएको प्राधिकरणले जनाएको छ।
शाक्य सहितको टोली यसै हप्ता आयोजना पुगेर अनुगमन गरेको थियो।
''अन्तिम केही चिजहरू छन् त्यो चाहिँ सोमवार सम्ममा पक्कै हुन्छ भन्ने छ,'' उनले भने।
पूर्ण क्षमतामा चल्दा ४५६ मेगावाट उत्पादन हुने भए पनि आवश्कयता अनुसार एउटा मात्रै युनिट चलाएर लगभग १० मेगावाटदेखि अधिक्तम क्षमतासम्म विद्युत उत्पादन गर्न सकिने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए।
प्राधिकरणका अनुसार यस अघि पठाइएको तालिका अनुसार हरेक १५ देखि २० दिनको अन्तरालमा नयाँ युनिट सञ्चालनमा आउन सक्ने भए पनि पछिल्लो समय भने गति बढाएर १५ दिनमा सक्ने बनाइएको छ।
''सोमवार वा मङ्गलवार जहिले हामी परीक्षण गर्छौ त्यसपछिको दुई अढाइ महिनामा हामीले छ वटा युनिट सञ्चालन गर्न सक्छौँ,'' शाक्यले भने।
बिजुली बजारमा कस्तो प्रभाव पर्ला?
नेपालले भारतबाट मुजफ्फरपुर-ढल्केबर हुँदै आयात गरेको बिजुली प्रतिस्थापन हुने प्राधिकरणको भनाइ छ।
नेपालको प्रणालीमा बिजुली बढी हुन थालेको अवस्थामा ढल्केबरबाट निर्यात गर्न सकिने अधिकारीहरू बताँउछन्।
''अहिलेकै कुरा गर्ने हो भने तामाकोसीको बिजुली स्पील (खेर) हुँदैन। कोभिडको कारणले कतिपय आयोजना बन्न ढिला भएको छ। अहिलेको बाढीले कतिपय आयोजनाहरूलाई ढिलाइ गरिदिएको छ। त्यसैले यो वर्षामा त्यति स्पील नहोला। अर्को वर्षामा जब बिजुली बढ्छ त्यस बेला हामीले व्यापक रूपमा प्रसारण लाइन र वितरण लाइन बलियो बनाएर खपतमा अभियानै ल्याउनुपर्ने हुन्छ,'' उनले भने।

तस्बिर स्रोत, NEA
नेपालले हाल प्रति दिन बर्सातको समयमा समेत करिब ६,००० देखि ७,००० मेगावाट प्रतिघन्टा विद्युत् भारतबाट आयात गरिरहेको छ।
तामाकोसी पूर्ण क्षमतामा चल्दा झन्डै ९,००० मेगावाट विद्युत प्रतिघन्टा उत्पादन हुने अधिकारीहरू बताउँछन्।
७६ मेगावाट विद्युत् उत्पादन हुँदा भने उक्त आयोजनाले लगभग १,५०० मेगावाट प्रतिघन्टा योगदान गर्ने बताइएको छ।
नेपालको आन्तरिक उत्पादन भने करिब १९ हजार मेगावाट प्रतिघन्टा छ जसमा झन्डै १० हजार मेगावाट प्रतिघन्टा योगदान निजी क्षेत्रबाट प्रवर्द्धित उत्पादकहरूको छ।
सस्तो होला बिजुली?
वर्षाको चार महिना माथिल्लो तामाकोसी आयोजनालाई चौबिसै घण्टा चलाउन सकिने प्राधिकरणले जनाएको छ।
त्यसबेला बेलुका कम विद्युत् खपत हुने समयमा भारतमा सस्तोमा बेच्नुभन्दा महसुल छुट दिएर नेपालमै बेच्न सकिने शाक्य बताउँछन्।

''सस्तोमा खपत गर्नेहरूले आफ्नो खपतलाई सार्न सक्ने … उद्योग वा घरेलु क्षेत्रमा त्यस्तोलाई प्रोत्साहन गरेर बेलुकी १० बजे पछाडि सार्नका लागि महसुल दरमा छुट दिनुपर्छ भन्ने बजेटमा व्यक्त भइसकेको छ,'' उनले भने।
त्यसमा आधारित रहेर नियमन आयोग अघि बढे ग्राहहरूलाई राहत हुने प्राधिकरणको भनाइ छ।
तर आफूहरूले निश्रचित दरमा बिजुली कारोबार गर्नेहुँदा त्यसले प्राधिकरणलाई भने खास फरक नपर्ने शाक्य बताउँछन्।
'गेम चेन्जर'
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका मुख्य संरचनाहरूको निर्माण आर्थिक वर्ष २०६७-६८ मा सुरु भएको थियो।
२०७२ सालको भूकम्प लगायतका घटनाहरूका कारण आयोजना निर्माणमा ढिलाइ भएको प्राधिकरणले बताउँदै आएको छ।
आयोजना सम्पन्न हुँदासम्ममा यसको लागत ८० अर्ब रुपैयाँ पुग्ने बताइएको छ।
कतिपयले निर्माणका लागि निकै लामो समय लागेको र लागत पनि बढ्दै गएको भन्दै माथिल्लो तामाकोसी आयोजनाको आलोचना गरे पनि भूतपूर्व जलस्रोतसचिव शीतलबाबु रेग्मी त्यस विषयमा असहमत छन्।

तस्बिर स्रोत, REUTERS
स्वदेशी लगानीमा निर्माण गरिएको माथिल्लो तामाकोसी परियोजना 'गेम चेन्जर' का रूपमा आउने आफूलाई लागेको उनी बताउँछन्।
''यति ठूलो परियोजना नेपालीले आफ्नै लगानीमा, आफ्नै प्राविधिक सुपरिवेक्षणमा बनाएर सम्पन्न गर्दैछौँ। त्यसले हाम्रो आत्मबल बढाएको छ,'' उनले भने।
''अब हामी ५०० होइन १,००० मेगावाटतिर जान सकिन्छ।''
'ट्विन प्रोजेक्ट'का रूपमा माथिल्लो तामाकोसी र माथिल्लो कर्णाली आयोजना अघि बढाइएको भए पनि निजी क्षेत्रले लिएको माथिल्लो कर्णाली हालसम्म सुरु नै हुन नसकेको अवस्थामा माथिल्लो तामाकोसी सञ्चालनमा आउनलाग्नु राम्रै प्रगतिका रूपमा हेरिनुपर्ने उनी बताउँछन्।
''लगभग ८०० मिटर हेड्स … संसारमै धेरै हेड्स हुने प्रोजेक्ट मध्य यो एउटा हो। मैले यसलाई सकारात्मक रूपमै लिएको छु। समय अलि धेरै लाग्यो तर यस्तो प्रोजेक्टमा समय धेरै लाग्छ,'' उनले भने।








