कोभिड नेपाल: खोपका लागि भारतको 'सकारात्मक उत्तर' कुर्दै भूतपूर्व गोर्खा सैनिकहरू

तस्बिर स्रोत, Twitter/ADG Indian Army
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
गत फागुनमा कोभिड खोपको पहिलो मात्रा लगाएका गुल्मीका ७५ वर्षीय प्रेमबहादुर थापा तत्कालै दोस्रो मात्रा लगाउन चाहन्छन्।
तर अहिले नेपालमा कोभिशील्ड खोप उपलब्ध नभएकाले उनले लगाउन पाएका छैनन्।
उनी भन्छन्, "मैले र श्रीमतीले पहिलो मात्रा त लगायौँ। तर दोस्रो मात्रा कहिले पाउने टुङ्गो छैन।"
भारतीय सेनाको गोर्खा फौजमा दुई दशकभन्दा बढी सेवा गरेर अवकाश पाएका थापालाई 'भारतले खोप उपलब्ध गराइदेला कि' भन्ने आशा लागेको छ।
"हामीले जुन देशको रक्षाका लागि त्यत्रो वर्ष काम गर्यौँ, अब उसले हामीलाई हेर्ने बेला आएको छ। हामी खोप कुरिरहेका छौँ," उनले बीबीसीलाई टेलिफोनमा भने।
भारतीय सेनामा कार्यरत रहँदा दुई युद्धमा सामेल भएका र वीरचक्रबाट विभूषित भएका उनले भारत सरकारलाई भूतपूर्व गोर्खाहरूलाई खोप सहायता गर्न आग्रह गरे।
थापाले भने, "मैले त पहिलो मात्रा लगाएको छु। यहाँ गाउँमा अरू धेरै भूपूहरूले त्यो पनि पाएका छैनन्। भारत सरकारले खोप पठाइदिए हामीलाई सहयोग हुन्थ्यो।"
बाँके निवासी ६८ वर्षीय कृष्णबहादुर थापाले पनि ३२ वर्ष भारतीय सेनामा काम गरेका थिए।
उनले पनि कोभिशील्ड खोपको पहिलो मात्रा लिएका छन् तर दोस्रो मात्रा पाइने कुरा निश्चित छैन।
"भारतले हामीलाई खोप पठाइदिए हुन्थ्यो भन्ने हाम्रो माग छ," उनले भने।

तस्बिर स्रोत, Twitter/ADG Indian Army
उनका भनाइमा आफ्नो स्वास्थ्य उपचारका लागि भूतपूर्व गोर्खा सैनिकहरूले जागिरमा छँदा र कतिपयले अवकाशपछि पनि 'एक्स-सर्भिसम्यान कन्ट्रिब्युटरी हेल्थ स्किम' ईसीएचएसमा नगद योगदान गरेका छन्।
त्यसैले भारतीय सेनाको ईसीएचएस हेर्ने निकायले आफूहरूलाई खोपका लागि मद्दत गरोस् भन्ने भूतपूर्व गोर्खा सैनिकको चाहना रहेको थापा बताउँछन्।
"अहिलेसम्म करिब ४० प्रतिशत भूपू गोर्खा सैनिकले पहिलो मात्रा लगाइसकेका छन् किनकि कतिपय भूपूहरू ६५ वर्षमाथिका छन्। तर अन्यले पहिलो मात्रा पनि पाएका छैनन्," उनले भने।
पत्र लेखेरै भारतसँग खोप मागियो

पहिलो मात्रा लगाएका भूतपूर्व गोर्खा सैनिक र कैयौँ पहिलो मात्रा लिन पनि नपाएकाहरूको चाहना अनुसार भूतपूर्व सैनिकसम्बद्ध संस्थाहरूले भारतलाई पत्र लेखेरै खोप सहायता उपलब्ध गराउन आग्रह गरेका छन्।
भूतपूर्व भारतीय र ब्रिटिश गोर्खा सैनिकहरू तथा नेपाली सेना एवम् नेपाल प्रहरीका अवकासप्राप्त व्यक्तिहरूसमेत आबद्ध संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासङ्घले गत मे २८ मै त्यस्तो पत्र लेखेको थियो।
बीबीसीले हेरेको उक्त पत्रमा नेपालमा खोप अभाव रहेको र तत्कालै भूतपूर्व गोर्खा सैनिकहरूले खोप पाउने अवस्था नभएको उल्लेख छ।
त्यसमा धेरै भूतपूर्व गोर्खा सैनिकहरू नेपालको सरकारको प्राथमिकता समूहमा नपर्ने र सामान्य नागरिककै रूपमा खोप लगाउनु पर्ने अवस्था रहेको लेखिएको छ।
त्यसैले भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारका लागि करिब दुई लाख २५ हजार खोप उपलब्ध गराइदिन भारतसँग माग गरिएको छ।
काठमाण्डूस्थित भारतीय दूतावासमार्फत भारतीय सैन्य मुख्यालयस्थित ईसीएचएस हेर्ने निकायलाई उक्त पत्र पठाइएको महासंघका महासचिव भारतीय सेनाका अवकासप्राप्त सुबेदार कुलबहादुर केसीले बताए।
केसीले भने, "हामीले धेरै भूतपूर्व गोर्खाहरूको चाहना र माग अनुसार नै पत्राचार गरेका हौँ। त्यसको सकारात्मक जवाफ पनि आएको छ। अब चाँडै खोप प्राप्त हुने आशामा छौँ।"
महासंघका अध्यक्ष अवकासप्राप्त भारतीय सेनाका कर्णेल धनबहादुर थापा नेपाल सरकारले पहल गरेर पनि खोप ल्याउन नसकेको देखेपछि भारतलाई आग्रह गरिएको बताउँछन्।

तस्बिर स्रोत, Twitter/Eastern Command, Indian Army
"हामीले भारत सरकारलाई निवेदन दिएका छौँ। भारतमा अहिले कमी हुँदा केही समय लाग्छ भन्ने जवाफ पाएका छौँ तर हामी भूपूहरूले चाँडै पाइएला भन्ने आशा छ," उनले भने।
भारतीय सेनाले नेपाली सेनालाई खोप सहायता गरेकाले आफूहरूले पनि पाउनेमा ढुक्क रहेको उनी बताउँछन्।
भारतीय अवकाशप्राप्त गोर्खाहरूको अर्को संस्था अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संघले पनि त्यस्तै आग्रह गर्दै पत्राचार गरेको जनाएको छ।
उक्त संस्थाका अध्यक्ष लक्ष्मीकान्त पाण्डेका अनुसार त्यस्तो पत्राचार गरिएको एक महिनाभन्दा बढी भए पनि खोप प्राप्त हुने वा नहुनेबारे निर्णय भएको जानकारी आएको छैन।
उनी भन्छन्, "नेपाल-भारत मैत्रीको कडीका रूपमा रहेका हामी भूतपूर्व गोर्खाहरूले खोपका लागि निवेदन गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि खोप पाउन नसक्दा हामी अत्यन्त दु:खी भएका छौँ।"
कति खोप आवश्यक पर्छ?
नेपालमा रहेका भूतपूर्व भारतीय गोर्खा सैनिक, उनीहरूका श्रीमती र १८ देखि २५ वर्षसम्मका अविवाहित छोराछोरी र हाल भारतमा कार्यरत गोर्खा सैनिकका श्रीमती एवम् १८ देखि २५ सम्मका छोराछोरीका लागि खोप पठाइदिए हुन्थ्यो भन्ने भूतपूर्व गोर्खा सैनिकहरूको आग्रह रहेको केसी बताउँछन्।
उनी भन्छन्, "हाम्रो अनुमानमा पाँच लाख मात्रा प्राप्त भयो भने नेपालमा रहेका भारतीय सेनाका भूतपूर्व र वर्तमान गोर्खा र तिनका परिवारलाई खोप पुग्छ भन्ने छ।"
उनका अनुसार हाल नेपालमा एक लाख २५ हजारको हाराहारीमा भूतपूर्व भारतीय गोर्खा सैनिकहरू रहेका छन्।
त्यसमध्ये करिब २५,००० ले कुनै न कुनै रूपमा खोप लगाइसकेको अनुमान गरिएको छ।
त्यस्तै करिब ४३,००० नेपालीहरू अहिले पनि भारतीय फौजमा कार्यरत रहेको केसी बताउँछन्।
उनीहरूका श्रीमती र छोराछोरी गरेर करिब २५,००० जतिलाई खोप आवश्यक पर्ने ठानिएको छ।
त्यसै आधारमा पाँच लाख खोपको आवश्यकता महसुस गरिएको केसीले जानकारी दिए।
भारतीय प्रतिक्रिया
भारतीय सेनामा कार्यरत भूतपूर्व गोर्खा सैनिकहरूले भारतसँग खोप सहायता माग गरेकोबारे भारतको पछिल्लो प्रतिक्रिया लिन बीबीसीले भारतीय अधिकारीहरूलाई इमेलबाट प्रश्नहरू पठाएको थियो।
बीबीसीले भारतीय रक्षा मन्त्रालय, भारतीय स्थल सेना, भारतीय विदेश मन्त्रालय र नेपालस्थित भारतीय राजदूतावासका प्रवक्ताहरूलाई त्यस्ता प्रश्नहरू पठाएकामा ती कुनै पनि निकायबाट हालसम्म जवाफ प्राप्त भएको छैन।
तर बीबीसीले देखेको भारतीय सेनाका अधिकारीहरूले अनौपचारिक रूपमा भूतपूर्व गोर्खाहरूसम्बद्ध संस्थाका पदाधिकारीलाई पठाएका जानकारीहरूमा "भारतले नेपालमा रहेका भूतपूर्व सैनिकलाई खोप दिनेकुरा प्राथमिकतामा राखेको" उल्लेख छ।
भारतीय सैन्य अधिकारीहरूसँग सम्पर्कमा रहेका भूतपूर्व गोर्खाहरूका भनाइमा अहिले भारतीय अधिकारीहरूले नेपालमा खोप कसरी वितरण गर्ने भन्नेबारे चासो राखिरहेका छन्।
हाल भारतीय सेनामा कार्यरत नेपाली र भूतपूर्व सैनिक नेपाली नागरिक तथा उनीहरूका परिवारले काठमाण्डू, पोखरा र धरानमा रहेका स्वास्थ्यकेन्द्रबाट उपचार सुविधा पाउँदै आएका छन्।
खोपलाई पनि ती तीनवटा केन्द्रमा मात्र केन्द्रित गर्दा सबैलाई वितरणमा समस्या पर्ने भएकाले कसरी व्यवस्थापन गर्ने भन्नेमा भारतीयको चासो रहेको ती भूतपूर्व गोर्खाहरूले बताए।
नेपाल सरकारले खोप कार्यक्रम चलाइरहेका खोप केन्द्रहरूमार्फत खोप उपलब्ध गराउने वा सीमा क्षेत्र नजिकमा रहेका भूतपूर्व गोर्खाहरूलाई सीमावर्ती भारतीय स्वास्थ्य केन्द्रमै बोलाएर खोप दिने भन्नेबारे छलफल भइरहेको बताइएको छ।
भारतको खोप सहायता
नेपाललाई सबैभन्दा पहिले खोप सहायता उपलब्ध गराउनेमा भारत रहेको थियो।
भारतले नेपाललाई १० लाख मात्रा कोभिशील्ड खोप अनुदानमा उपलब्ध गराएको थियो।
नेपालले भारतसँग थप २० लाख मात्रा किने पनि हालसम्म कोभिशील्ड उत्पादकले बाँकी १० लाख मात्रा पठाउन सकेको छैन।
त्यसबाहेक भारतले नेपाली सेनाका लागि पनि एक लाख मात्र खोप उपलब्ध गराएको थियो।
तर पछिल्ला दिनमा भारतमै खोप पर्याप्त नभएको भन्दै भारतबाट खोप निकासीमा कडाइ गरिएको बताइएको छ।









