के माधवकुमार नेपाल एमालेमा रहने सम्भावना टाढिँदै गएको हो? प्रवक्ता ज्ञवाली यसो भन्छन्

नेकपा (एमाले) को स्थायी समितिको बैठकमा पार्टीलाई एक राखेर मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिन्छ भन्ने निष्कर्ष निकालिए पनि 'कतिपय नेताहरूका व्यवहारहरू एकतासँग ठ्याम्मै मिल्ने खालका नरहेको' पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्।

आइतवार बिहान बसेको पार्टी स्थायी समितिको बैठकपछि बोल्ने क्रममा पत्रकारहरूले माधवकुमार नेपाल एमालेमा कायम रहने सम्भावना टाढिँदै गएको देखिएको भन्ने जिज्ञासा राखेका थिए।

जसलाई प्रवक्ता ज्ञवालीले नकारेनन्, तर आफूहरूले 'आशा नमारेको' बताए।

उनको भनाइ थियो, "एमालेलाई थप कमजोर गर्ने, विभाजित गर्ने, वर्तमान सरकारलाई जसरी पनि विस्थापित गर्ने र प्रतिपक्षलाई काँधमा राखेर उनीहरूलाई श्रेष्ठ देखाउने गम्भीर विरोधाभासहरू भएका छन्।"

एकता

शनिवार विपक्षी गठबन्धनका नेताहरूसहित संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा नेता माधवकुमार नेपालले आफूलाई 'प्रधानमन्त्रीको अफर आइसकेको' बताएका थिए।

तर उनले शेरबहादुर देउवाको पक्षमा गरिएका 'हस्ताक्षर फिर्ता लिने र विपक्षी गठबन्धनलाई धोका दिने कुनै सम्भावना नरहेको' बताएका थिए।

आइतवार प्रवक्ता ज्ञवालीले भने, "एकता भनेको जोसँग जे पनि गर्न पाउने हो र?"

उनले नेपाल पक्षका गतिविधि लक्षित गर्दै 'ती केही नेताका चाहना हुनसक्ने तर जनताका चाहनासँग मेल नखाइरहेको' बताए।

असार १६ मा महाधिवेशन समितिको बैठक

बैठकले असार १६ गते दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बस्ने निर्णय समेत भएको बताइएको छ।

तर सर्वोच्च अदालतको २७ जेठमा एक अन्तरिम आदेशमार्फत् दशौँ महाधिवेशन आयोजक कमिटीको निर्णयलाई वैधता दिन नसकिने निर्णय गरेको थियो। ।

जस क्रममा पार्टीले हटाएका कर्णाली प्रदेशका चार एमाले सांसद समेत पुनर्बहाली भएका थिए।

तर प्रवक्ता ज्ञवालीले उक्त आदेशलाई 'गम्भीर त्रुटिपूर्ण' बताउँदै त्यसमा 'दलहरूको आन्तरिक प्रबन्धलाई बेवास्ता गरिएको' बताए।

उनले थपे, "कानुनभन्दा बाहिर गरिएको फैसलाबारे समेत महाधिवेशन कमिटीले आवश्यक निर्णयहरू गर्नेछ।"

'प्रणाली रक्षाका लागि भ्याकेट'

आफूहरू प्रणाली रक्षाका लागि अन्तरिम आदेश खारेजीको माग अर्थात् भ्याकेटमा गएको भन्दै उक्त विषयलाई 'एमालेलाई परेको समस्या भनेर खुच्चिङ नगर्न' प्रवक्ता ज्ञवालीको आग्रह थियो।

"फ्लोर क्रस गर्दा पनि कारबाही हुँदैन भने के यो देशमा दलीय प्रणाली टिक्छ?"

सो बैठकमा कोभिड महामारी र प्राकृतिक विपत्तिबारे समेत छलफल भएको भनिए पनि त्यसबारे प्रवक्ता ज्ञवालीले थप केही बताएनन्।