तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिन्धुपाल्चोक बाढीपहिरोः बारम्बार देखा पर्ने जोखिम कम गर्न यस्ता छन् विज्ञका सुझाव
यसै साता सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा अचानक आएको विनाशकारी बाढीका कारण हेलम्बु र मेलम्ची क्षेत्रका कैयौँ सर्वसाधारण विस्थापित भए भने केही व्यक्तिको मृत्यु भयो।
यो वर्ष मनसुन सुरु भएकै साता उक्त प्राकृतिक विपद्ले धेरै क्षति भयो। यस्तो विपद्बाट जोगिन पूर्वतयारी बलियो हुनुपर्ने विज्ञहरू बताउँछन्।
सिन्धुपाल्चोकजस्तो "जोखिमयुक्त" जिल्लामा त झनै सतर्कता अपनाइनुपर्ने उनीहरूको धारणा छ।
केही वर्षअघि भूकम्पबाट पनि उक्त जिल्ला नराम्ररी प्रभावित भएको थियो। प्रत्येक वर्ष वर्षाका बेला आउन सक्ने बाढी र पहिरोलाई दृष्टिगत गर्दै उक्त क्षेत्रलाई लक्षित गरी दीर्घकालीन रणनीति तयार गर्नुपर्ने विज्ञहरूले औँल्याएका छन्।
कहिले र कहाँ उच्च जोखिम?
विज्ञहरूका अनुसार कुनै पनि क्षेत्रमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा भए सर्वसाधारणलाई सतर्क बनाउनुपर्ने अवस्थाका रूपमा हेरिन्छ।
एक सय ४० मिलिमिटरभन्दा बढी पानी परेमा त्यसले पहिरो जाने अवस्था ल्याउन सक्ने उनीहरू बताउँछन्।
यस्तो डर सिन्धुपाल्चोक तथा अन्य पहाडी जिल्लामा धेरै रहेको विपद्विज्ञ तथा त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र विभागका सहप्राध्यापक रञ्जनकुमार दाहाल बताउँछन्।
"भोटेकोशी, जुगल, हेलम्बुको मासतिर लामो समयसम्म पानी पर्ने गर्छ। ठूलो पानी नपर्ने तर परिरहने हुन्छ। अनि त्यसमा अलि ठूलो (पानी) परिदियो भने त्यसले ठूलो बाढी लिएर आइहाल्छ," उनले भने।
दक्षिण एशियाली मौसमविद्हरूले प्रकाशित गर्ने साउथ एशियन क्लाइमेट आउटलुकले यसपालि नेपालसहित यो क्षेत्रमा औसतभन्दा बढी वर्षा हुन्छ भन्ने प्रक्षेपण गरेको यसअघि नै मौसमविद्हरूले बताएका थिए।
काठमाण्डू विश्वविद्यालयको वातावरण विज्ञान तथा इन्जिनीअरिङ विभागका प्रमुख डा. रिजनभक्त कायस्थले सिन्धुपाल्चोकमा रहेका हिमनदी र त्यहीँका उच्च पहाडी भागमा धेरै पानी पर्ने प्रवृत्तिको असर त्यहाँ विनाशकारी बाढी र पहिरोको रूपमा देखिएको बताउँछन्।
"त्यहाँको भूबनोट नै अलि कच्चा छ। अब यो पानी दुई दिन मात्रै होइन अलि पहिलेदेखि नै परेको थियो। त्यसले गरेर जमिन भिजिरहेको भयो र अलि जोडले पर्दा (पानी) त्यो सबै बगाएर ल्याएको हो,'" उनले भने।
अरू कारण के हुन्?
सन् २०१५ को भूकम्पले गर्दा उक्त क्षेत्रका पहाडमा प्रभाव परेको र "थिलथिलो" जमिनका कारण झनै जोखिम बढेको विज्ञहरू बताउँछन्।
त्यस्तै भूउपयोगको नीति पालना नगरी पूर्वाधार विकास गर्दा पनि जोखिम झन् बढेको उनीहरू औँल्याउँछन्।
नेपालमा यस्तो किसिमको अवस्था धेरै ठाउँमा हुने भए पनि सिन्धुपाल्चोक जिल्लामा भने प्राकृतिक प्रकोप हुने "जोखिमको दृष्टिकोणबाट एक किसिमको केन्द्रबिन्दु" रहेको हिमालय क्षेत्रबारे काम गर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका रिभर बेसिन एन्ड क्राईअस्फिअरका क्षेत्रीय कार्यक्रम व्यवस्थापक अरुणभक्त श्रेष्ठ बताउँछन्।
"मनसुन हाम्रो क्षेत्रको वास्तविकता हो। पानी परेन भने हामी धान लगाउन पाउँदैनौँ, धान लगाउन पाइएन भने खान पाइएन। पानी रिचार्ज भएन। तर यस्तो ठूलो वर्षाले (हाइ इन्टेन्सिटी रेनफल) यस्तो वितण्डा पनि गर्ने हुँदा पानीको आवश्यकता र यो डिजास्टर (विपद्) सँगसँगै रहिरहेको छ। हामीले स्पष्टसँग ट्रेन्ड हेर्दा केही हदमा पानी पर्ने चरित्रमा परिवर्तन पनि देख्दछौँ," जलस्रोतविद् अजय दीक्षितले भने।
कतिपय ठाउँमा भूउपयोग नै जोखिमयुक्त ठाउँमा गएर गरिएकाले पनि समस्या आएको उनी बताउँछन्।
बाढीपहिरोको जोखिम कसरी कम गर्ने?
जलाधारविद् मधुकर उपाध्या सिन्धुपाल्चोक र यस्तै प्रकृतिको समस्या भएका अन्य क्षेत्रमा तत्काल सूक्ष्म रूपमा पानी पर्ने ढाँचाको अध्ययन गरिनुपर्ने बताउँछन्।
"हुन त हामीसँग नाप्ने स्टेशन छैन, तैपनि तरिकाहरू होलान्। अहिले त स्याटलाइट इमेज पनि हुन सक्छ," उनले भने।
प्रत्येक आठ महिनामा दोहोरिने कुरा भएकाले यस्तो अवस्था जतिखेर पनि पर्न सक्छ भन्ने हिसाबले पानी र जमिनको सम्बन्ध हेरेर र थपिएर आउने पानी समेतबारे सोचेर जमिनको प्रयोग गरिनुपर्ने उनी बताउँछन्।
श्रेष्ठ पनि जोखिमको क्षेत्रलाई वर्गीकरण गरी त्यसैअनुसार के गर्न सकिन्छ र के गर्न हुँदैन भन्ने कुरा हेरि भूउपयोग नीति पालना गरिनुपर्ने बताउँछन्।
"फ्लड पास (बाढीका लागि निकास) कति छाड्नुपर्छ, कुन क्षेत्रमा के गर्न सकिन्छ भनेर हेर्न सकिन्छ," उनले भने।
ठूलो जनधनको क्षति भएको र स्थानीय स्तरबाट समाधान गर्न नसकिने अवस्थामा मात्रै प्रकोप हुने बताउँदै उनले त्यस्तो अवस्था आउन नदिन पूर्वतयारी गरिनुपर्ने बताए।
तराईका नदीमा पूर्वसूचनाका प्रणाली राखिएको र त्यसले जीवन जोगाएको उदाहरणहरू रहेको दीक्षित बताउँछन्।
"मेलम्चीमा पनि एक व्यक्तिले मोबाइलमा फोन गर्दा मान्छेहरूलाई भाग्न सहज भयो र ज्यान जोगिएको हामीले पढ्यौँ। तर पहाडी भेगमा 'लीड टाइम' कम हुने हुँदा सहज भने नहुने अवस्था छ," दीक्षितले भने।
"भूउपयोग सही तरिकाले गर्नुपर्छ। बाढी हुन सक्ने स्थानमा बस्ती नबसाल्ने, जोखिमयुक्त स्थानमा नबस्ने गर्नुपर्छ।"
"डोजर र सिमेन्टको विकासको जुन अर्थराजनीति छ त्यसलाई परिवर्तन गर्ने। खासगरी हाम्रो प्राकृतिक प्रणाली, हाम्रो भूगर्भ र हाम्रो हिमालय क्षेत्रको भूबनोट अरू क्षेत्रको जस्तो होइन। यो अत्यन्तै संवेदनशील र आफ्नै खालको छ भन्ने कुरा हामीले बुझ्नुपर्ने छ। त्यसलाई हाम्रो शिक्षामा, विधिहरूमा, तौरतरिकामा ल्याउन जरुरी छ। यही नै बाटो हो भन्ने रामबाण त छैन होला।"
स्थानान्तरण समाधान हो कि होइन?
कतिपयले पटकपटक समस्या दोहोरिरहने स्थानमा रहेका बस्ती नै सार्नुपर्ने र त्यो नै यस्ता विपद्बाट जनधन जोगाउने सबैभन्दा राम्रो दीर्घकालीन उपाय रहेको बताउँदै आएका छन्।
उच्च जोखिम भएको ठाउँमा बसिरहन नहुने भए पनि बस्ती स्थानान्तरण नै गर्ने कुरा भने सामान्य विषय नरहेको श्रेष्ठ बताउँछन्।
बस्ती स्थानान्तरण गर्ने विषयमा सामाजिक पाटो पनि महत्त्वपूर्ण हुने हुँदा यसलाई जटिल विषय मानिन्छ।
"उदाहरणका लागि भूकम्पकै कुरा गरौँ। सन् २०१५ को भूकम्पपछि पनि धेरै बस्तीहरू स्थानान्तरण गर्नुपर्ने, बस्न मिल्दैन भन्ने थियो। तर वास्तविक रूपमा बस्ती स्थानान्तरण गर्ने कार्य भने धेरै कम भयो होला भन्ने मलाई लाग्छ," श्रेष्ठले भने।
मुख्यतः बस्ती नभएको ठाउँमा भने उचित व्यवस्थापन गर्न सकिने र त्यस्ता ठाउँमा भूउपयोग नीति कार्यान्वयन गर्न सके आगामी दिनहरूमा हुन सक्ने थप जोखिम भने न्यून गर्न सकिने उनको बुझाइ छ।
यो पनि हेर्नुहोस्