तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड भारत: हरिद्वार कुम्भमेलामा एक लाख जनाभन्दा बढीको कोरोना भाइरस परीक्षणको रिपोर्ट 'नक्कली', छानबिन सुरु
भारतको उत्तराखण्ड राज्यले निजी प्रयोगशालाहरूले कोभिड परीक्षणको नक्कली प्रतिवेदन दिएको भन्ने आरोप लागेपछि छानबिन गर्न आदेश दिएको छ।
हरिद्वारमा गत एप्रिल महिनामा कुम्भमेला आयोजित हुँदा गरिएका एक लाख वटाभन्दा बढी परीक्षणमा नक्कली नाम, मोबाइल नम्बर र ठेगाना उल्लेख भएको पाइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
त्यतिबेला राज्य सरकारले मेलामा सहभागी हुन गएका मानिसको परीक्षण गर्न निजी प्रयोगशालाहरूलाई जिम्मा दिएको थियो।
कोभिड महामारीको दोस्रो लहर सुरु भएको बेला उक्त मेला आयोजना गर्न दिएको भन्दै उत्तराखण्ड सरकारको चर्को आलोचना भएको थियो।
विभिन्न राज्यबाट प्राप्त विवरणअनुसार हरिद्वारबाट फर्किएका धेरै मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।
नेपालका पूर्वराजा ज्ञानेन्द्र पनि कुम्भमेलामा सहभागी भएका थिए।
दिल्ली हुँदै नेपाल फर्किएपछि उनमा र पूर्वरानी कोमलमा कोभिड पुष्टि भएको थियो।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर
सयौँ प्रतिवेदनमा 'उही नम्बर र ठेगाना'
सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर भारतका विभिन्न स्थानमा अक्सिजन र अस्पतालको शय्या अभाव भएको बेला हजारौँ मानिसहरू मास्क नलगाईकन कुम्भमेलामा सहभागी भएका थिए।
त्यतिबेला अधिकारीहरूले प्रत्येक व्यक्तिको कोभिड परीक्षण गर्ने बताएका थिए।
त्यसका लागि हरियाणा र दिल्लीस्थित प्रयोगशालालाई अधिकांश परीक्षण गर्ने जिम्मा दिइएको थियो।
तर गत साता प्रकाशित विवरणहरूका अनुसार ती प्रयोगशालाले आफ्नो दैनिक कोटाअनुसार परीक्षण गरिएको देखाउन कोभिड परीक्षणको नक्कली प्रतिवेदन दिएको अधिकारीहरूले बताएका छन्।
सयौँ प्रतिवेदनमा उही फोन नम्बर र ठेगाना प्रयोग भएको पाइएको थियो।
"कुम्भमेलाका बेला पाँच ठाउँमा परीक्षण गरेका दिल्ली र हरियाणाका प्रयोगशालाविरुद्ध मुद्दा दर्ता गर्न निर्देशन दिइएको छ," उत्तराखण्ड सरकारका प्रवक्ता सुबोध उनियालले समाचारसंस्था एएनआईलाई बताए।
कुम्भमेलामा सहभागी हुन भारतका विभिन्न स्थानबाट लाखौँ मानिसहरू जान्छन्।
विज्ञहरूले यो वर्ष उक्त मेला स्थगित गर्न मार्च महिनामै सुझाव दिएका थिए।
तर सरकारले त्यसो गरेन।
भारतको अर्को राज्य बिहारमा पनि कोभिड परीक्षणको नक्कली प्रतिवेदनबारे कुरा उठेको छ।
त्यहाँ प्राथमिक स्वास्थ्य केन्द्रहरूले तथ्याङ्क तलमाथि गरेको आरोप छ।