कोभिड भारत: कोरोनाभाइरसविरुद्ध खोप अभियानको सफलता र असफलता

    • Author, दिव्या आर्य
    • Role, बीबीसी न्यूज, दिल्ली

एक अर्ब ४० करोड जनसङ्ख्या रहेको भारतमा कोभिड विरुद्धको खोप अभियान ठूलो चुनौती हुने नै थियो।

खोप कार्यक्रमको सुरुवात सहज रूपमा भएको थियो। ज्यानुअरी १६ तारिखमा भारतले अग्रपङ्क्ति खटिएका पेसाकर्मी र ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिन सुरु गर्‍यो।

तर मे महिनामा जब १८ वर्ष माथिका सबैका लागि खोप अभियान खुला गरियो तब भारतमा खोपको मौज्दात निकै कम भइसकेको थियो।

महामारीको दोस्रो लहरका कारण भारतमा त्यसबेला खोपको माग व्यापक थियो।

तथापि खोपको अभाव मात्रै चुनौती थिएन।

सर्वसाधारणहरूलाई खोप दिने भारतको प्रयासले फरक क्षेत्रहरूमा फरक नतिजा दिनुको कारण योजनाको तर्जुमादेखि पूर्वाधार र गलत जानकारी समेत थिए।

तथ्याङ्क उपलब्ध भएका ७२९ जिल्लाहरूको बीबीसीले गरेको विश्लेषणले प्रतिव्यक्ति खोप दरमा व्यापक असमानता देखाउँछ।

केही जिल्लाहरूले आफ्ना आधा जनसङ्ख्यालाई खोप लगाइसकेका छन् भने अन्य केहीले तीन प्रतिशतलाई मात्रै खोप दिएका छन्।

योजनाको महत्त्व

भारतको दक्षिण पश्चिमी तटीय क्षेत्रमा रहेको सानो जिल्ला माहेको जिम्मेवारी शिवराज मीनाले गत फेब्रुअरी महिनामा सम्हाल्दा उनको काम घटिसकेको थियो।

दोस्रो लहर सुरु हुन लागिसकेको अवस्थामा त्यहाँका करिब ३१,००० सर्वसाधारणहरूलाई तत्काल खोप लगाउनुपर्ने थियो।

तर त्यहाँका व्यक्तिहरू खोपको सुरक्षासम्बन्धी विषयबारे ढुक्क थिएनन्। भिडभाड हुने डरले उनीहरू खोप केन्द्रहरूसम्म पनि जान डराइरहेका थिए।

जम्मा नौ वर्ग किलोमिटर क्षेत्रफल रहेको भारतको सबैभन्दा सानो जिल्लामा सीमित मात्रामा स्वास्थ्य पूर्वाधार छ। त्यसै कारण मीनाले एउटा योजना बनाए।

''मैले राजनीतिक नेता, धार्मिक नेता अनि समुदायका वृद्धहरूलाई छलफलका लागि बोलाएँ र खोपको प्रभावकारिताबारे बुझाएँ। खोप लगाएपछि अग्रपङ्क्तिमा खटिएकाहरूमा न्यून मात्रामा प्रतिकूल प्रतिक्रिया उत्पन्न भएको बताएँ,'' उनले भने।

त्यसपछि उनले स्वास्थ्यकर्मी, नर्स र शिक्षकहरूको ३० टोली बनाए। उनीहरू घर घरमा गएर सम्झाइबुझाइ गर्ने र खोप अभियानमा मानिसहरूलाई सहभागी गराउने गर्थे।

त्यो रणनीतिले काम गर्‍यो। माहेका ५३ प्रतिशतभन्दा बढी सर्वसाधारणहरूले खोपको पहिलो मात्रा प्राप्त गरेका छन् जुन भारतीय जिल्लाहरूको हिसाबले हेर्दा निकै राम्रो हो।

"तपाईँले समस्या औँल्याउनुपर्ने हुन्छ र समाधान त्यसैबाट खोज्न सकिन्छ," मिनाले भने।

'हामी त्रसित छौँ'

भारतको उत्तर पूर्वी राज्य आसामको दक्षिण सलमारा जिल्ला खोप लगाउनेहरूको सङ्ख्याका हिसाबले सबैभन्दा पछाडि छ।

बाङ्गलादेशको सीमामा पर्ने मुस्लिमहरूको बाहुल्यता रहेको यो कृषिप्रधान गाउँमा अधिकारीहरूका अनुसार करिब पाँच लाख जनसङ्ख्यामध्ये जम्मा तीन प्रतिशतले मात्रै खोप लगाएका छन्।

"खोप लगाएपछि मानिसहरूको मृत्यु हुन्छ भन्ने मैले सुनेको छु," एक जना कृषक मोनोवार इस्लाम मण्डलले भने। उनले मुस्लिम समुदायविरुद्ध षडयन्त्र गरिएको आरोप लगाए।

राज्यमा हालसालै भएको निर्वाचनमा विभाजनकारी अभियान सञ्चालन गरेको भारतीय जनता पार्टी भाजपाले जित हात पारेको थियो।

भाजपाले सीमाबाट आएका अनधिकृत शरणार्थीहरूलाई निसाना बनाएका थियो। त्यसरी आउनेमा अधिकांश मुस्लिमहरू छन्।

मुख्यमन्त्री हिमांत विश्व शर्माले भाजपालाई मुस्लिमहरूको भोट आवश्यक नपर्ने भनेर दिएको अभिव्यक्ति सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ छापेका थिए।

"भाजपाले मुस्लिम अल्पसङ्ख्यकहरूलाई मन पराउँदैन र उसले हामीलाई आसामबाट निकाल्ने बताएको छ। त्यसो भए उनीहरू अहिले किन निःशुल्क खोप दिने कुरामा उदार भएका छन्?"

"हामी त्रसित छौँ र हामीलाई शङ्का छ त्यस कारण हामीलाई यो खोप चाहिँदैन," मण्डलले भने।

यस्तै भावना अन्य धेरैको रहेको पाइन्छ।

तर अधिकारीहरूले भने खोप कम खपत हुनुको कारण यो नरहेको बताएका छन्।

सहायक आयुक्त हिवरे निसर्ग गौतमका अनुसार जिल्लाको भौगोलिक बनोटका कारण धेरै मानिसहरू लामो बाटो हिँडेर खोप केन्द्रसम्म जान चाहेका छैनन्।

गलत सूचनाबाट पनि प्रभाव

हालसालै निर्वाचन भएको दक्षिण भारतस्थित तमिलनाडुमा पनि खोप लगाउनेहरूको सङ्ख्या निकै कम छ।

अधिकांश जिल्लाहरूमा करिब चारदेखि छ प्रतिशत सर्वसाधारणहरूले मात्रै खोप लगाएका छन्।

सबैभन्दा ठूलो जिल्लामध्ये एक तिरुवन्नामलाई गरिब जिल्लामध्ये पनि पर्छ।

"निर्वाचनका बेला कोरोनाभाइरस र खोपबारे निकै कम चर्चा गरिएको थियो," केबल टेलिभिजन मर्मतसम्भार गर्ने सारभाननले भने।

उनको कामको प्रकृतिका कारण उनी मानिसहरूको घर भित्रै जानुपर्ने हुन्छ। तर उनले हालसम्म खोप लगाएका छैनन्।

खोप लगाउन आफू कहिल्यै आतुर नरहेको उनी बताउँछन्।

"उनीहरूले अहिले यस बारेमा बोलिरहेका छन् तर त्यस बेला भने मौन थिए। मानौँ यसरी कि त्यस बेला कोरोना नै थिएन।"

अन्य केहीले भने खोपबारे डर कारक रहेको बताएका छन्।

एक जना प्रख्यात कलाकारको खोप लगाएको केही दिनमै मृत्यु भएको थियो।

"गाउँमा खोप शिविर सञ्चालन गरिएको थियो। तर खोप लगाएको केही समयमै कलाकार विवेकको मृत्यु भएका कारण मानिसहरू डराएका छन्," एक जना कृषकले भने।

"म चाहिँ खोप लगाउँछु। तर म घर बाहिर कतै नगएकाले मैले अलि पछि खोप लिँदा हुने सोचेको छु।"

पूर्वाधारको जाल

राजधानी दिल्ली - खासगरी दक्षिणी दिल्लीको परिदृश्य निकै फरक छ। ११ जिल्लामध्ये यो क्षेत्रमा सबैभन्दा कम जनसङ्ख्या छ र यो क्षेत्र धनी पनि छ।

यो क्षेत्रको अवस्था राम्रै छ। उसले हालसम्म खोपको पहिलो मात्रा करिब ११ लाख जनसङ्ख्यामध्ये ४३ प्रतिशतलाई दिएको छ।

अभावका कारण सहरी क्षेत्रका कैयौँ भारतीयहरूले खोप लगाउनका लागि समय पाउन नसकेको गुनासो गरेका थिए।

तर २७ वर्षकी महिमा गुलाटीले भने खोप लगाउनका लागि समय लिन सफल भइन्।

"केही मिनेट मात्रै लाग्यो। मैले आफ्ना लागि, भाइ र केही साथीहरूका लागि समय मिलाएँ र हामीले घरबाट पाँच मिनेट मात्रै पर रहेको एउटा सरकारी विद्यालयमा पुगेर खोप लगायौँ," उनले भनिन्।

"त्यहाँ भिड थिएन। सबै कुराको राम्रोसँग व्यवस्थापन गरिएको थियो।"