कोभिड नेपालः हवाई उडान कार्यविधि पारित नहुँदा कर्णालीमा बिरामीलाई कस्तो असर

तस्बिर स्रोत, NAVARAJ MAHATARA
- Author, कृष्णमाया उपाध्याय
- Role, जुम्ला
कर्णाली प्रदेशका हुम्ला र डोल्पा जिल्लाका कोभिड-१९ का बिरामीहरू रिफर हुने क्रम बढ्दै गए पनि हवाई उडानसम्बन्धीको कार्यविधि पारित नहुँदा समस्या देखिएको अधिकारीहरूले बताएका छन्।
जिल्लामा उपचार सम्भव नभएका बिरामीको थप उपचारका लागि लाखौँ रकम खर्च गर्नुपर्ने अवस्था रहेको सर्वसाधारणले जनाएका छन्।
हवाई उडानको विकल्प नभएका ती जिल्लामा आर्थिक स्रोत जुटाउन सक्ने मानिसले आफन्तलाई जुम्ला, काठमाण्डू, नेपालगन्ज र सुर्खेत लगायतका अस्पतालमा उपचार गराउँदै आएका छन्।
तर विपन्न नागरिकहरू उपचार अभावमा मर्नुको विकल्प नभएको डोल्पाको ठूलीभेरी नगरपालिकाकी दिलमाया केसी बताउँछिन्।
रकम जुटाउन कठिन
"हवाई भाडामा मात्रै सहुलियत दिएको भए हामीलाई सहज हुने थियो," उनले भनिन्।
"अहिले एक पटकको हवाई भाडा आठ लाख रुपैयाँजति पर्छ, कतिपयले घरखेत बेचे पनि त्यति रकम जुटाउन सम्भव छैन।"
अस्पतालले रिफर गरेको पाँच दिन भइसक्दा पनि रकम जुटाउन नसक्दा अन्यत्र उपचार गर्न लिन नसकेको डोल्पाका दत्तबहादुर शाहीले बताए।
उनले भने, "मेरा दाजुको उपचार यहाँ सम्भव छैन भनेर अस्पतालले भनेपछि सहयोगका लागि सबै निकायसँग माग गरेँ। तर कतैबाट पनि सहयोग हुन सकेन।"
"सरकारले कि जिल्लामा राम्रो उपचारको व्यवस्था गर्नुपर्यो कि त नागरिकलाई हवाई उडानका लागि आर्थिक सहयोग गर्नुपर्यो।"
कार्यविधिमाथि काम
हवाई उडानसम्बन्धी कार्यविधि बनिसकेको र त्यसलाई मन्त्रिपरिषद्बाट पारित गर्न बाँकी रहेकाले तत्काल पहल गरिने सरकारका प्रवक्ता समेत रहेकी आन्तरिक मामिला, कानुन युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले बताइन्।
कार्यविधि पारित भएपछि जोखिममा परेका नागरिकको उद्धारमा राहत मिल्ने भएको उनको भनाइ छ।
यसैबीच कोरोनाभाइरस सङ्क्रमणको जोखिम गाउँगाउँमा हुन थालेपछि कर्णाली प्रदेश सरकारले थप परीक्षण किट पठाइएको जनाएको छ।
सङ्क्रमणको दर र जनसङ्ख्यालाई दृष्टिगत गर्दै प्रत्येक जिल्लामा एन्टिजन किट पठाइएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ।
स्वास्थ्य सेवा निर्देशक रविन खड्काले भने, "अहिले एक लाख ५५ हजार किट पठाएका छौँ। आवश्यकताअनुसार अरू पठाउने तयारी पनि गरेका छौँ।"
पछिल्ला केही दिनयता स्थानीय तहहरू पनि सक्रिय भएकाले कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्यामा पनि केही कमी आएको उनको दाबी छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर













