कोभिड नेपाल: कोरोना भाइरस सङ्क्रमण भएका दार्चुला जिल्लावासीलाई 'फोनबाटै स्वास्थ्य सेवा'

दार्चुला फोन स्वास्थ्य सेवा
    • Author, मञ्जु कल्याल
    • Role, दार्चुला

कोभिड-१९ पुष्टि भएपछि दार्चुलाका सुरेन्द्र सिंह बिष्ट अहिले होम आइसोलेशनमा छन्। उनलाई नियमित रूपमा एक नर्सले फोन गरेर स्वास्थ्य अवस्था कस्तो छ भनेर सोधिरहन्छिन्।

ती नर्सले दिएको सुझाव आफूले मान्ने गरेको बिष्टले बताए।

"कोही स्वास्थ्यकर्मी घरमा भेट्न आइदिए पनि हुन्थ्यो जस्तो लागेको छ," उनी भन्छन्।

जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा यसरी फोन स्वास्थ्यसेवा सञ्चालनमा ल्याइएको बताइएको छ।

उक्त फोन सेवा कार्यक्रममा तीन स्वास्थ्य सहायक र चार स्टाफ नर्स छन्।

उनीहरूले मानसिक स्वास्थ्यसम्बन्धी तालिम पनि लिएका छन्।

दार्चुला अस्पताल

अधिकांश सङ्क्रमित घरमै

अहिले जिल्लामा कोरोनाभाइरस सङ्क्रमितमध्ये थोरै मात्रै अस्पतालमा रहेका र ९५ देखि ९७ प्रतिशत बिरामी घरमै आइसोलेशनमा बसिरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

सङ्क्रमित व्यक्तिको स्वास्थ्य स्थिति मूल्याङ्कन गर्न, समयमै अस्पतालमा पुर्‍याउन, मानसिक स्वास्थ्यलाई बिग्रिन नदिन तथा कोभिड-१९ बाट हुने क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए।

यसरी होम आइसोलेशनमा बस्दै गर्दा कोरोनाभाइरस भएका व्यक्तिमा परीक्षण गर्ने कि नगर्ने, कुन औषधि प्रयोग गर्ने, कस्तो खानेकुरा खाने, कस्ता खालका लक्षण भए अस्पतालमा जाने लगायतका अन्योल रहने गरेको उनी बताउँछन्।

तर फोनबाट परामर्श दिँदा अन्योल कम भएको उनले बताए।

यसरी फोन स्वास्थ्य सेवाबाट जिल्लामा होम आइसोलेशनमा अढाई सय जनाभन्दा बढी सक्रिय सङ्क्रमितले परामर्श तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको भट्टले बताए।

होम आइसोलेशनमा बस्दै गर्दा कस्तो समस्या छ, स्वास्थ्यमा सुधार भएको छ कि छैन तथा पुनः कुनै लक्षण देखिएको छ कि भनेर फोनबाट बुझ्ने गरेको फोन स्वास्थ्य कार्यक्रममा खटिएकी स्टाफ नर्स राजमति ठगुन्नाले बताइन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

एक दिनमा कति जनालाई परामर्श

एक स्वास्थ्यकर्मीले एक दिनमा २५ जनालाई फोनबाटै परामर्श दिने लक्ष्य राखिएको छ।

यसरी काम गर्दा दुर्गम क्षेत्रमा नेटवर्कले राम्रो सँग काम नगर्दा साथै कसैकसैले फोन नै नउठाउँदा समस्या हुने गरेको ठगुन्नाले बताइन्।

स्वास्थ्यकर्मीले १०-१५ दिन होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई दुई पटक परामर्श दिने तथा कुनै लक्षण देखिएको छ कि भनेर सोध्ने गरेको बताइन्छ।

दशदेखि १२ दिनमा रुघाखोकी अनि ज्वरो आइरहेको भए दिनमा एक पटक फोन गरेर के छ कस्तो छ स्वास्थ्य अवस्था भनेर सोध्ने र स्वास्थ्यमा कुनै समस्या आएमा नजिकको स्वास्थ्यकर्मीलाई भेटेर जाँच गर्न लगाउने गरेका छन्।