कोभिड नेपालः भेरी अस्पतालमा कुटपिट भएपछि स्वास्थ्यकर्मी आन्दोलित, छानबिन र कारबाहीको माग

आन्दोलित स्वास्थ्यकर्मी
    • Author, विमला चौधरी
    • Role, नेपालगन्ज

कोभिड-१९ भएका बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको घटनालाई लिएर नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्सहरूले आन्दोलन थालेका छन्।

बिहीवार राति दाङका एकजना सङ्क्रमितको निधन भएपछि उनका आफन्तहरूले उपचारमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण गरेको बताइएको छ।

शुक्रवार एक वक्तव्य जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि उक्त घटनाप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ। उसले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ आफ्नो पेसागत धर्म निभाउने वातावरण बनाइदिन अपील पनि गरेको छ।

"नेपाल सरकारले तोकेको उपचार निर्देशिकाअनुसार उपचार गरिरहेका भेरी अस्पताल, नेपालगन्जका स्वास्थ्यकर्मीहरूमाथि गए राति भएको दुर्व्यवहारप्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ," मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी वक्तव्यमा भनिएको छ।

"यसरी कहीँकतै कसैले कुनै बहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छृङ्खल तथा गैरकानुनी अमानवीय गतिविधिहरूमा शून्य सहनशीलता राखी कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ आदि अनुसार कडाभन्दा कडा कारबाहीको प्रबन्ध गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ," डा. अधिकारीले भनेका छन्।

के भन्छन् आक्रमणमा परेका स्वास्थ्यकर्मी

आक्रमणमा परेका स्वास्थ्यकर्मी अस्पतालको कोभिड वार्डमा खटिएका थिए।

बिरामीको उपचारमा खटिएका डा. चन्द्रप्रकाश साहुसहित नर्सहरू सदीक्षा गैरे, वन्दना श्रेष्ठ र आश्विन गुरुङले अस्पतालको पहिलो तलाबाट हाम फालेर ज्यान जोगाएको अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन्।

आक्रमणमा परेकी नर्स सदीक्षा गैरेले ज्यान जोगाउन आफू क्याबिनको शौचालयमा लुकेको तर त्यहाँ पनि आक्रमण भएपछि झ्यालबाट बाहिर हाम फालेर बाँच्न सफल भएको बताइन्।

उनले भनिन्, ''हामी एक तलामाथि झ्यालबाट हाम फाल्दा तल इँटैइँटा थियो, हामीलाई खुट्टामा चोट लागेको छ, तर बाँच्न सफल भयौँ।''

उनले आक्रमणका क्रममा मृतकका आफन्तले ड्यूटीमा रहेका नर्सहरूमाथि हातपात गरेको पनि आरोप लगाइन्। ती मृतकको उपचारका क्रममा पनि आफन्तहरूले आफूहरूलाई मानसिक तनाव दिएको उनको भनाइ छ।

आन्दोलित स्वास्थ्यकर्मी

"आफ्नो ज्यानको बाजी लगाएर कोभिड-१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा" नर्सिङ सङ्घ बाँकेले अस्पताल परिसरमै शुक्रवार प्रदर्शन गरेको हो।

पक्राउ परेका दोषीलाई कारबाहीको लिखित प्रतिबद्धता नजनाएसम्म र नर्सहरूको सुरक्षाको ग्यारेन्टी नहुँदासम्म आन्दोलन नरोकिने नर्सिङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी केसी ओलीले बताइन्।

उनले भनिन्, ''आइसोलेशनमा रहेका बिरामीलाई उपचारबिना मर्न दिनु भएन, केही स्वास्थ्यकर्मी र नर्स उपचारमै रहे पनि हामी अहिले आन्दोलनमा छौँ, सुरक्षाको ग्यारेन्टी र दोषीलाई कारबाही नगर्दासम्म सबैजना काममा फर्किँदैनौँ।''

अस्पतालका सूचना अधिकारी डा. सङ्केत रिसालले उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथिको आक्रमणले सिङ्गो अस्पतालका स्वास्थ्यकर्मीको मनोबल घटेको बताए।

उनले पनि दोषीमाथि कडा कारबाही नहुँदासम्म उपचारमा फर्किन सक्ने सम्भावना नरहेको बताए।

घटनास्थलमा रहेकाहरूले बिरामीका आफन्तले उपचारका क्रममा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै आक्रमण गरेको जनाएका बताइएको छ।

त्यस क्रममा उनीहरूले अस्पतालको आईसीयूमा प्रवेश गरी तोडफोड पनि गरेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा मृतकका दुई छोरा र एक भाइ गरी तीन जनालाई नियन्त्रणमा लिइएको छ।

उक्त घटनाको छानबिनका लागि स्थानीय प्रशासनले बिहीवार मध्यराति सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर बिष्टको संयोजकत्वमा छानबिन समिति पनि बनाएको बताएको छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

सर्वत्र विरोध

बाँकेस्थित स्वास्थ्य सेवासम्बद्ध विभिन्न सङ्घसंस्थाका १४ जना व्यक्तिहरूले संयुक्त वक्तव्य जारी गर्दै "उक्त जघन्य अपराधमाथि संलग्नहरूलाई यथाशीघ्र कारबाही" को माग गरेका छन्।

उनीहरूले बाँके जिल्लाका सबै स्वास्थ्यसंस्थामा आन्दोलन गरिने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय नै हुने वक्तव्यमा उल्लेख गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दोस्रो पटक सङ्क्रमण भएको बेला पनि बिरामीको उपचारमा खटिएकी नर्स

विपक्षी दलद्वारा कारबाहीको माग

उक्त घटनाका दोषीलाई कडा कारबाही गर्न विपक्षी दलहरूले पनि माग गरेका छन्।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घटनाको निन्दा गरेका छन्।

उनले ट्विटरमार्फत् आफ्नो भनाइ सार्वजनिक गर्दै "स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही"को माग गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सामाजिक सञ्जालमार्फत् उक्त घटनालाई "अमानवीय व्यवहार" भनेका छन्।

घटनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि दाहालले बताएका छन्। उनले हमलामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले पनि ट्वीट गर्दै उक्त कार्यलाई "अक्षम्य आपराधिक" भनेका छन्। उनले पनि कारबाहीको माग गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड बिरामीले भरिएको भेरी अस्पतालमा स्वास्थ्यकर्मीको अवस्था

के भन्छ प्रदेश सरकार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले उक्त घटनाको निष्पक्ष छानबिन हुने जनाएका छन्।

ट्वीट गर्दै उनले लेखेका छन्, "बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ। निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनेछ।"

त्यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही अघि बढाइने बताए।

"घटनामा संलग्न जोकोहीलाई पनि कारबाही हुन्छ," उनले भने, ''अहिले स्वास्थ्यकर्मीको मनोबल बढाउन अस्पतालमा थप ३० जनाभन्दा बढी सुरक्षाकर्मी खटाइएको अवस्था छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘निको भएपछि कोभिड बिरामीको सेवामै फर्किन्छु’