कोभिड नेपाल: गण्डकी प्रदेशका 'गाउँगाउँमा कोरोना भाइरस', तर परीक्षण गराउन आनाकानी

गोरखा बारपाक

तस्बिर स्रोत, Shiva Upreti

तस्बिरको क्याप्शन, अहिले गोरखाको बारपाकमा कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखा परेका छन्
    • Author, नारायण कार्की
    • Role, पोखरा

कोरोनाभाइरसको दोस्रो लहर घना बसोबास भएका सहरी क्षेत्रमा मात्र सीमित नरहेर गण्डकी प्रदेशका गाउँगाउँमा फैलिएको अधिकारीहरूले बताएका छन्।

गाउँघरमा हुने विवाह, चौरासी पूजाजस्ता धार्मिक र सामाजिक सांस्कृतिक गतिविधिमा हुँदै आएका जमघटले कोरोनाभाइरस सङ्क्रमण फैलाउन सघाउ पुगेको स्वास्थ्यकर्मी र जनप्रतिनिधिले बताएका छन्।

कोरोनाभाइरसको लक्षण देखिए पनि स्वाब परीक्षणमा ग्रामीण समुदाय अग्रसर नहुँदा यसको नियन्त्रणमा चुनौती थपिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूको मत छ।

गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँपालिकाको ओडा नं १ र २ बारपाकमा केही समय अघिदेखि कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको सङ्ख्या बढेको मात्र होइन मृत्यु हुने क्रम पनि बढेको बताइन्छ।

तर गाउँपालिकाले स्वाब परीक्षणको तीन पटक प्रयास गर्दा पनि उल्लेख्य रूपमा स्थानीय जनता नआएको गाउँपालिका अध्यक्ष विष्णु भट्टको दुखेसो छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

परीक्षण गराउन सङ्कोच

"कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो भने समाजमा हेप्छन्, घृणा गर्छन् भन्ने धारणाका कारण परीक्षण गर्न नमान्ने गरेको अवस्था छ," उनले भने।

अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका तीन जना र मिल्दोजुल्दो लक्षण भएका छ जनाको मृत्यु भएको र झन्डै २०० जना बिरामी परेको उनले जानकारी दिए।

कोरोनाभाइरसको सङ्क्रमण परीक्षणका लागि गाउँपालिकाको आग्रहमा पोखराबाट एउटा स्वास्थ्य टोली शुक्रवार बारपाक पुगेको छ।

दक्षिणी पर्वतको बिहादी गाउँपालिकामा भएको दुईवटा वैवाहिक कार्यक्रमपछि वडा नं १ मा कोरोनाभाइरसको सङ्क्रमण फैलिएको र त्यसलाई नियन्त्रणको प्रयास भइरहेको गाउँपालिका उपाध्यक्ष डम्बरकुमारी गुरुङले बताइन्।

बाहिरबाट गाउँमा आउनेलाई घरमै क्वारन्टीनमा बस्न गाउँपालिकाले अनुरोध गरे पनि त्यसको बेवास्ता हुँदा समस्या थपिएको उनको आकलन छ।

कोभिड परीक्षण

तस्बिर स्रोत, RSS

बागलुङका १० वटै नगरपालिका र गाउँपालिकाका ग्रामीण क्षेत्रमा पनि कोभिडभाइरस फैलिँदै गएको र सङ्क्रमणको आशङ्का भएका मानिसले परीक्षण गर्न नमान्ने समस्या देखिएको बागलुङ स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रसाद घिमिरे बताउँछन् ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्य कास्की जिल्लामा कोरोनाभाइरसको सङ्क्रमण सहरी क्षेत्रमा सघन रूपमा देखिए पनि बिस्तारै गाउँपालिकाहरूमा फैलिएको छ र परीक्षणको दायरा बढाफ चाँडै सङ्क्रमित पत्ता लगाउन एन्टिजन परीक्षण बढाइएको बताउँछन्।

कास्की जिल्लामा मात्र होम आइसोलेशनमा ३,००० कोरोनाभाइरस सङ्क्रमित भएका र तिनको अनुगमनमा स्वास्थ्य कार्यालय कास्कीले कठिनाइ बेहोर्दै आएको छ।

तनहुँ कोभिड

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, केही जिल्लामा घरघरमा गएर जनप्रतिनिधिहरूले कोभिड भएका मानिसको हालखबर सोध्ने गरेका छन्

पर्वत जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार अहिले प्रमुख समस्या गाउँमा छ।

कोरोनाभाइरस सङ्क्रमित व्यक्ति जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल ल्याउने कारणले कतिपयको बाटोमै मृत्यु भएको दुखद घटना भएको तीतो अनुभव सँगालेका छन् उनले।

सहरदेखि गाउँसम्म फैलिएको कोरोनाभाइरस सङ्क्रमणको जालो तोड्नु प्रमुख चुनौती भएकोमा विज्ञहरू सहमत छन्।