कोभिड नेपाल: सबै स्थानीय तहमा 'एन्टिजन परीक्षण गरिने', सहरमा 'एन्टिबडी परीक्षण गर्न' विज्ञको सुझाव

Reuters

तस्बिर स्रोत, Reuters

नेपालका सबै जिल्लामा कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि सबै स्थानीय तहमा समुदाय स्तरमा एन्टिजन परीक्षण गर्ने कार्य अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

"समुदाय स्तरमा फैलिएको भनेर त हामीले अलि अगाडि नै घोषणा गरेकै हो। अहिले सबैतिर परीक्षण गरौँ, चाँडै आइसोलेशन गरौँ भनेर एन्टिजन हरेक स्थानीय तहमा पठाउने गरी काम अघि बढाएका छौँ," मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने।

उनका अनुसार मन्त्रालयले स्थानीय तहहरूमा एन्टिजन र आवश्यक सामग्री पठाउन सुरु गरिसकेको छ।

"अहिले हामीसँग एन्टिजन पनि छ, प्रशस्त आउने क्रम पनि सुरु भएको छ," उनले भने।

तर स्थानीय तहमा पठाइएका झन्डै ११ लाख एन्टिजन किटबाट भइरहेका परीक्षणको विवरण समयमा प्राप्त नहुँदा केही दिनदेखि परीक्षणको सङ्ख्या कम देखिएको अधिकारीहरूले बताएका छन्।

केही विज्ञहरूले ग्रामीण भेगमा एन्टिजन परीक्षण र काठमाण्डू उपत्यकासहित सङ्क्रमण धेरै फैलिएका सहरी क्षेत्रमा एन्टिबडी परीक्षण उपयुक्त हुने तर्क गरेका छन्।

अहिले नेपालमा कोभिड-१९ परीक्षणको अवस्था के छ

नेपालमा कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन पीसीआर र एन्टिजन गरी दुईवटा परीक्षण विधि अपनाइएको छ।

कोभिडको एन्टिजन परीक्षणका लागि नमुना सङ्कलन गरिँदै

तस्बिर स्रोत, MOHP

केही दिनदेखि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको छ। तर परीक्षण गरिएका मानिसमा सङ्क्रमण देखिने दर भने खासै नघटेको तथ्याङ्कले देखाउँछ।

वैशाख ७ गते विवरणमा सबैभन्दा बढी २२,३५३ जनाको परीक्षण भएको देखिएकोमा आइतवार त्यो सङ्ख्या झरेर १२,७७० पुगेको देखियो।

एन्टिजन परीक्षणको सङ्ख्या केही बढेको भए पनि परीक्षणको कुल सङ्ख्या किन घटेको होला त?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता पनि रहेका इपिडियोमोलोजी तथा रोगनियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडैल लक्षण भएका अथवा अस्पताल जानै पर्ने मानिसले मात्र परीक्षण गर्न गएकाले पनि त्यसो भएको हुन सक्छ।

"अर्को, एन्टिजन हामीले समुदायमै वितरण गरेका छौँ। सातवटै प्रदेशमा पुर्‍याउँदा डेढ लाखदेखि दुई लाख (किट)सम्म प्रत्येक प्रदेशलाई वितरण गरेको अवस्था छ। एन्टिजन परीक्षणको रिपोर्ट आएपछि परीक्षण अलिकति बढेको देखिएला," उनले भने।

नेपालमा कोभिड परीक्षण. गत ७ दिन गरिएको पीसीआर र एन्टिजन परीक्षण र पुष्टि भएका सङ्क्रमित सङ्ख्या. .

डा. पौडेलका अनुसार एन्टिजन परीक्षणको नतिजाबारे सूचना पाउन पनि केही चुनौती छन्।

"सबै ठाउँमा इन्टरनेट त्यही लेभलको छैन, सबै ठाउँबाट सूचना जम्मा हुँदै, जिल्ला अनि प्रदेश र केन्द्रमा आउन पनि समय लागेको हुन सक्छ," उनले भने।

स्थानीय तहबाट जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म विवरण आएमा परीक्षणको सङ्ख्या बढेको देखिने उनको भनाइ छ।

एन्टिजन परिक्षण स्थानीय स्तरमै गर्न सकिने र सङ्क्रमितको सम्पर्कमा आएका र लक्षण देखिएका अन्य व्यक्तिको पीसीआर परीक्षण गर्न तोकिएको ठाउँका प्रयोगशालामा जान सम्भव नभएकाले प्रयोगशालामा आउनेको सङ्ख्या पनि घटेको हुन सक्ने अनुमान छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

काठमाण्डूमा पनि एन्टिजन परीक्षण

डा. अधिकारीका अनुसार समुदायमा परीक्षणका लागि काठमाण्डू उपत्यकाभित्रका तीनवटै जिल्लाका स्थानीय तहलाई मन्त्रालयले नै एन्टिजन उपलब्ध गराइसकेको छ।

काठमाण्डू महानगरपालिकाले शुक्रवारदेखि त्यस्तो परीक्षण सुरु गरिसकेको छ।

कोभिड परीक्षणलाई स्वाब सङ्कलन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, काठमाण्डूमा अन्यत्रभन्दा बढी सङ्ख्यामा सङ्क्रमित फेला पर्ने गरेका छन्

महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरले जारी गरेको सूचनामा "सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका, कोभिडको लक्षण देखा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका र निषेधाज्ञामा पनि सेवा प्रदान गरिरहेका"को एन्टिजन परीक्षण गरिने उल्लेख छ।

अन्य जिल्लाका स्थानीय तहका लागि प्रदेश सरकारबाट एन्टिजन वितरण हुने डा. अधिकारीले बताए।

'गाउँमा एन्टिजन र सहरमा एन्टिबडी परीक्षण'

मन्त्रालयले सबै स्थानीय तहमा एन्टिजन परीक्षण गर्ने योजनाअनुसार गत साताबाट स्थानीय तहहरूमा परीक्षण किट पठाउन थालिएको मन्त्रालयले जनाएको छ।

कतिपय विज्ञहरू भने काठमाण्डू उपत्यका र धेरै सङ्क्रमण फैलिएका सहरी क्षेत्रमा अहिले एन्टिजन परीक्षण गर्नुभन्दा एन्टिबडी परीक्षण गर्न उपयुक्त हुने सुझाव दिन्छन्।

एन्टिजन परीक्षण

तस्बिर स्रोत, MOHP

तिनैमध्येका एक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च यूनिट संयोजक डा. शेरबहादुर पुनका भनाइमा सहरी क्षेत्रमा अब सङ्क्रमण घट्दो क्रममा रहेकाले एन्टिजनभन्दा एन्टिबडी परीक्षण आवश्यक देखिएको हो।

उनी भन्छन्, "दुई-चार साताअघि एन्टिजन गरेको भए अझ राम्रो हुन्थ्यो। अब सहरी क्षेत्रमा एन्टिबडी परीक्षण गरेर कतिलाई सङ्क्रमण भएको रहेछ त भन्ने पत्ता लगाउन सकिन्छ, एन्टिजनमा त अब कमै सङ्ख्या देखाउन सक्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'श्रीमान् सङ्क्रमित छन्, आर्थिक अवस्था नाजुक छ, के गरेर खाने?'

किन एन्टिजन परीक्षण?

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रमा अहिले सङ्क्रमण व्यापक फैलिएको खबरहरू आइरहेकाले त्यतातिर एन्टिजन परीक्षण व्यापक बनाउनुपर्ने डा. पुनको धारणा छ।

"अब त गाउँगाउँमा फैलिसकेको खबर आइरहेका छन्। त्यसैले गाउँमा व्यापक रूपमा एन्टिजन परीक्षण गरेर पोजिटिभ आउनेलाई अलग्गै राखिहाल्नुपर्छ।"

कतिपय जनस्वास्थ्यविद्हरूले नेपालमा "अहिले घरैपिच्छेजस्तो सङ्क्रमण देखा परिरहेकाले" समुदाय स्तरमा व्यापक परीक्षण गर्नुका साथै विभिन्न स्थानमा सर्वेक्षणका रूपमा पनि परीक्षण गरेर सङ्क्रमणको वास्तविक अवस्था पत्ता लगाउन सुझाव दिँदै आएका छन्।

यद्यपि अहिले सर्वेक्षणका रूपमा समुदाय स्तरमा विभिन्न विधिबाट परीक्षण गर्नेबारे छलफल चलेपछि निर्णय भइनसकेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताए।

नेपालमा आइतवार अपराह्ण सार्वजनिक विवरणअनुसार अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या पाँच लाख ५७,००० नाघेको छ भने मृतकको सङ्ख्या ७,२७१ पुगेको छ।

अहिले नेपालमा एक लाखभन्दा बढी पुष्टि भएका सङ्क्रमित भएको मन्त्रालयलको तथ्याङ्कले देखाउँछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'परीक्षाको तरिका र नयाँ मिति थाहा नभएपछि कसरी तयारी गर्ने?'

परीक्षण गर्ने क्षमता कस्तो छ

नेपालभरि पीसीआर विधिबाट परीक्षण गर्ने ९० वटा प्रयोगशाला भएको र तिनलाई पूर्ण क्षमतामा सञ्चालन गरे प्रत्येक दिन २८,००० वटासम्म परिक्षण गर्न सकिने बताइएको छ।

प्रयोशालाहरुलाई कर्मचारी थप्न र दिनमा दुई पटक स्वाब सङ्कलन गरेर परिक्षण लगायतका कार्य अघि बढाउन भनिसकिएको प्रवक्ता पौडेलले बताए।

स्वास्थ्य मन्त्रालयले केही समययता एन्टिजन परिक्षणको दायरा बढाइएको बताउँदै लक्षण देखिएको अवस्थामा स्थानीय तहहरूले तोकेका स्थानमा गएर परीक्षण गराउन सर्वसाधारणहरूलाई आग्रह गरेको छ।

Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, बिरामीलाई दिने अक्सिजन कहाँबाट आउँछ