कोभिड नेपालः घट्दो परीक्षणबीच सङ्क्रमित घट्ने क्रम जारी, थप १०९ जनाको मृत्यु

नेपालमा थप ४,३६९ जनामा कोरोनाभाइरस सङ्क्रमण र १०९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।
विगत २४ घण्टामा गरिएका १०,९८६ वटा पीसीआर परीक्षणमा ३,७०२ जनामा र १,७८४ एन्टिजन परीक्षणबाट ६६७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
जसमध्ये काठमाण्डू उपत्यकाभित्र भक्तपुरमा ११३, ललितपुरमा १७६ र काठमाण्डूमा ८०४ गरी कुल १,०९३ नयाँ सङ्क्रमित थपिएका छन्।
अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने मानिसको सङ्ख्या बढी देखिएको छ। गत २४ घण्टामा ६,२०५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
शनिवार नयाँ कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा झण्डै दुई हजार पाँच सयले कम पाइएको थियो।
तर ज्यान गुमाउनेको सङ्ख्या दुई हप्तापछि शुक्रवार एक सयभन्दा कम भएकोमा शनिवार पुन: उकालो लागेर ११६ पुगेको थियो।
परीक्षणको घट्दो क्रम
बिहीवारयता नेपाल ६४,७१९ पीसीआर परीक्षण भएकोमा २१,७७५ नमुनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आइतवारको प्रेस ब्रिफिङमा बताएका छन्।
सोही अवधिमा २९,३५२ जना सङ्क्रमणमुक्त भएको सरकारी विवरण छ।
तर सङ्क्रमितहरू घटिरहेको देखिँदा परीक्षण हुने सङ्ख्या समेत घट्दो पाइन्छ।
बिहीवार, शुक्रवार र शनिवार कुल परीक्षण गराउनेको सङ्ख्या क्रमशः २०,९९२, २०,११० र १४,७५२ पाइन्छ।
आइतवार १२,७७० कुल परीक्षण भएका छन्।
थप विवरण के छ?
अहिलेको वृद्धिसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ५७ हजार सात सय नाघेको छ भने मृतकको सङ्ख्या ७,२७२ पुगेको छ।

तस्बिर स्रोत, RSS
वैशाख २६ गतेसम्म सार्वजनिक दैनिक विवरणमा मृतकको सङ्ख्या दैनिक १०० भन्दा कम थियो।
तर त्यसको भोलिपल्टको मन्त्रालयको विवरणमा १३९ जना सङ्क्रमितले ज्यान गुमाएको उल्लेख थियो। वैशाख २८ गते त्यो सङ्ख्या २२८ पुग्यो।
जेठ ५ गते भने अहिलेसम्मकै धेरै २४६ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो।
त्यसपछि मृतकको सङ्ख्या घट्ने क्रम देखिँदै शुक्रवार ९६ पुगेकोमा शनिवार पुन: १०० नाघेको थियो।
अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख आठ हजार ८९७ भन्दा बढी भएको मन्त्रालयले जनाएको छ।
तीमध्ये ७,५६३ संस्थागत आइसोलेशनमा र १,०१,३६४ जना घरमै एकान्तवासमा भएको सरकारी तथ्याङ्क छ।
मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार अहिले १,५४५ जना बिरामी आईसीयूमा र ४०७ जना भेन्टिलेटरमा छन्।
नेपालमा कोभिड भएर निको हुने दर ७९.२ प्रतिशत रहेको सरकारले जनाएको छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर


कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

यो पनि हेर्नुहोस्










