कोभिड नेपालः कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या घट्ने क्रम जारी, थप ११६ जनाको मृत्यु

कोभिड

तस्बिर स्रोत, Reuters

नेपालमा थप ४,४८७ जनामा कोरोनाभाइरस सङ्क्रमण र ११६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

विगत २४ घण्टामा पीसीआर परीक्षण गरिएका १४,७५२ वटा परीक्षणमा ४,३११ जनामा कोभिड पुष्टि भएको शनिवार मन्त्रालयले जनाएको छ।। त्यसैगरी एन्टिजन विधिबाट परीक्षणबाट थप १७६ जनामा पनि सङ्क्रमण पुष्टि भएको तथ्याङ्कले देखाउँछ।

अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने मानिसको सङ्ख्या बढी देखिएको छ। चौबीस घण्टाको अवधिमा ६,०८० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

शुक्रवार कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हप्तापछि एक सयभन्दा कम भएको थियो।

महामारीको दोस्रो लहरका क्रममा दुई हप्ताअघि अहिलेसम्मकै धेरै २४६ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको थियो।

कोभिड भएका बिरामीसँग चिकित्सक

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गम्भीर समस्या भएका बिरामीहरू अस्पताल वा स्वास्थ्यसंस्थाना भए पनि एक लाख भन्दा अधिकांश सङ्क्रमितहरू घरमै छन्

मृतकको तथ्याङ्क

शनिवार प्रकाशित मृतकको तथ्याङ्कमा पनि नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवहरूको सङ्ख्या पनि समाविष्ट भएको मन्त्रालयको भनाइ छ।

अहिलेको वृद्धिसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ५३,००० नाघेको छ भने मृतकको सङ्ख्या ७,१६३ पुगेको छ।

नेपालमा कोरोनाभाइरसको प्रभाव. २४ घण्टाको विवरण. जेठ १५ गते शनिवार अपराह्ण प्रकाशित विवरण.

वैशाख २६ गतेसम्म सार्वजनिक दैनिक विवरणमा मृतकको सङ्ख्या दैनिक १०० भन्दा कम थियो।

तर त्यसको भोलिपल्टको मन्त्रालयको विवरणमा १३९ जना सङ्क्रमितले ज्यान गुमाएको उल्लेख थियो।

वैशाख २८ गते त्यो सङ्ख्या २२८ पुग्यो। जेठ ५ गते भने अहिलेसम्मकै धेरै २४६ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो।

त्यसपछि मृतकको सङ्ख्या घट्ने क्रम देखिएकोमा शनिवार पुन: १०० नाघेको छ।

कोभिड परीक्षण

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, काठमाण्डूमा अन्यत्रभन्दा बढी सङ्क्रमित भेटिने क्रम जारी छ

अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ११,००० भन्दा बढी भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये झन्डै ७,८०९ संस्थागत आइसोलेशनमा र १,०३,७०० जना घरमै एकान्तवासमा भएको सरकारी तथ्याङ्क छ।

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार अहिले १,६१४ जना बिरामी आईसीयूमा र ४५७ जना भेन्टिलेटरमा छन्।

नेपालमा कोभिड भएर निको हुने दर ७८.६ प्रतिशत रहेको सरकारले जनाएको छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

खोप ल्याउन के हुँदैछ?

शुक्रवार नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई खोप सहायताको आग्रहसहित लेखेको पत्र वाशिङ्टनस्थित नेपाली राजदूतले त्यहाँको विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई बुझाएको नेपाली दूतावासले जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच यसै साता भएको कुराकानीका क्रममा चीनले नेपाललाई १० लाख मात्रा खोप अनुदानमा दिने घोषणा गरेको थियो जुन केही दिनमै नेपाल आइपुग्ने बताइएको छ।

राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र लेख्दै नेपालले सीरम इन्स्टिट्यूट अफ इन्डियामार्फत् खरिद गरेको १० लाख मात्रा खोप उपलब्ध गराइदिन पहल गर्न अनुरोध गरेको बताइएको छ।

कोभिड खोप

तस्बिर स्रोत, EPA

अहिलेसम्म अनुदानमा भारतले कोभिशील्ड खोप नेपाली सेनालाई एक लाख छुट्टै समेत गरी ११ लाख मात्रा र चीनले आठ लाख मात्रा भेरो सेल उपलब्ध गराएको थियो।

नेपालले किनेको १० लाख मात्रा खोप भारतबाट ल्याएको थियो भने थप तीन लाख ८० हजार अन्तर्राष्ट्रिय कोभ्याक्स कार्यक्रममार्फत् आएको थियो।

Please wait...

के छ भारतको स्थिति?

भारतको स्वास्थ्य मन्त्रालयले त्यहाँ ४५औँ दिनमा अहिलेसम्मकै कम दैनिक सङ्क्रमितको वृद्धि पाइएको जनाएको छ।

भारतमा विगत दुई सातादेखि सङ्क्रमितहरूको सङ्ख्या घट्न थालेको देखिएको छ।

शनिवार बिहान प्रकाशित तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा त्यहाँ १,७३,७९० नयाँ सङ्क्रमितहरू परेका थिए भने ३,६१७ जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको थियो।

निकै घातक भाइरसको दोस्रो लहरसँगै त्यहाँ अहिलेसम्म ३,२०,००० ले ज्यान गुमाएको सरकारी विवरण छ जुन अमेरिका र ब्रजिलपछि विश्वकै उच्च हो।

राजधानी दिल्लीका अधिकारीहरूले कोरोनाभाइरसका नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा उल्लेख्य कमी आउन थालेको भन्दै अर्को साताबाट बिस्तारै लकडाउनमा लगाइएका प्रतिबन्धहरू हटाउने योजना गरिरहेको बताएका छन्।

मुख्यमन्त्री अरविन्द केजरीवालले कारखानाको काम र निर्माणका गतिविधिलाई सोमवारबाट पुन: खोल्न दिइने बताएका छन्।

दोस्रो लहरबाट गुज्रिरहेको दिल्लीमा मात्र एक महिनाअघि दैनिक २५ हजारभन्दा बढी सङ्क्रमित भेटिने गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'परीक्षाको तरिका र नयाँ मिति थाहा नभएपछि कसरी तयारी गर्ने?'
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'श्रीमान् सङ्क्रमित छन्, आर्थिक अवस्था नाजुक छ, के गरेर खाने?'