कोभिड नेपालः मृतकको सङ्ख्या अघिल्लो दिनको दाँजोमा घट्यो, सङ्क्रमितभन्दा निको हुने धेरै

नेपालमा थप ६,९५१ जनामा कोरोनाभाइरस सङ्क्रमण र ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

विगत २४ घण्टामा २०,११० जनाको पीसीआर र एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको शुक्रवार मन्त्रालयले जनाएको छ।

अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने मानिसको सङ्ख्या बढी देखिएको छ। सो अवधिमा ९,८४१ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कोभिड भएर निको हुने दर ७८.१ प्रतिशत रहेको सरकारले जनाएको छ।

मृतकको कुल सङ्ख्या ७,००० नाघ्यो

अहिलेको वृद्धिसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ४९,००० नाघेको छ भने मृतकको सङ्ख्या ७,०४७ पुगेको छ।

शुक्रवार प्रकाशित मृतकको तथ्याङ्कमा पनि नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवहरूको सङ्ख्या पनि समाविष्ट भएको मन्त्रालयको भनाइ छ।

अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १,१३,३९४ भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये झन्डै आठ हजारभन्दा केही कम संस्थागत आइसोलेशनमा र १,०५,४४४ जना घरमै एकान्तवासमा भएको सरकारी तथ्याङ्क छ।

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार अहिले १,६२७ जना बिरामी आईसीयूमा र ४५० जना भेन्टिलेटरमा छन्।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

यो पनि हेर्नुहोस्