कोभिड नेपालः प्रदेश नं २ का कैयौँ गाउँमा 'कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण' तर परीक्षण न्यून

- Author, माधुरी महतो
- Role, वीरगन्ज
प्रदेश नं २ का आठवटै जिल्लामा निषेधाज्ञा लगाइएको भए पनि अधिकांश जिल्लामा सङ्क्रमणको दर बढिरहेको पाइएको अधिकारीहरूले बताएका छन्।
सरकारले बुधवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कअनुसार प्रदेश नं २ मा ३३,००० भन्दा केही बढी मानिसमा कोभिड-१९ पुष्टि भइसकेको छ।
अहिले त्यहाँ ७,८४१ सक्रिय सङ्क्रमित छन्। मृतकको सङ्ख्या ४८४ पुगेको छ। अन्यत्र जस्तै यो प्रदेशका जिल्लामा अधिकांश सङ्क्रमितहरू घरमै बसिरहेका छन्।
कतिपय ग्रामीण भेगमा पूरा गाउँभरि कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेको सर्वसाधारण तथा जनप्रतिनिधिले बताएका छन्। तर परीक्षण नभएकाले सङ्क्रमण पुष्टि हुन सकेको छैन।
सबैभन्दा बढी सङ्क्रमित धनुषा, पर्सा र महोत्तरीमा देखिएका छन्। अहिले धनुषामा २,२०३, पर्सामा १,५३० र महोत्तरीमा १,०७१ मा सक्रिय सङ्क्रमित छन्।


- के भन्छन् विज्ञ? तपाईँका प्रश्नको उत्तर
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कति चिन्ताजनक? नेपालमा भेटिएको नयाँ भेरिअन्ट के हो
- कसरी फैलिँदैछ? महामारीको दोस्रो लहरमा नेपालमा यसरी बढिरहेको छ कोभिड
- को हुन् मृतक? मृत्यु हुने पाँच हजार मानिस को हुन?

पूरै गाउँमा सङ्क्रमण फैलिएको आशङ्का
बढी सङ्क्रमण भएको ठानिएको पर्साको जगरनाथपुर गाउँपालिकामा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कुनै पहल नभएको भन्दै चिन्ता व्यक्त भएका छन्।
उक्त गाउँपालिकामा पछिल्लो दुई सातामा कम्तीमा १६ जनाको मृत्यु भइसकेको छ।
तीमध्ये १३ जनामा कोभिड पुष्टि भएको तथा अन्य तीन मृतकको परीक्षण नगरिए पनि मिल्दोजुल्दो लक्षण देखिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले विगत केही दिनदेखि गाउँमा घरघरमा ज्वरो, रुघा ,खोकीका बिरामी फेला परेको र सम्बन्धित निकायमा परीक्षणका लागि आग्रह गर्दा थोरै मात्रै परीक्षण गरिएको बताए।
उनले आफ्नो मागमा उपयुक्त प्रतिक्रिया नआएपछि अस्पताल पुगी आफैँले करिब ५० वटा भीटीएम किट ल्याएको र बुधवारबाट कन्ट्याक्ट ट्रेसिङ र लक्षण देखिएका मानिस बस्ने घरमा परीक्षण गरिने बताए।
जेठ ५ गते अपराह्णसम्मको तथ्याङ्क
३३,०२६पुष्टि भएका कुल सङ्क्रमित
४८४कोभिडका कारण कुल मृत्यु
७,८४१सक्रिय सङ्क्रमित
८१०संस्थागत आइसोलेशनमा
७,०३१घरमा
२४,७०१निको भएका सङ्क्रमित
पहिलाको भन्दा सङ्क्रमण दर केही घटे पनि जोखिम र आशङ्का अझ कायमै रहेकोले पालिकाबाटै बजेटको व्यवस्था गरी भीटीएम किट खरिद गर्ने योजना बनाइएको पनि उनको भनाइ छ।
त्यही गाउँका एक स्थानीयवासी श्रीकान्त यादवले भन्छन्, “गाउँमा केही दिनमै धेरै मानिसको ज्यान गएको र घरघरमा रुघाखोकीको बिरामी भएको अवस्था भए पनि घरेलु विधिबाटै आफैँले उपचार गरिरहेका छौँ।”
उनले सहरका अस्पतालमा स्थान समेत नभएको, उपचारमा सामग्री अभाव भएको, मानिसहरूको मृत्यु भइरहेको खबर सुनिरँहदा डरले अस्पताल जानुभन्दा घरमै बस्न रुचाएको बताए।
'सरकारको उपस्थिति देखिएन'
सर्लाहीको बलरा नगरपालिकाका शैलेन्द्र सिंहले गाउँमा कम्तीमा चार मानिसको कोभिडसँगै मिल्दोजुल्दो लक्षणका कारण मृत्यु भएको र अधिकांशमा ज्वरो, रुघा खोकीजस्ता लक्षण देखिएको बताए।
उनले सरकारको उपस्थिति नदेखिएको भन्दै चिन्ता व्यक्त गरे।
“गाउँमा घना बस्ती छ, परीक्षणको व्यवस्था केही छैन," उनले भने। परीक्षण गरेर कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुँदासम्म पूरै गाउँ अप्ठेरो अवस्थामा पुगिसकेको पो हुन्छ कि भन्ने डर आफूलाई लागेको उनले बताए।
धनुषा स्वास्थ्य कार्यालय प्रमुख जुगलकिशोर यादवले धनुषाको मिथिला नगरपालिकाको लालगढमा १०० जनाजतिमा ज्वरो, रुघा खोकी, टाउको दुख्ने जस्ता लक्षण देखिएको बताए।
नारायणी अस्पतालका डा. उदयनारायण सिंहले पछिल्लो केही दिनमा अधिकांश बिरामीहरू ग्रामीण भेगकै रहेको पाइएको बताए।
हाल सङ्क्रमितको कुल सङ्ख्यामध्ये ६० प्रतिशत मानिस ग्रामीण भेगकै रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा परीक्षणको दायरा विस्तार गरिनुपर्ने बताए।
परीक्षण किन बढेन
सर्लाहीको बलरा नगरपालिकाका प्रमुख अभय सिंहले चिकित्सकको टोली गाउँमा जाँदा स्थानीयवासी तथा बिरामीले उपचारमा सहयोग नगरेको बताए।
आफ्नो रोग लुकाउने जस्ता कारणले परीक्षणमा समस्या सिर्जना भएको उनको भनाइ छ।
पालिकाको बजेट अपर्याप्त रहेको तर प्रदेश सरकारले कुनै सहयोग नगरेको उनको गुनासो छ।
पर्साको पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले स्थानीयवासीलाई जति सचेत गराए पनि कोरोनाभाइरसको सङ्क्रमणलाई हलुका रूपमा लिएर लापरबाही गर्दा अहिलेको अवस्था आएको बताइन्।
बजारमा भिडभाड गर्ने, सामूहिक रूपमा बसेर गफगाफ गर्ने, विवाह भोजमा सामेल हुने लगायतका कार्य रोक्न हर सम्भव प्रयास गरी पनि सफल हुन नसकेको गुनासो गरिन्।
सर्लाहीका कतिपय ठाउँमा नाकाबाट ओहोरदोहोर समेत भइरहेको स्थानीयवासीको भनाइ छ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता ठूलो बाबु दाहालका अनुसार प्रदेश सरकारले गाउँगाउँमा कन्ट्याक्ट ट्रेसिङ बढाउन स्थानीय तहसँग समन्वय गरिएको बताए।
परीक्षण सामग्री अभाव नरहेको भन्दै उनले स्थानीय स्तरमा पनि परीक्षण नरोकिने बताए।











